|

पर्वत : खेतबारीमा लगाएका मकै पसाउन लागेदेखि पर्वत मोदी गाउँपालिका–४ क्याङ स्थित चुरिलाका ८४  वर्षीय कुलबहादुर गर्वुजाको दैनिकी मकै रुँगेर बितिरहेको छ।

बाँदरले बाली खाएर हैरान पारेपछि उनले बारीमा नै घाम पानी ओतिने छाप्रो बनाएका छन्। बिहान सबेरै उठेर छाप्रोमा पुग्ने उनी साँझ मात्र घरमा फर्किन्छन्।

धान उत्पादन नहुने क्याङको मुख्य बाली भनेकै कोदो र मकै हो। बाँदरले कोदोमा खासै क्षति नगर्ने भए पनि मकै भने डाँक्ला समेत नरहने गरी सखापै पारिदिन्छ। बर्ष दिनसम्म खानुपर्ने अन्न जोगाउनकै लागि ८४ वर्षीय वृद्धको यो दैनिकी बनेको छ।

बाँदरको हैरानीबाट वाक्क परेका उनको चिन्ता ‘यसपालिको बजेटमा बाँदर धपाउने पैसा आयो कि आएन ?’ भन्नेमा छ। घरमा आराम गर्नुपर्ने बेलामा पनि बारीमा पुगेर बाँदर लखेट्नु उनको वर्षौंदेखिको दैनिकी नै हो। यस पटकको बजेटले कृषकका समस्या केही सम्बोधन गर्ला भन्ने आशामा बसेका उनी बजेटको बारेमा बताउन अनुरोध गर्छन्।

‘बाँदरले केही लगाउनै दिँदैन। बर्ष दिन खाने यही मकै एक मिनेटमा रित्तो बनाउँछ, बारीमा त झिमिक्क गर्नै हुन्न,’ कुलबहादुर भन्छन्, ‘समाचारमा बाँदर लखेट्नुपर्छ भनेको सुनेको थिएँ। मन्त्रीहरुले बाँदर लखेट्न पैसा दिन के गरे? नत्र त बाँदरले केही गर्न नदिने भयो।’

सोही ठाउँका ७३ वर्षीय चन्द्रबहादुर गर्वुजाको पनि दैनिकी उस्तै छ। मकै नपाक्ने बेलासम्म यसरी नै बारीमा बसेर कुर्नुपर्ने बताउँदै उनले बाँदर बाहेक दुम्सी र कागले पनि मकै खाइदिने गरेका कारण कुरेरै बास्नुपर्ने बाध्यता रहेको सुनाए।

बसाई सरेर जानेहरूका कारण गाउँमा गाउँमा जग्गा बाँझिएको अवस्थामा बाँदर आतङ्कले बाँझो छाड्ने क्रम झनै बढ्दै गएकाे उनी बताउँछन्। गाउँपालिका वा वडाले भए पनि बाँदर नियन्त्रणको लागि केही न केही गरिदिनुपर्ने उनकाे माग छ।

‘माथिबाट आउने बजेट त वडामा आउने त होला त के रे ! यहीँ वडाले भा नि गाउँपालिकाले भा नि बाँदर लखेट्ने उपाय लगाए हुनी हो। दिउँसो भरि बाँदरले खाने, रातभरि (दुम्सी)ले खाने गरेर हैरान पारे, ’चन्द्रबहादुर भन्छन्, ‘छोराछोरी पढाउन, जागिर खान गामका मान्छे बजार गए, गाममा बुढाबुढी छौँ। सकी नसकी लाको खेती पनि लाखु(बाँदर)ले मासो।’

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख बरिष्ठ कृषि विकास अधिकृत मनिता थापा पनि आफूहरु अनुगमनमा गएको बेलामा कृषकहरूले वर्तमान बजेटमा कृषिमा समेटिएका कुराको बारेमा चासो राखेको बताउँछिन्।

जिल्लाका लगभग सबैजसो स्थानमा बाँदरले बालीनाली सखाप पार्ने गरेका कारण सेवा लिन कार्यालयमा आउने सेवाग्राहीले पनि बाँदर नियन्त्रणको विकल्पबारे सोचिदिन आग्रह गर्ने गरेको उनको भनाई छ।

‘यति बेला गाउँ गाउँमा जाँदा बजेटमा कृषिका लागि के के शीर्षकमा बजेट आएको छ भन्ने बारेमा कृषकहरूले निकै चासो राखेको पाइयो। बाँदर आतङ्कको बारेमा त कृषकहरूले जहिले पनि गुनासो गर्दै आउनुभएको छ, यो राष्ट्रिय समस्या बनेको छ,’ उनले भनिन्, ‘बजेटमा बाँदर नियन्त्रण गर्ने भन्ने त्यस्तो शीर्षक त तोकेर आएको छैन। तर, कृषि क्षेत्रलाई प्राथमिकतामा आएको बजेटले कृषि र कृषकलाई प्रोत्साहन मिल्छ। अबको लगानी व्यावसायिक कृषिमा हुनुपर्छ।’

पर्वतमा खेतीयोग्य जमिन २८ हजार ५०० हेक्टर रहेको र त्यस मध्येको १६ प्रतिशत अर्थात् ४ हजार ५०० हेक्टर जमिन बाँझो रहेको ज्ञान केन्द्र कार्यालयको तथ्याङ्क छ। उत्पादन योग्य जमिनमा बढी खेतीपाती बर्खा याममा हुने गरेको भए पनि हिउँदमा भने सिँचाई, बाँदर लगायतको समस्याका कारण कम खेती हुने गरेको छ।

धान मुख्य बाली भएका कारण कृषकहरूले जसोतसो धान रोपे पनि अन्य बालीमा बेवास्ता गरेका कारण पनि हिउँदमा ५० प्रतिशत जति जमिन बाँझो रहने गरेको कार्यालय प्रमुख थापाको भनाई छ।

यस पटकको बजेटमा सङ्घीय सरकारले ५५ अरब ९७ करोड रुपैयाँ कृषि क्षेत्रका लागि विनियोजन गरेको छ। गाउँसम्म आइपुग्ने यो बजेटबाट बाँदर नियन्त्रणको केही न केही उपाय लाग्नेमा कृषकहरू आशावादी छन्। निर्वाचनको बेलामा मतदान गर्ने अधिकांश व्यक्तिहरू कृषक नै हुन्छन्। निर्वाचनमा उनीहरूको समस्या समाधान गर्ने बताएका जनप्रतिनिधिहरूले उमेरले ८४ वर्ष पुगेपछि बिस्तरामा बसेर आराम गर्नुपर्ने ज्येष्ठ नागरिकहरू बाँदर रुँग्नकै लागि बारीका टहरामा बस्नुपरिरहेको दृश्य देख्लान् कि?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.