|

हेटौंडा : दुई दशकदेखि पूर्णरूपमा बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषय पुनः राष्ट्रिय बजेटमा परेको छ।

संघीय सरकारको आगामी आर्थिक वर्ष २०७९\०८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।

अर्थमन्त्री शर्माले वर्षौँदेखि बन्द कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने बताएका हुन्। सरकारले उद्योग सञ्चालन गरी यहाँबाट उत्पादित कपडा सार्वजनिक पदधारण गरेका व्यक्तिले लगाउने पनि बजेटमा घोषणा गरेको छ। बजेटमार्फत रुग्ण उद्योगको पुनःसंरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरूलाई हेटौंडा उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो।

यसअघि पनि उद्योग सञ्चालन गर्ने भन्दै सरकारले बजेट समेत विनियोजन गरे पनि उद्योग सञ्चालनमा आउन सकेको छैन। उद्योग पूर्णरूपमा बन्द भएको आठ वर्षपछि २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उद्योग सञ्चालनका लागि ९ करोड रुपैयाँ बजेटसमेत छुट्याइएको थियो। तर उनले उद्योग सञ्चालन भने गर्न सकेनन्। यसपछि  आएका अन्य बजेट भाषणमा पनि उद्योग सञ्चालन गर्ने विषय नआएको होइन, तर ती भाषणमै सीमित भए। हालसम्म उद्योग सञ्चालनका लागि सरकारले समिति गठन गर्ने र अध्ययन गर्ने काम गरे पनि सञ्चालनमा भने ल्याउन सकेको छैन।

बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि संघीय सरकारका मन्त्रीले पनि कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गर्ने गरेका छन्। धेरैपटक ती मन्त्रीले उद्योग अवलोकन पनि  गरेका छन्। तर,अहिलेसम्म उद्योगलाई सञ्चालनमा ल्याउन भने सकेका छैनन्।

कुनै समय नेपाली कपडा उद्योगमा एकछत्र राज गरेको हेटौंडा कपडा उद्योग राजनीतिक खिचातानीले गर्दा पूर्णरूपमा बन्द हुन पुग्यो। चीनको सहयोगमा २०३२ सालमा निर्माण सुरु भएको उद्योग २०३५ सालबाट सञ्चालनमा आएको थियो। सुरुमा एक सिफ्टमा मात्रै सञ्चालन भएको उद्योग विस्तार हुँदै जाने क्रममा २०३८ सालबाट दुई सिफ्ट र २०३९ सालबाट तीन सिफ्टमा सञ्चालन हुन थालेको थियो।

तीन सिफ्टमा पूर्ण सञ्चालनमा आएको उद्योगले वार्षिक ११० लाख मिटर कोरा, २५० मेट्रिक टन सुती र सोही परिमाणमा बुट्टेदार र सेता कपडा उत्पादन गर्थ्यो। नेपाललाई कपडा उत्पादनमा पूर्ण आत्मनिर्भर बनाउने लयमा दौडिरहेको उद्योग विस्तारै राजनीतिक हस्तक्षेप बढ्दै जाँदा बन्द नै हुन पुग्यो। राजनीतिक पहुँचको आधारमा आवश्यकताभन्दा बढी कर्मचारी भर्ती गर्नु, कर्मचारीका रूपमा कार्यकर्ता भर्ती गर्नु र भर्ती भएका कार्यकर्ता काम छोडेर राजनीतिक आन्दोलनमा होमिनुले उद्योग बन्द भएको हो।

स्थापनाको १९ वर्षसम्म घाटामा नगएको उद्योग २०५४ सालबाट भएको कर्मचारी आन्दोलन, राजनीतिक आस्थाका आधारमा व्यवस्थापक नियुक्ति र हस्तक्षेपले उग्ररूप लिन थालेपछि उद्योगमा आर्थिक समस्या सुरु हुन थाल्यो। चालू पुँजी जुटाउन बैँकबाट ऋण लिनुपर्ने स्थिति आयो, जसले गर्दा उद्योग घाटामा गयो। ३ वर्षसम्म उद्योग घाटामा भए पनि चल्यो। निरन्तर घाटामा गएर उद्योग चल्नै नसक्ने अवस्था आएपछि २०५७ साल माघ १८ गते नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयले कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिई उद्योग बन्दको घोषणा गर्‍यो।

