|

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाबाट २९ कर्मचारी निष्काशित भएका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले कर्मचारीलाई आफूखुसी कामबाट निकालेका हुन्।

उनले दादागिरी शैलीमा कर्मचारीलाई निष्काशन गरेको पीडित कर्मचारीको आरोप छ। निर्वाचनपछि कर्मचारी निष्काशन गरेपछि राजनीतिक पूर्वाग्रहको आधारमा उनीहरूलाई हटाइएको जनगुनासो आएको छ।

निष्काशित भएका सबै कर्मचारीको करार अवधि असार मसान्तसम्म रहेको छ। निष्काशित भएका कर्मचारी धनबहादुर विकलाई नगरपालिकाले २०७८ असार १५ गते शिक्षा शाखाको कार्यालय सहयोगीका रूपमा नियुक्ति गरेको थियो।

उनी नेकपा माओवादी सम्बद्ध प्रेस सेन्टर नेपालको जिल्ला सदस्य भएपछि नगरपालिकाले मंसिर १ गते वडा नम्बर ९ को कार्यालयमा सरुवा गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले राजनीतिक पूर्वाग्रहको हिसाबले सरुवा र निष्काशित गरेको विकको भनाइ छ। भट्टराईले नगरपालिकामा कर्मचारीकोभन्दा पनि एमालेको नेता भएर काम गरिरहेको आरोप छ।

‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले हामीलाई राजनीतिक पूर्वाग्रह राखेर निकाल्नुभयो, म मंसिरमा प्रेस सेन्टर नेपालको जिल्ला सदस्य हुँदा पनि नगरपालिकाको शिक्षा शाखाबाट वडा नम्बर ९ को कार्यालयमा सरुवा गरेका थिए, त्यति वेला हटाउन नमिलेर होला’, विकले भने, ‘अहिले एमालेलाई सहयोग नगरेका कारण जागिरबाट निकालियो, यो हामीमाथि भएको अन्याय हो।’

नगरपालिकाले लाकुरीबोट स्वास्थ्य केन्द्रमा अनमिका रूपमा नियुक्त उर्मिला विकलाई पनि हटाएको छ। विकले आफूलाई कुनै पनि जानकारी नदिई हटाइएको बताइन्। गत फागुन २० गते नियुक्ति पाएकी विकले अहिलेसम्म तलब समेत नपाएको गुनासो गरिन्।

‘मलाई असार मसान्तसम्म भनेर फागुन २० गते नियुक्त गरेको थियो, मैले अहिलेसम्म काम गरेको तलब पनि पाएकी छैन, मैले काम गरेको तलब त मलाई जसरी पनि दिनुपर्छ’, विकले भनिन् ‘मैले निरन्तर काम गरिरहेको थिएँ, नगरपालिकाले दिएको जिम्मा मैले पूरा गरेको थिएँ, मलाई कुन आधारमा अवधि नपुग्दै निकाल्यो मैले बुझ्न सकिनँ।’

यस विषयमा बुझ्न खोज्दा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको फोन उठेन। उपमेयर धनबहादुर कायतले राजनीतिक आस्थाको आधारमा कर्मचारी हटाएको बताए।

उनले नगर कार्यपालिकाको बैठक समेत नराखी आफूखुसी कर्मचारी निष्काशित गरेको बताए। उपमेयर कायतले करार अवधि नसकिँदासम्म निष्काशित कर्मचारलाई काममा नफर्काए करारमा नियुक्त गरेका सबैलाई हटाएर विधि प्रक्रियाअनुसार नियुक्त गर्नुपर्ने बताए।

‘राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई निष्काशित गरिएको छ, यो राम्रो विषय होइन, हामीले निष्काशित कर्मचारीहरूको करार अवधिसम्म काममा फर्काऊँ भनिरहेका छौँ, यदि त्यो नभए करारमा नियुक्त गरेका सबै कर्मचारी हटाएर विधि प्रक्रियाअनुसार राख्नुपर्छ भनिरहेका छौँ’, उपमेयर कायतले भने।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले आफ्नो अधिकार प्रयोग गरेर कर्मचारी निकालेको बताउँछन्। भट्टराईले आफूलाई कर्मचारी निकाल्ने अधिकार भएको भन्दै चित्त नबुझे कानुनी उपचारमा जान चेतावनी समेत दिए।

‘कर्मचारी निकाल्ने अधिकार मलाई छ, मैले मेरो अधिकार प्रयोग गरेर निकालेको छु, चित्त नबुझे कानुनी उपचारका लागि सम्बन्धित ठाउँमा जान सक्नुहुन्छ’, भट्टराईले भने। निष्काशित हुनेमा स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर, सवारीचालक, नगर प्रहरी र कार्यालय सहयोगी रहेका छन्। भट्टराईले कर्मचारीलाई आन्तरिक स्रोतको अभाव तथा दरबन्दीभन्दा बढी कर्मचारी भएका कारणले उनीहरूलाई हटाएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.