|

झापा : स्वर्गीय राजा महेन्द्र शाह शालिक पुन:स्थापना  समितिलाई भद्रपुर– ८ स्थित महेन्द्र पार्क प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएको छ। सुरक्षाकर्मीले समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई पार्कको मुख्य प्रवेशद्वारमै रोकेपछि दुई घण्टासम्म स्थिति तनावपूर्ण बनेको थियो।

पार्कभित्र राजा महेन्द्रको अर्धकदको शालिक राख्ने समितिको पूर्वघोषित कार्यक्रमअनुसार शनिबार दिउँसो १ बजे र्‍यालीसहित उनीहरू त्यहाँ पुगेका थिए।

राष्ट्रिय झन्डा, ब्यानरसहित हातमा कुचो बोकेर पुगेका उनीहरूलाई सुरक्षाकर्मीले पार्कभित्र प्रवेश गर्न दिएन। उनीहरू शालिक नलिई सरसफाइ गर्न त्यहाँ पुगेका रहेछन्।

तर पनि सुरक्षाकर्मीले उनीहरूलाई सडकमै रोक्यो। पार्कभित्र प्रवेश गर्न नपाएपछि उनीहरू विरोध प्रदर्शनमा उत्रिए। उनीहरूले सडक नै अवरोध गरी स्थानीय सरकार र प्रशासनविरुद्ध चर्को नाराबाजीसमेत गरे।

उनीहरूले बल प्रयोग गरेर पार्कभित्र छिर्न खोज्दा सुरक्षाकर्मीले पनि बल प्रयोग गरेर उनीहरूलाई रोकेका थिए। दुवै पक्षबीच सामान्य घम्साघम्सी भए पनि झडपको स्थिति भने आएन। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठक र सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका डिएसपी प्रेम पोखरेल समेत घटनास्थलमा उपस्थित थिए।

अन्ततः समितिको कार्यक्रम सुरक्षाकर्मीले असफल बनाइ दिएपछि उनीहरूले सदरमुकाममा आधा घण्टा यातायात बन्द गरी विरोध प्रदर्शन गरेका थिए। भद्रपुरको टे«ड युनियन चोकको बिच सडकमै बसेर उनीहरूले यातायात बन्द गराउँदा सवारीसाधन र यात्रुले सास्ती झेल्नु परेको थियो। त्यसपछि उनीहरू कोणसभा गरी कार्यक्रम समापन गरी फर्किए।

राजाको शालिक राखेर छाडने अडान

स्वर्गीय राजा महेन्द्र शाह शालिक पुन:स्थापना  समितिका संयोजक सञ्जीव मैनालीले पार्कभित्र जसरी पनि राजाको शालिक राखेरै छाडने बताए। विगत १६ वर्षदेखि कुनै स्थानीय सरकारले वास्ता नगर्दा जीर्ण बनेको, सरसफाइ र रंगरोगन नपाएको महेन्द्र वाटिकालाई नयाँ जीवन दिएर, पूर्ववत् अवस्थामा फर्काउन हामी लागेको उनले बताए।

‘हाम्रो शान्तिपूर्ण अभियानसहितको कार्यक्रममाथि भद्रपुर नगरपालिका र स्थानीय प्रशासनले हस्तक्षेप गर्‍यो,’ उनले भने, ‘हामी चुप लागेर बस्दैनौँ, यो अभियानको सुरुवात हो, हामी जसरी पनि पूर्व राजा महेन्द्रको शालिक राखेरै छाडछौं।’

स्थानीय सरकारसँग सहकार्य र समन्वय गरे मात्र शालिक राख्नुहोस् प्रशासनले भनिरहेको अवस्थामा तपाईँहरूले कि समन्वय गर्नुभएन भन्ने जिज्ञासामा उनले भने, ‘स्थानीय सरकारले शालिक राख्न कार्यपालिका वा नगर सभाबाट बहुमतले पारित गर्नुपर्ने हुन्छ, त्यो कदापि स्थानीय सरकारले चाहँदैन, त्यसैले समितिले समन्वय र सहकार्य गर्नु कुनै अर्थ नै छैन।’ ‘यो पार्क इतिहाससँग जोडिएको सार्वजनिक सम्पत्ति हो, यसमा सबै नागरिकको समान अधिकार हुनुपर्छ,’ उनले भने। त्यस्तै समितिका सचिव सन्तोष बिमलीले हामी झापाली युवाहरू स्वतःस्फूर्त रुपमा लागेर जीर्ण पार्कलाई जीवन्त दिन खोजेको बताए।

‘हामी हातहतियारसहित पार्क प्रवेश गर्न खोजेका थिएनौँ,’ उनले भने, ‘हातमा कुचो बोकेर आउँदा पनि राष्ट्र प्रेमी नागरिकलाई सुरक्षाकर्मीले अपराधीको शैलीमा हस्तक्षेप गर्न खोज्यो, यो घटना अति निन्दनीय छ।’

हामी शालिक राख्ने अभियानबाट पछि नहट्ने बताउँदै मेचीनगरका गिरिराजमणि पौडेलले भने, ‘त्यस क्रममा मर्नु परे पनि हामी पछि हट्दैनौ’। राजाको शालिक राख्न नदिए देशभर रहेका शहीदको शालिक पनि हामी तोड्न तयार रहेको उनले बताए।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.