विषयवस्तु फेरि परिमार्जन !

|

काठमाडौं : पाठ्यक्रममा एउटा धर्मको पक्ष लिएको भन्दै पछिल्लो समय विवाद निस्किएको छ। आधारभूत तहको विभिन्न विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ई अक्षरको परिचयमा ‘ईसान ईसालाई सम्झेर प्रार्थना गर्छ’ लगायत विषयवस्तु राखेर इसाई धर्मको प्रचार गरेको भन्दै चर्को आलोचना भएको छ।

यो विषय संसद्‌मा समेत उठेको छ। एमाले सांसद भीम रावलले गत बिहीबारको प्रतिनिधिसभा बैठकमा जबरजस्ती धर्म परिवर्तन गराउने काममा सरकारको लागेको आरोप लगाए।

उनले भनेका थिए, ‘ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको छ, धर्म निरपेक्ष भनिएको होइन यो देश? मैले त बाल्यकालमा ई भनेको ईश्वर भनेर पढेको थिए, ल कसैलाई ईश्वर मान्न मन भएन, ई माने ईमान किन लेख्नु भएन? कहाँबाट ईसा आयो? यो शिक्षामन्त्रीलाई थाहा छ कि छैन?’

उनले सरकार आफैँ संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइने छैन भनेर लेख्ने तर भित्र भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन भन्ने आशंका गर्दै प्रश्न गरे। ‘जनतालाई यसको जवाफ दिनुपर्छ, नत्र कसरी पाठ्यक्रममा लेखियो?‚’ उनले भने। केही विषयवस्तुको त झन् वाक्य र शब्दमै त्रुटि भेटिएको छ। 

शिक्षाविद्‌ भन्छन् : शब्दको अर्थ बुझ्ने विज्ञ नराखिँदा त्रुटि

शिक्षाविद्हरूले समेत पाठ्यक्रममा यसरी लापरबाही देखिनु सरकार गैरजिम्मेवार भएको बताउँछन्। शिक्षाविद् प्राडा विद्यानाथ कोइराला भन्छन्, ‘किताब भनेको अन्तिम हो कि विचार गर्ने विषय हो भन्ने चिन्तन बनाउनुपर्छ, छापिएको चिजमा गल्ती हुनु भनेको बदमासी हो।’

उनी चार पक्षबाट पाठ्यक्रममा विवाद निस्किएको बताउँछन्। ‘पहिलोमा केही विषयवस्तुभित्र प्रवेश गर्ने ब्वाँसाे बुद्धि हुनु, दोस्रोमा विज्ञ भनिएका अर्थात् लेखकको ल्याकत नपुग्नु, तेस्रोमा विज्ञहरूले त्यसलाई गहिरिएर नहेर्ने र चौथोमा पाठ्यपुस्तकलाई विभिन्न पक्षबाट विश्लेषण गरेर सच्याउन ढंग नभएकाले समस्या देखियो,’ उनले भने।

इसाईहरूको दबदबाले पनि यस्तो भएको हुनसक्ने उनको आशंका छ। ‘उहाँहरूको स्वभाव अलिकति ठिक हुँदैन, भित्रभित्र छिर्न अनेक चलखेल गर्छन्। हाम्रो सम्पत्ति भनेको इसाई होइन, पछि आएको हो, बरु किरातलगायत धर्म हाम्रा सम्पत्ति हुन्।’ 

उनका अनुसार पाठ्यक्रममा विषयविज्ञ हुन्छन्। विषयविज्ञहरूले विषयवस्तु राख्छन्। निर्णय हुन्छ। लेखकले लेखिसकेपछि विषयवस्तु फेरि विज्ञले हेर्नुपर्छ। कुन शब्दले के अर्थ र सन्देश दिन्छ भन्ने छुट्याउनुपर्छ। तर सरकारले यस्ता योग्य व्यक्तिको पहिचान गर्न नसक्दा अनेक समस्या र विवाद पाठ्यक्रममा देखिने गरेको उनले बताए। 

‘म के बुझ्छु भन्दा बहुधर्म,बहुचिन्तनको कुरा एकसाथ गर्ने खालको स्वभाव बनाउनुपर्छ, हिन्दु, बुद्धिस्ट, इस्लाम, किरात‚ इसाईलगायत सबैलाई जोडेर एकै किसिमको चिन्तन बनाइदियो भने यस्तो धर्मसम्बन्धी विवाद निस्किँदैन,’ उनले भने। उनका अनुसार अहिले मात्र नभई यस्ता त्रुटि वेला वेला सरकारले गर्ने गरेकाे छ। 

अर्का, शिक्षाविद् टंकनाथ शर्मा धर्मजस्तो संवेदनशील विषयमा सरकार सचेत नबन्दा विवाद उत्पन्न भएको बताउँछन्। उनी भन्छन्, ‘धर्मको विषय भनेको संवेदनशील विषय हो, यदि सरकारले इसाईको पक्षमा रहेर कन्टेन्ट बनाएको भए सरासर गलत हो।’

विवाद उत्पन्न हुने कक्षा तहअनुसार जानकारी हुने खालका विषय समेट्दा राम्रो हुने उनको भनाइ छ। ‘पुस्तकमा कुनै पनि विषयवस्तु राख्दा त्यसले के असर पुग्छ र विवाद उत्पन्न गराउँछ गराउँदैन, त्यसैले पहिला सोच्नुपर्छ,’ उनले भने।

यसो भन्छ पाठ्यक्रम विकास केन्द्र

शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अनाप्रसाद न्यौपानेले अहिले सामाजिक सञ्जालमा देखिएका ती विषयवस्तुबारे अध्ययन भइरहेको जानकारी दिए। ‘सामाजिक सञ्जालमा फोटोसहित कन्टेन्ट देखिएको छ, हामीबाट छापिएको होइन, कसले छापेको हो, त्यो बुझ्दै छौँ।’

यता, अभ्यास नेपाल प्रालिले एक विज्ञप्ति जारी गरी प्रालिबाट छापिएको एलकेजी भाषा १ पुस्तकमा छापिएको ई अक्षरबाट भएको असरलाई मद्देनजर गर्दै ती विषयवस्तु परिमार्जन गरिसकेको जनाएको छ।

विकास केन्द्रका महानिर्देशक न्यौपाने भने स्वीकृति नलिई अभ्यासले त्यस्ता विषयवस्तु छापेको र एलकेजीको पाठ्यपुस्तक विकास केन्द्रले नहेर्ने गरेको तर्क गरे। आफू मातहतबाट छापिएका नयाँ पुस्तकमा यस्ता कुनै त्रुटि नभएको उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.