बेलुकीपख शुरु सांगीतिक रमझम र उल्लास विवाह मण्डपसम्म पुग्नुअघि नै शोकमा बदलिन पुग्यो

|

काठमाडौं : गत जेठ ७ गते शनिबार सिरहा अर्नमा गाउँपालिका-१ महनौरस्थित पालटोलका लुचाइ भन्ने चन्द्रदेव पालको घरमा बिहेको रमझम चलिरहेको थियो। बिहे थियो, लुचाइका १९ वर्षीय छोरा सन्तकुमारको।

​जेठ ११ गते हुने तय भएको बिहेको तयारीका लागि लुचाइको घरमा छरछिमेक, आफन्त‚ साथीभाइ सबै जम्मा भएका थिए। शनिबार साँझमा शुरु भएको उत्सवमा नाचगान, गीतसंगीत पनि घन्किएको थियो मध्यरात १२ बजेसम्म। तर बेलुकीपख शुरु सांगीतिक रमझम र उल्लास विवाह मण्डपसम्म पुग्नुअघि नै शोकमा बदलिन पुगेको थियो।

लुचाइको घर र पालटोल गाउँमा खुशीको माहोल त्यसैरात शोकमा फेरियो जतिवेला भावी बेहुला सन्तकुमारको शव घाँटी रेटिएको र उनको बुबाको टाउको गर्दनबाट छिनालेको अवस्थामा भेटियो।

के भयो त्यसरात

गत जेठ ८ गते राति करिब २ बजे पानी पर्न थाल्यो। घरबाहिर रहेको भेडाको ऊन भित्र राख्न चन्द्रदेवकी पत्नी पवनदेवी पाल कोठाबाहिर निस्कन खोजिन्। तर ढोका खोल्न सकिनन्। ढोका नखुलेपछि ढोकाको चुकुल बाहिरबाट लगाइएको उनले थाहा पाइन्।

यसपछि उनले छेउको कोठामा सुतेका छोरा सन्तकुमार र छेउकै गोठमा सुतेका पति लुचाइलाई बोलाइन्। तर दुवैले कुनै जवाफ दिएनन्।

पवनदेवीले यसपछि छोरा सुतेकै कोठामा सुतेका छिमेकीका छोरा १२ वर्षीय पुरन पाललाई बोलाइन्। पुरनले पनि कोठाको ढोका खोल्न सकेनन्। उनीहरू सुतेको कोठाको ढोका पनि बाहिरैबाट चुकुल लगाइएको थियो।

पवनदेवीले पुरनलाई सोही कोठाभित्र कुनामा खन्ती र खुकुरी भएको बताउँदै त्यसैले ढोका खोल्न भनिन्। पुरनले खन्ती र खुकुरीको सहायताबाट आफू सुतेको कोठाको ढोका खोले र पवनदेवी सुतेको कोठाको चुकुल पनि खोलिदिए।

पवनदेवी बाहिर निस्केर गोठमा गएर हेरिन्। त्यहाँ पतिलाई छियाछिया पारेर मारिएको देखेपछि आत्तिँदै छोरालाई हेर्न उनी सुतेको कोठामा गइन्। छोराको पनि घाँटीमा रेटिएको र मृत अवस्थामा देखेपछि अर्धचेत बनेकी उनले छिमेकीहरूसँग चिच्याउँदै गुहार मागिन्।

विभत्स घटनाबारे अर्नमा इलाका प्रहरी कार्यालयले यसको करिब एक घण्टापछि अर्थात ३ बजेतिर जानकारी पायो। घटनाको सूचना पाएलगत्तै प्रहरीको टोली ३ बजेर २० मिनेटमा नै घटनास्थल पुग्यो र घटनास्थललाई घेरेर राख्यो।

त्यसको केहीबेरमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षकसहितको टोली अनुसन्धानका लागि घटनास्थल पुग्यो। 

आँगनमा रहेको खरले छाएको गोठभित्र खाटमा सुतिरहेको अवस्थामा लुचाइको शव टाउको, गर्दन, ढाडलगायत शरीरभरि नै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको थियो।

सन्तकुमारको भने २ कोठे पक्की घरको पश्चिम कोठाको भुइँमा सुतिरहेको वेलामा घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको सिरहाका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।

सिरहा प्रहरीले संघीय प्रहरी इकाइ जनकपुर र लालगढको तालिमप्राप्त कुकुरसहितको टोलीको सहयोग लिएर घटनाको अनुसन्धान गर्‍यो। जेठ ८ गते मध्यरात १२ बजेदेखि डेढ बजेभित्र घटना भएको प्रारम्भिक आँकलन प्रहरीले गर्‍यो।

