|

विराटनगर : टोपीको छेउमा नमेटिएको धरानवासीले लगाइदिएको रातो अबिर। ओठमा मन्द मुस्कान। दुई हात जोडेर कार्यकक्षमा प्रवेश गर्दै गर्दा उनको त्यो मुस्कानभित्रका पीडा तत्काल महसुस गर्न सकिएन। केही क्षणपछि बधाई, शुभकामना साथै परिचयबाट शुरु भएको उनीसँगको संवाद सुनेपछि भने उनको कार्यकक्षमा बसिरहेका सबै आश्चर्य मान्दै एक टकले उनैलाई नियालिरहेका थिए।

भनिन्छ एउटा मुस्कानमा हजार पीडा लुकेको हुन्छ। यस्तै हजारौं पीडा र कष्ट भोगरे उदाएका अइन्द्र विक्रम बेघाको राजनीति अब धरानवासीको भरोसाको केन्द्रमा पुगेको छ। अर्थात उनलाई धरानवासीले अमूल्य मत खसालेर धरान उपमहानगरपालिकाको नेतृत्वको बागडोरमध्ये उपमेयर ५ वर्षका लागि सुम्पिएका छन्। ०७४ मा मेयरमा उम्मेदवारी दिएका उनी विजयी हुन सकेका थिएनन्।

भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट चुनावी मैदानमा होमिएका उनले ०७४ को निर्वाचनभन्दा दोब्बर २० हजार ५९० मत पाएर उपमेयर निर्वाचित भए। विद्यार्थी जीवनबाट राजनीतिक यात्रा आरम्भ गरेका उनी २०३९ सालमा पाँचथरको तत्कालिन फलैँचा गाविसमा जन्मिएका हुन्।

उनी जन्मेको २ वर्षपछि बुवाआमा तराई बसाइँ झरेसँगै उनको केही समय झापामा बित्यो। केही समयपछि उनको परिवार झापाबाट धरान आयो। उनको परिवार र धरानको तीनकुनेको चारकोसे जंगल र सेउती खोलाको बगर र त्यहाँका गिटी‚ ढुंगासँग पुरानो सम्बन्ध छ।

चारकोसे जंगलको दाउरा उनको परिवारको आम्दानीको स्रोत थियो। दाउरा बेचेर आएको पैसाले उनीहरूको घरमा चुल्हो बल्थ्यो। तर समुदायले रुख काट्न रोक लगाएपछि सेउती बगरका ढुंगा र गिटी नै परिवार धान्ने माध्यम बन्यो। उनका बुवाले खोलाको ढुंगा कुटेर (गिटी) परिवारको भोक मेटाउने गरेका थिए।

‘मेरो बुवाले दाउरा बेचेर परिवार पाल्नु हुन्थ्यो, पछि  रुख काट्न नै प्रतिबन्ध भयो,’ उनले विगत सम्झँदै भने, ‘रुख काट्न प्रतिबन्धित भएपछि सेउती खोलामा गिटी कुटेर हाम्रो परिवारको जीवन चलेको थियो।’

बाल्यकालदेखि नै विद्रोही स्वभावका गरिबी र अभावको रापमा पिल्सिएका उनी अध्ययनको भोकसँगै माओवादी बन्ने रहर मेटाउन परिवार छाडेर मामाघर ताप्लेजुङको चाक्सिबोटेतर्फ हान्निए।

‘म एकदमै विपन्न परिवारमा हुर्किएको हुँ, झापामा प्राविमा अध्ययन गर्दागर्दै आर्थिक अभाव र माओवादी बन्ने रहरले म मावली गाउँ गएँ,’ उनले सुनाए, ‘मेरो बाल्यकाल त्यहीँ बित्यो। मैले त्यहाँ कक्षा १० सम्मको अध्ययन गरेँ।’ त्यहाँबाट एसएलसी उत्तीर्ण गरेर धरान झरेका उनी महेन्द्र क्याम्पसबाट राजनीतिक यात्रा आरम्भ गरे।

मावलीले भर्‍यो कम्युनिष्ट राजनीतिको ऊर्जा

बाल्यकालदेखि नै विद्रोही स्वभावका समाजमा भएका नकारात्मक र विभेदविरुद्ध ठाडै उत्रिने उनी राजनीतिक यात्रामा बाटो बनाइदिने काम मावलीले गरेको सुनाउँछन्। काँचो माटोलाई आकार दिन सहज हुन्छ भन्ने भनाई जस्तै काँचो उमेरमा मामाघर पुगेका  उनको बाल्यकाल कम्युनिष्ट विचारधारामा हुर्कियो।

‘म बाल्यकालदेखि नै विद्रोही स्वभावको थिएँ, उनी हाँस्दै सुनाउँछन्, ‘मलाई पढाउने शिक्षकले बेलामौका भेटघाटमा भन्नुहुन्छ सानैदेखि किन विद्रोही भयो भनेको त लाइन यस्तो रहेछ।’

