म्याग्दी : बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि वडा नं. २ भकुण्डेचौर जोड्ने मोटरबाटोको स्तरोन्नति नहुँदा सर्वसाधारण मारमा परेका छन्।
१४ वर्षअघि २०६५ सालमा खुलेको सात किलोमिटर यो सडकको स्तरोन्नतिका लागि करिब एक करोड रुपैयाँ खर्च भइसकेको छ। तर पनि अवस्था भने नसुध्रिएको स्थानीय बासिन्दाको गुनासो छ।
बेनी–भकुण्डे सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म ट्याक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। स–साना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको बेनी २ ज्यामरुककोटका यामबहादुर थापाले बताए।
‘साना सवारीसाधन वर्षका चार महिना मात्र मुस्किलले सञ्चालन हुन्छन्, सडक बनेको १४ वर्ष बितिसक्दा पनि न यो सडकबाट कुनै बस गुडेको छ, न मालबाहक ट्रक’ थापाले भने ‘मर्मत र स्तरोन्नतिका लागि एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेको यो सडकमा अलिअलि पानी पर्दा मोटरसाइकलसमेत गुडाउन सकिँदैन।’
सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दा बताउँछन्।
बेनी नगरपालिकाको गेटदेखि हाडेभीर, लभ्लीहिल हुँदै बेनी नगरपालिका–२ भकुण्डेको वडा कार्यालयको ढोकैमापुग्ने यो बाटोको स्तरोन्नतिका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो छ। बेनी नगरपालिका–२ ज्यामरुककोटका निवर्तमान वडा अध्यक्ष हिराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताए।
सडकको स्तरोन्नतिका लागि ठूलै बजेटको आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएको उनको भनाइ छ। प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास बेनी–२ का नवनिर्वाचित वडाअध्यक्ष यामबहादुर कार्कीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।