प्रहरीले अनुसन्धानका क्रममा १० दिन नबित्दै विभत्स हत्याका अपराधीहरू पक्राउ गर्न सफल भयो।

को थिए उत्सवलाई अन्त्येष्टि बनाउनेहरु?
लुचाइ र उनका छोरा सन्तकुमारको हत्यामा लुचाइकै साँइली बुहारी शान्तिदेवी पालसहित ३ जनाको संलग्नता रहेको खुलेको छ।

प्रहरीले हत्या अभियोगमा चन्द्रदेवकी बुहारी २६ वर्षीया शान्तिदेवी (हाल गोलबजार नगरपालिका-४ बस्ने), सिरहा गोलबजार नगरपालिका-४ का ६५ वर्षीय बेचु पाल र अर्नमा गाउँपालिका-१ महनौरका ४८ वर्षीय जनिफ मियाँविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको छ।

पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले जानकारी दिए।

बेचुको लुचाइ परिवारसँगको रिसइबी

सन्तकुमारको मोरङकी युवतीसँग जेठ ११ गते विवाहको मिति तय भएको थियो। विवाहका लागि केटी पक्षले केटा पक्षलाई दाइजोस्वरुप १ लाख नगद, एउटा मोटरसाइकल र ८ आना सुन दिने सहमति भएको थियो।

सन्तकुमारसँग विवाह तय हुनुअघि ती युवतीको गोलबजार बस्ने बेचु पालका छोरा प्रदीपसँग बिहेको कुरा चलेको पाइएको डिएसपी बुढाथोकीले जानकारी दिए।

प्रदीपसँगको बिहेको कुराकानीमा युवती पक्षले केटालाई विराटनगरमा घडेरी दिने‚ घर बनाइदिने र कुनै व्यापार व्यवसाय गर्ने भए त्यसका लागि लगानीसमेत गरिदिन समेत तयार रहेको थियो।

तर युवतीको पहिले नै एउटा विवाह भइसकेको थाहा पाएका प्रदीपले कुरा नछिनिएको अवस्थामै बिहे गर्न अस्वीकार गरेका थिए। प्रदीपका बाबु बेचुले भने धेरै दाइजोको लालचमा छोरालाई ती युवतीसँग विवाह गर् भनेर दबाब दिएका थिए।

थोरै दाइजोमै ती युवतीको बिहे सन्तकुमारसँग हुने भएपछि बेचु र लुचाईबीच रिसइबी बढेको देखिएको डिएसपी बुढाथोकीले बताए।

लुचाइ परिवारसँग शान्तिदेवीको अनबन

लुचाइका साइँला छोरा विदेशमा रहेका र उनकी पत्नी शान्तिदेवी गोलबजारमा कोठा लिएर बस्ने गरेकी थिइन्। शान्तिदेवीको आफ्नो सासुससुरासँग राम्रो सम्बन्ध थिएन। जसका कारण उनका देवर सन्त कुमारको बिहेमा आउनसमेत सासुससुराले बन्देज लगाएका थिए।

‘जेठ ११ गते तय भएको देवर सन्तको बिहेमा समेत तिमी आउनु पर्दैन, तिम्रो चरित्र राम्रो छैन। तिमी बिहेमा आयौ भने छिमेकीहरू हाम्रो घर आउँदैनन्। त्यसैले तिमी बिहेमा नआउनु बच्चाहरुलाई मात्र पठाउनु सासुससुराले भनेको’, प्रहरीको अनुसन्धान रिपोर्टमा भनिएको छ, ‘सासुससुराले निज बुहारीलाई खर्च, अंशसमेत नदिने माइतीबाट ल्याएको चाँदीको गरगहनासमेत नदिएकाले शान्ति देवीलाई आफ्नै परिवारसँग रिसइबी बढेको थियो।’

यसरी बनेको थियो हत्याको योजना

प्रहरीका अनुसार शान्तिदेवीका पतिले विदेश जाने वेलामा उनको रेखदेखको जिम्मा आफूले चिनेजानेका जनिफ मियाँलाई लगाएर गएको बुझिएको छ।

रेखदेखका जिम्मा पाएका जनिफ र शान्तिदेवीबीच जेठको पहिलो साता गोलबजारमा कुराकानी भइरहेको थियो। त्यसैवेला उनीहरु दुवै जनाका चिनजानका बेचु त्यहाँ पुगे।