उनी थप्छन्, ‘मेरो मामाहरू नेपाल कम्युनिष्ट पार्टीमा हुनुहुन्छ, उहाँहरूले दिनु भएको पुस्तक पढ्ने गर्थें‚ कम्युनिष्ट राजनीतिमा ऊर्जा भर्ने काम मावलीले गर्नुभयो।’

उनी धरानको  महेन्द्र क्याम्पसबाट अखिल क्रान्तिकारीमा आबद्ध भएर राजनीतिक यात्रा सुदृढ बनाउँदै गर्दा देशमा माओवादी सशस्त्र द्वन्द्वको शुरुवात हुँदै थियो। त्यो समय उनी धरानमा बस्ने अवस्था रहेन र उनी फेरि पाँचथर, ताप्लेजुङ कार्यक्षेत्र बनाएर उतै फर्किए।  त्यहीँबाट पूर्ण रुपमा आन्दोलनमा होमिएका उनी ताप्लेजुङको जिल्ला संयोजक हुँदै २०६० सालको सम्मेलनबाट केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरे।

राज्यले दिएको निको नहुने घाउ

‘मलाई अझै त्यो क्षण सम्झिँदा कहाली लाग्छ‚’ विगत सम्झिँदै उनले सुनाए। आन्दोलन उत्कर्षमा पुगेको थियो। कुन समय ज्यान कहाँ ढल्ने हो या पक्राउ परिने हो टुंगो थिएन। तर पनि घरपरिवार छाडेर आन्दोलनमा होमिएको त्यो ऊर्जावान उमेरमा उनको हौसला र आँट डगमगाएको थिएन।

कति ठाँउमा राज्य पक्ष (नेपाली सेना, सशस्त्र, जनपद प्रहरी) सँग जम्काभेट नभएको पनि होइन तर पनि मृत्युको मुखबाट उम्किएका उनी र उनका साथी २०६० साल भदौमा पक्राउ परे। उनीहरूलाई सेना र प्रहरीले पक्राउ गरेपछि ११ महिना नजरबन्दमा बस्नु पर्‍यो।

‘हामी पाँचथरको बैठकमा हिँडेको चिरन्जीवि लामिछानेलाई बाटोमा भेटेको थिएँ, त्यही समय राति पक्राउ परिन्थ्यो तर सशस्त्रले चिनेन र बाँचियो’, उनले स्मरण गरे, ‘भोलिपल्ट बिहान वास बसेको स्थानबाट हिँडेर पहिलो गाडी चढ्न गएको छुट्यो, दोस्रो गाडी कुर्दा हामीलाई सेना र नेपाल प्रहरीले पक्रियो।’

उनका अनुसार उनीहरू दुईजनालाई पक्राउ गरेर ११ महिनासम्म बेपत्ता बनाइयो। आँखामा कालो पट्टी, हातमा हतकडी लगाएर एउटा अँध्यारो कोठामा राखिएपछि उनलाई जीवित बाहिर निस्कन्छु भन्ने आश मरेको थियो।

‘हामीलाई पक्राउ गरेर पाँचथरको वोदेन ब्यारेकमा आँखामा पट्टी बाँधेर, हतकडी लगाएर राखिएको थियो, हामीलाई बाँचिन्छ जस्तो लागेको थिएन‚’ उनले सुनाए, ‘मध्य रातमा बाहिर निकालेर आहालमा डुबाउने र पिट्ने गर्थे। त्यो कुटाई र भोगाइले मान्छे बाँचिएला जस्तो लागेको थिएन।’

अहिले पनि उनी वेलामौका बाटो पर्दा आफू थुनिएको घरलाई नियाल्छन्, आफू डुबेको आहाल हेर्छन्। उनी भन्छन्, ‘हामीलाई राखेको घर अहिले पुरानो भएको छ, आहालचाहिँ  सुकेछ।’ विगत सम्झँदा अझै आङ जिरिंग हुने गरेको उनी सुनाउँछन्।

अचम्मलाग्दो त्यो ०६२ साल

जीवन र मृत्युको दोसाँधमा बन्दी जीवन बिताइरहेका उनी र उनका साथीलाई ०६२ साल साउन १७ गते  प्रहरी निरीक्षकले अपत्यारिलो खबर सुनाए। त्यो क्षण उनीहरूका लागि अविश्वसनीय थियो।

११ महिनासम्म नखोलिएका हतकडी र पट्टी त्यो दिन एक्कासी खोलियो। नकाटिएको लामो कपाल, दाह्री काट्न लगाइएको थियो। महिनौं नुहाउन नपाएर मयलले पुरिएको शरीर नुहाएर सुकिलो बन्न लगाएका थिए सुरक्षाकर्मीले। यी सबै कुरा उनीहरूका लागि सपना हो कि विपना झैँ  भएको थियो।

कति चाँडै देशमा गणतन्त्र बहाली भएर व्यवस्था बदलिएछ भनेर उनीहरूले ११ महिना भोगेको नारकीय समय त्यसवेला बिर्सिए झैँ भएको उनी सुनाउँछन्। 

