गाउँपालिका केन्द्र पुग्‍नै ९ घण्टा हिँड्छन् गुर्जावासी

|

म्याग्दी : भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ। संघीयताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पुर्‍याए पनि गुर्जामा अझै पुग्न सकेको छैन।

धवलागिरि गाउँपालिका– १ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पुर्‍याएको दैनिक खाद्यान्नका वस्तुहरु खरिदमा चर्को मुल्य तिरेर खान बाध्य भएका छन्।

दिनहुँ खाद्यान्नको मुल्य बजारमा बढिरहनु र बजारको चामल, नुन, तेल लगायतको दैनिक प्रयोग हुने खाद्यान्नहरू गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भर ढुवानी गर्दा गुर्जावासी दोब्बर मूल्यमा दैनिक उपभोग्य वस्तु खाँदै आएको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए। 

सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा ४ घण्टादेखि ७ घण्टासम्म लाग्छ। यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महंगो मूल्यमा खान बाध्य गुर्जाका जनता रहेको अध्यक्ष छन्त्यालले बताए। 

सडक पहुँच गाउँपालिकाको वडा नम्वर २ मा आइपुगेको छ। तर बर्खायामकाे समयमा त्यहाँसम्म पनि सवारीसाधन आउदैंनन्। त्यहाँबाट पैदल यात्रामा गुर्जा आउन ७ घण्टादेखि ९ घण्टासम्म लाग्छ। खच्चडले गाउँपालिकाको केन्द्र मुनाबाट खाद्यान्नहरू गुर्जामा एकदिनमा पुर्‍याउँछ।

खाद्यान्नमात्र होइन, कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही बिरामी भए भने स्थानीयले बोकेर ल्याउनुपर्ने समस्या झनै बढी पीडादायी छ। सडक सञ्जाल नपुगेको ठाउँमा मात्र होइन, पुगेको ठाउँमा बर्षायातको समयमा खच्चडमा ढुवानी गर्न बाध्य रहेका छन्।

‘गाउँपालिकाको केन्द्रदेखि वडानम्वर २ लुलाङमा संघ, प्रदेश, स्थानीय तहको पहलमा सडक पुग्न थालेको छ, भिर काट्न मात्र बाँकी छ। लुलाङदेखि यहाँ लगभग एक सय किलोमिटर सडक आवश्यक छ’ वडाध्यक्ष छन्त्यालले भने, ‘तत्काल सम्भव नहुँदा छन्त्याल जातीको बाहुल्य भएको गुर्जामा खाद्यान्न र सरकारी सुविधा लिन एकदिन हिडेर गाउँपालिका पुग्नुपर्ने बाध्यता भइरहेको छ।’ 

तीन तहको सरकारले बजेट ध्यान दिएमा तीन÷चार बर्षमा सडक पुग्ने सम्भावना रहे पनि सरकार परिर्वतनको किचलोले यो पनि सम्भावना नरहेको वडाध्यक्ष छन्त्यालको भनाइ छ। 

बेनी नगरपालिका बाहेक गाउँपालिका अन्तरगत मालिका, धवलागिरि, अन्नपुर्ण र रघुगंगामा विभिन्न दुर्गम गाउँमा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायमै रहेको छ। 

दुर्गम जनताको घरदैलोमा भएको समस्यालाई हेरेर तीन तहको सरकारले विकास निर्माण योजना र राज्यको सेवा सुविधाहरु विशेष सहुलियतको ब्यवस्था र सेवा उपलब्ध गराउनमा ध्यान पुग्न आवश्यक छ। भने गाउँगाउँमा सडक सुविधाले हिउँदमा सवारीसाधन र बर्खायाममा मात्र खच्चडले ढुवानी गर्न खोज्दा खच्चड ब्यवसाय पनि लोपाेन्मुख अवस्थामा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.