|

हेटौंडा : २०७८ सालको साउनतिर दक्षिण एशियाकै पहिलो मानवनिर्मित सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास गर्दै बागमती प्रदेशका तत्कालिन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भनेका थिए‚ ‘२०७९ सालको नयाँ वर्ष सुरुङमार्गमा नै मनाउँला।’

उनले १०५ वर्ष पुरानो चुरियामाई सुरुङमार्गको पुनःनिर्माण गरेर २०७९ को वैशाख १ गते नयाँ वर्ष मनाउने निम्तो नै दिएका थिए तर ७९ सालको जेठ सकिन करिब १० दिन बाँकी रहँदासम्म पनि सुरुङमार्ग पुनःनिर्माण पूरा हुन सकेको छैन। चालू आवको वैशाखसम्ममा गरिसक्ने भनिएको चुरियामाई सुरुङमार्ग पुनःनिर्माण निर्धारित समयमा सक्न प्रदेश सरकार असफल भएको छ।

पुनःनिर्माण निर्धारित समयमा पूरा हुन नसकेपछि ३ महिना समय थपिएको छ। चालू आवको वैशाखसम्म पुनःनिर्माण गर्ने समयसीमा तोकिएको भएपनि नसकिएपछि ३ महिना समय थपिएको जनाइएको छ। २०७८ साल साउनमा पुनःनिर्माण गर्न थालिएको सुरुङ मर्मत अहिलेसम्म ६० प्रतिशत भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका इन्जिनियर विजय केसीले जानकारी दिए।

उनले ठूलो पहाडको ढिस्को खनेर पन्छाउने काम सकिएको भन्दै साउनसम्ममा पुनःनिर्माण सक्ने लक्ष्य लिइएको बताए। समयमा काम सक्ने गरि काम गरे पनि कोरोना र अन्य विविध कारणले ढिलाइ भएको उनको भनाइ छ। पुनर्निर्माणका लागि माउण्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रूपैयाँको लागतमा पुनःनिर्माण सम्झौता भएको थियो।

हाल बागमती प्रदेशको राजधानी हेटौंडा र मधेश प्रदेश जोड्न विसं १९७४ सालमा यो सुरुङ निर्माण गरिएको थियो। दक्षिण एशियाकै पहिलो मानवनिर्मित चुरियामाई सुरुङमार्ग राजा त्रिभुवन वीर विक्रम शाह तथा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर खनिएको थियो।

करिब ५ सय मिटर रहेको यो सुरुङको एकापट्टीको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको छ। तत्कालीन समयमा चुरे पहाड छेडेर तराईलाई काठमाडौंसम्म जोड्नु महत्त्वपूर्ण थियो। विसं १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम ऐतिहासिक स्थल भीमफेदीसँग जोड्ने सडक बनाउने वेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको जानकारहरू बताउँछन्।

सहज आवतजावत गर्न मिल्ने गरी पुनःनिर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर २ सय १५ मिटर मात्र बाँकी रहने जानकारी यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव भण्डारीले दिए। उनका अनुसार तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि यसको समय आगामी साउनसम्म थपिएको छ।

सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको भण्डारीले बताए। उनले सुरुङ सकेसम्म पुरानै स्वरूपमा बनाउन लागिएको पनि बताए। पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ। सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगा राखिएको छ, खोपाहरू कुँदिएका छन्।

सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागिसमेत खुला गरिने जनाइएको छ। उक्त मार्गबाट विसं २०२० सालसम्म सवारी आउजाउ हुने गरेको जानकारहरूको भनाइ छ। उनीहरूका अनुसार प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारीसाधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो। सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीँ सडक बनाइयो, यसो गर्दा सुरुङको आधा भाग नष्ट भयो।

सडकछेउ देखिएको सुरुङको मुख थुनियो तर बारा जिल्लातर्फबाट मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै रहेको थियो। सुरुङको केही भाग नष्ट भएपछि सडक पारिको अर्को भागलाई भने कंक्रिटले बन्द गरिएको  थियो।

नेपालका हरेक भूभागलाई राम्रोसँग बुझेका स्विस टोनी हेगनले सन् २००४ मा लेखेको पुस्तक ‘द हिमालयन किङ्डम अफ नेपाल’ मा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको वेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरेका छन्।

त्यो समयमा बाराको अमलेखगञ्जसम्म रेल चल्ने गरेको थियो। रेल पछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो। अग्रजहरूका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो। भीमफेदीबाट काठमाडौं जाने मोटरबाटो नभए पनि राजा र राणाहरूले बोकाएरै भए पनि साना गाडी काठमाडौं पुर्‍याउने गरेका थिए।

अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरे खण्डमा भने मोटर उक्लन निक्कै गाह्रो थियो। ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको खर्चसमेत बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.