‘०६२ साल हाम्रो लागि अचम्मलाग्दो भएको थियो, एक्कासी हतकडी खोलियो, आँखामा लगाएको पट्टी पनि खोलियो। दारी खौरियो नुहाइधुवाइ गरेर कपडा फेर्न लगाइयो,’ उनले भने, ‘म त अचम्ममै परेँ, गणतन्त्र पो आयो कि क्या हो? व्यवस्था नै बदलिएछ कि क्या हो भनेर मैले मेरो साथीलाई पनि सोधेँ। हामीलाई पाँचथरको जिल्ला प्रहरी कार्यालय लगियो।’ उनी र उनका साथी जिल्ला प्रहरी कार्यालय पुग्दासम्म आश्चर्यचकित नै थिए। यतिवेला भने दुवैलाई बाँच्ने आशा पलाएको थियो।

राज्यले लुकाउन खोजेको ‘गल्ति’

थेगिनसक्नुको यातनाको अनुभूति पाखा लगाउँदै बाँच्ने र संसार हेर्ने झिनो आशमा बाँचेका बेघा र उनका साथीलाई सेना र प्रहरीले आफू कैदीबन्दी हुँदा राम्रो व्यवहार गरेको भन्नु भनेर दबाब नदिएको पनि होइन।

किन दबाब दिइँदैछ भन्ने उनीहरुले भेउ पाएका थिएनन् तर पछि पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने क्रममा यसबारे पत्तो पाए। पाँचथरको तत्कालिन जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुँईटेललाई उनीहरूका साथीहरूले समातेर राखेको र उनलाई छाड्ने शर्तमा मात्र आफूहरूलाई सार्वजनिक गरिएको उनले बताए।

‘हामीलाई थाहा थिएन किन सार्वजनिक गरियो भनेर तर केही समयपछि थाहा भयो पाँचथरको तत्कालिन जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुँईटेललाई हाम्रो साथीहरुले पक्राउ गरेर लगेका रहेछन्’, उनले भने, ‘हामीलाई सार्वजनिक गरेपछि उहाँलाई छोड्ने भन्ने शर्तमा हामीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको रहेछ।’

लामो समय पाँचथरमा हिरासतमा बिताएका उनले कारागार लैजान दबाबपूर्ण आन्दोलन दिएपछि साथीसहित उनलाई विराटनगर कारागारमा ल्याएर राखिएको उनले सुनाए। विराटनगरमा आन्दोलन र झैझगडाले उनी र उनको साथीसहित २२ जनालाई फेरि सुन्दरीजल कारागार लगे। उनी सुन्दरीजलबाट ०६३ जेठ १२ गते छुटेर पार्टीको जिम्मामा अनवरत यात्रामा रहेको उनले सुनाए।

‘गर्व महसुस गर्छु‚ ‘राजनीतिक यात्रामा लामो संघर्ष गरेर पाएको सफलतामा उनी गर्व गर्छन्। लक्ष्य र उद्देश्य राखेर आन्दोलनमा हेलिँदै अघि बढाएको कर्मप्रति आफूलाई सधैँ गौरव लाग्ने गरेको उनी सुनाउँछन्।

‘मैले जे गरेँ सबै राष्ट्र र जनताका लागि बलिदान गरेको छु, समाजमा आमूल परिवर्तनका लागि, देशको समृद्धि र विकासका निम्ति गरेको छु,’ उनी सुनाउँछन्, ‘समग्र युग परिवर्तनका लागि गरेको छु। त्यसैले गर्दा हाम्रो देश यो स्थानमा आएको छ, यसलाई जनताले अनुभूत गर्ने गरी काम नगर्दाको दुःखबाहेक अरु केही छैन।’

जनताको विश्वास जित्ने काम गर्छु

०७४ सालको निर्वाचनमा हारेका उनी समाज र जनताको दुःखसँग जुध्न कहिल्यै छाडेनन्। निर्वाचन जित्नलाई मात्रै गरिने सेवा स्वार्थका लागि हुने बताउने उनी आफूले पाएको मत जनताले मूल्यांकन गरेर आधारमा पाएको बताउने उनी आगामी दिनमा जनताको विश्वास जित्ने कामतर्फ अगाडि बढ्ने उनको भनाई छ। संविधानले दिएको अधिकारअनुसार धरानवासी र समग्र विकाससँग जोडिएर काम गर्ने उनको योजना छ।

‘निर्वाचन हारेको दिनदेखि म जनताको काममा नै सक्रिय भएर लागेको थिएँ, जनताको समस्या लिएर कहिले अस्पताल, कहिले विद्युत प्राधिकरण त कहिले पानी, हारेकै दिनदेखि दौडिएँ। म कहिल्यै आरामले बसिनँ,’ उनी सुनाउँछन्, ‘हारेको दिनदेखि म बस्ती बस्तीमा छु‚ त्यसैको मूल्यांकन हो- जनताले गरेको। अब जनताको विश्वास जित्ने काम गर्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.