तीन जनाबीच कुराकानी हुँदा जनिफले शान्तिदेवीलाई उनका सासुससुराले धेरै दुःख दिएको भन्दै परिवारलाई शान्तिदेवीको बाटोबाट हटाउने प्रस्ताव राखे। त्यसवापत शान्तिदेवीले ५० हजार रूपैयाँ दिने प्रलोभन जनिफले बेचुलाई देखाए। 

सो परिवारसँग पहिल्यैबाट रिसइबी साँधेका बेचुले जनिफको योजनामा सहमति जनाए। शान्तिदेवीले पनि काम फत्ते भएपछि पैसा दिन्छु भनेपछि जनिफ र बेचुले जेठ ७ गते शनिबार राति लुचाइको घरछेउको मन्दिरमा भेट्ने र  हत्याको योजना सफल बनाउने सहमति गरे। हत्याका लागि जनिफले बन्चरो र बेचुले खुकुरी लिएर जाने तय गरे।

बेचुले यसरी गरे बाबुछोराको हत्या

योजनाअनुसार नै गोलबजारबाट पैदल हिँडेर शनिबार अबेर साँझ बेचु लुचाइको घरअगाडिको बाटो हुँदै पूर्वयोजना अनुरुप लुचाइको घर नजिकैको मन्दिरमा पुगे। त्यहाँ जनिफलाई नभेटेपछि फेरि सोही बाटोबाट फर्किएर लुचाइको घरमा नजर राख्दै नजिकै मृतकको घरको पूर्वपट्टी रहेको राजदेवी मन्दिरमा गएर आराम गरे।

केही गाउँलेले लुचाइको घर अगाडिबाट बेचु ओहोरदोहोर गर्दा हातमा झोला लिएर हिँडेको देखेका पनि थिए। तर उनीहरुले कल्पनासमेत गरेका थिएनन् कि गाउँघरमै डुलिरहेका बेचु यस्तो जघन्य हत्याका लागि लुचाइको घर वरिपरि डुलिरहेका थिए।

लुचाइको घरमा बिहेको पूर्वतयारीस्वरुप छिमेकीहरु भेला भएर मांगलिक गीत गाइरहेकाले भीडभाड थियो। गीत गाउन बन्द भयो‚ सबै जना आ-आफ्ना घर गए र लुचाइका घरमा सबै सुतेपछि सुनसान भयो। नजिकै मन्दिरमा बसेका बेचु सुनसान भएपछि मध्यरातमा लुचाइको घरमा पुगे  र झोलाबाट आफूले ल्याएको खुकुरी निकाले।

अनि उनी आँगनमै रहेको लुचाइ (चन्द्रदेव) सुतेको गोठभित्र पसेर उनको टाउको‚ गर्धन र ढाडमा खुकुरीले निर्मम प्रहार गरे। छोराको बिहेको तयारीले थाकेर भुसुक्क निदाएका लुचाइ आफूमाथि भएका प्रहारको प्रतिकार गर्न ब्युँझनसमेत नपाउँदै मृत्युको गाँस बन्न पुगे।

लुचाइको सास जानासाथै समय खेर नफाली बेचु सन्तकुमार सुतेको पक्की दुईकोठे घरको पश्चिम कोठाभित्र पसे र सन्तकुमारको घाँटीमा खुकुरी प्रहार गरे।

सन्तकुमारले पनि ब्युँझन नपाइ अन्तिम सास फेरे। खुकुरी प्रहार गरी बाबुछोरालाई नै सिध्याएपछि बेचुले दुवै कोठाको चुकुल बाहिरबाट लगाइदिए र लागे राजदेवी मन्दिरतर्फ।

बेचुले मन्दिरमा पुगेर हातमुख धोइ पखाली गरे। बालुवाले घोटेर खुकुरीमा लागेको रगतको दागसमेत पखाले र त्यहाँबाट पैदलै हिँडेर जेठ ८ गते बिहान गोलबजारस्थित आफ्नो घर पुगे।

कुकुरले पत्ता लगायो हत्यारा

डिएसपी बुढाथोकीका अनुसार हत्या अनुसन्धानमा प्रहरीले सहयोग लिएको कुकुर पनि बेचु हिँडेको बाटो हुँदै गोलबजारस्थित बेचुको घर पुगेको थियो।

प्रहरीले तीव्र गतिमा गरेको खोजीका क्रममा बेचुकै घरबाट घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला, खुकुरी बेरेर राखेको लुंगी, घटनाको वेला बेचुले लगाएको पाइन्ट तथा रगत लागेको टिसर्ट र ४ थान मोबाइल फेला पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.