|

काठमाडौं : काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचनको मतदान सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा मंगलबार मतदान भएको हो। 

गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल सहित १६० जना सदस्यले मतदान गरेका थिए। प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको महानगरपालिकाले जनाएको छ। 

निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन्। ८ जनामध्ये ५ जना वडाको महिला सदस्य पदमा विजयी भएकामध्ये उम्मेदवारी दिएकाबाट निर्वाचित हुने छन् भने बाँकी ३ जना दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएका व्यक्ति निर्वाचित हुनेछन्। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सहभागी छन्। 

निर्वाचनमा महिला सदस्यका तर्फबाट कार्यपालिका सदस्यका लागि नेपाली कांग्रेसबाट कञ्चना नेपाली हरिजन, मीना सिंह, मीना सुनार र ललिता खड्गीको उम्मेदवारी परेको छ। यसैगरी नेकपा एकीकृत समाजवादीका तर्फबाट मैयाँलक्ष्मी महर्जनको उम्मेदवारी परेको छ। यसैगरी नेकपा एमालेका तर्फबाट शर्मिला परियार, शारदा सुवेदी, शोभा कार्की, हीरादेवी पोखरेल र हेराशोभा डंगोलको उम्मेदवारी परेको  महानगरपालिकाले जानकारी दिएको छ।

त्यसैगरी दलित वा अल्पसंख्यकतर्फ नेकपा एमालेबाट केशव भुजेल, चन्द्रकला सुन्दास र प्रेम पोडे पुजारीको उम्मेदवारी छ। यस्तै नेपाली कांग्रेसका तर्फबाट विनोद अछामी र महेश नेपालीको उम्मेदवारी परेको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट अनिता कार्की दलीको उम्मेदवारी  परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.