चीन सरकारको लगानी र नेपाल सरकारको स्वामित्वमा सञ्चालन भएको हेटौंडा कपडा उद्योग अहिले जीर्ण अवस्थामा छ। उद्योग स्थापना भएर सञ्चालन हुँदा ११ सय जनाले रोजगारी पाएका थिए। उद्योगले ११ सय जनालाई रोजगारी मात्रै दिएको थिएन, उनीहरूलाई घर बनाउने जग्गा, आवश्यक ऋण उपलब्ध गराउनुका साथै उद्योगमा काम गर्ने कर्मचारीका छोराछोरीलाई पढाउन विद्यालय नै सञ्चालन गरेको थियो।

कर्मचारीका छोराछोरी पढाउन विद्यालय सञ्चालन गरेको हेटौंडा कपडा उद्योगले स्कुल बससमेत राखेको थियो। बालबालिकालाई बसबाट विद्यालय ल्याउने\लैजाने गर्थ्यो। अहिले ती बस उद्योग परिसरमा जीर्ण अवस्थामा छन्। उद्योगमा काम गर्ने कर्मचारीका छोराछोरी पढ्न बनाइएको विद्यालय पनि भग्नावशेषमा परिणत हुँदैछन्। दुई तले भवनमा घाँस, झार र लेउ उम्रिएको मात्रै छैन, जीर्ण भएर पूरै भत्किने अवस्थामा पुगेको छ। उद्योगको अवस्था पनि उस्तै छ। दुई दशकदेखि बन्द भएको उद्योग हालसम्म सञ्चालनमा नआउँदा त्यहाँको मेसिनमात्रै होइन भवन नै कमजोर बनिसकेको छ। वर्षौँदेखि नखुलेको उद्योगभित्र करोडौँका मेसिन काम नलाग्ने अवस्थामा पुगेका छन्। अहिले उद्योगको भवनमा सशस्त्र प्रहरी बसिरहेको छ।

हेटौंडा औद्योगिक क्षेत्रका लिमिटेडका व्यवस्थापक राजेन्द्र कँडेल अहिलेकै अवस्थामा हेटौंडा कपडा उद्योग सञ्चालनमा पनि ल्याउन नसकिने बताउँछन्। दुई दशकदेखि बन्द रहेको  उद्योगको भवनको स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको र पुरानो मेसिनले अहिलेको बजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा मर्मत गर्नुपर्ने उनको भनाइ छ। उनले अहिले बजारमा नयाँ मेसिन आइसकेकाले उद्योगमा  रहेको पुरानो मेसिनले बजारमा प्रतिस्पर्धा गर्न नसक्नेबताए। त्यसैले नयाँ  ढंगबाट सञ्चालन नगरि अहिलेकै अवस्थामा सञ्चालन गरे उद्योग पुनःघाटामा जाने उनको  भनाइ छ।

कँडेलका अनुसार उद्योगमा भएको मेसिन मर्मत गर्न चीनबाट जनशक्ति ल्याउनुपर्छ। ‘यही अवस्थामा उद्योग सञ्चालन हुन्छ जस्तो लाग्दैन’, उनले भने, ‘भवन मर्मत गरेर नयाँ मेसिन राखी सञ्चालन गर्ने हो भने सकिन्छ।’ कँडेलले केही दिनअघि उद्योग सञ्चालन गर्ने विषयमा उद्योग मन्त्रालयले कमिटी समेत गठन गरेको जानकारी दिए। उनले उद्योग सञ्चालनका लागि अध्ययन गर्ने भन्दै उक्त कमिटीले फोन गरेर आफूसँग जानकारी लिएको बताए।

विभिन्न समयमा बजेट विनियोजन समेत भएर पनि सञ्चालनमा आउन नसकेको उद्योग कुन ‘मोडालिटी’बाट सञ्चालन गर्ने भन्ने विषय बजेटमा नआएको उनी बताउँछन्। ‘बजेटमा उद्योग सञ्चालन गरिनेछ मात्रै भनियो। सरकारले चलाउने हो कि,निजी क्षेत्रले?’, उनले भने, 'कुन मोडालिटीबाट चलाउने भन्ने कुरा बजेटमा आएन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.