महानगरका कर्मचारी भन्छन् : स्वतन्त्र मेयर शाहलाई असफल पार्न दलहरूको दाउपेच

|

काठमाडौं : यतिवेला काठमाडौं उपत्यका फोहोरले आक्रान्त बन्दै गएको छ। करिब एक महिनादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह फोहोर व्यवस्थापनका लागि एक्लै दौडधूप  गरिरहेका छन्। 

स्थानीयले निरन्तर आन्दोलन गरेसँगै फोहोर व्यवस्थापन अझ पेचिलो बन्दै गएको छ। काठमाडाैं महानगरका मेयर बालेन फाेहाेर व्यवस्थापनमा एक्लै लागिपरे पनि उपत्यकाबाट प्रदेश र संघमा निर्वाचित काठमाडौंका सांसदहरू रमिते बनिरहेका छन्। राष्ट्रियसभा र प्रतिनिधिसभाकाे बैठकमा अरु सांसदहरूले उपत्यकाकाे फाेहाेर सम्बन्धमा चर्काे आवाज उठाएका भएपनि काठमाडाैंका सांसदहरू निष्क्रिय भएर रमिते मात्र बनेका छन्।

मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायतसँग फोहोर व्यवस्थापनका विषयमा छलफल गरेका थिए। तर सरकारले कुनै पहल नगर्दा उनले गरिरहेको एक्लाे प्रयास सफल हुन सकिरहेकाे छैन।

फाेहाेर व्यवस्थापनमा  प्रदेश, संघीय सरकार, उपत्यकाका अन्य स्थानीय तहका साथै काठमाडौं जिल्लाका सांसदले पूरै बेवास्ता गरेका छन्। काठमाडौंबाट दुवै सदनमा गरि संघीय संसदमा २२ जना सांसद छन्। तीमध्ये ९ जना सांसद नेकपा एमालेका छन् भने ५ जना सांसद नेपाली कांग्रेसका‚ २ जना सांसद नेकपा माओवादी केन्द्रका‚ ४ जना सांसद नेकपा एकीकृत समाजवादीका र २ जना सांसद जसपाका छन्। 

काठमाडौं क्षेत्र १० बाट राजेन्द्रकुमार के सी, क्षेत्र ७ बाट रामविर मानन्धर, क्षेत्र ५ बाट सांसद ईश्वर पोखरेल, क्षेत्र ९ बाट कृष्णगोपाल श्रेष्ठ, क्षेत्र ४ बाट गगनकुमार थापा, क्षेत्र ८ बाट जीवनराम श्रेष्ठ, क्षेत्र ६ बाट भीमसेनदास प्रधान, क्षेत्र २ बाट माधवकुमार नेपाल‚ क्षेत्र ३ बाट राजेन्द्रकुमार राई‚ क्षेत्र १ बाट प्रकाशमान सिंह जस्ता निर्वाचित भएका शीर्ष नेताहरू नै छन्।

यति मात्र नभएर संघीय संसदमा काठमाडौंका दिव्यमणिराज भण्डारी, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, रेनु गुरुङ, बिनाकुमारी श्रेष्ठ, शशी श्रेष्ठ, सरिता न्यौपाने, सुजिता शाक्य‚ अञ्जना विशुंखे र विन्दा पाण्डे सांसद रहेका छन्।

यीमध्ये रामकुमारी झांक्री शहरी विकासमन्त्री नै रहेकी छन्। तर यी  सांसदहरुकै घर अगाडि फाेहाेरकाे डंगुर थुप्रिँदासमेत उनीहरू देखेकाे नदेखे झैँ गरिरहेका छन्। तीमध्ये गगनकुमार थापाले फोहोरको विषय संसदमा उठाएका छन्।

स्वतन्त्र मेयर शाहलाई असफल पार्न बोल्दैनन् सांसद

यतिवेला उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको भारी काठमाडौं महानगरपालिकाका मेयर शाहको टाउकोमा थोपरिएको छ। एक बथान सांसद यसबारे नबोली बस्दा फोहोरको समस्या काठमाडौं महानगरपालिका र सिसडोलको मात्र जस्तो देखिएको छ।

कुनै पनि राजनीतिक दलमा आबद्ध नभएर स्वतन्त्र उठेर मेयरमा निर्वाचित शाहलाई असफल बनाउनकै लागि राजनीतिक दलहरूले फोहोर व्यवस्थापनमा असहयोग गरेको महानगरका एक कर्मचारी बताउँछन्। ती कर्मचारी भन्छन्, ‘राजनीतिक दलका नेताहरूलाई काठमाडाैं महानगरमा स्वतन्त्रले जितेपछि चुनाैती थपिएकाे छ। त्यसैले स्वतन्त्रबाट आएका शाहलाई असहयोग गरी काम गर्न भनेर असफल बनाउनकै लागि दलहरू फाेहाेर व्यवस्थापनकाे जिम्मेवारीबाट पन्छिएका छन्।’ 

सडकमा पानी परेपछि बगेको फाेहाेरकाे लेदाे न संघीय सरकारले देखेकाे छ न त प्रदेश सरकारले नै। संघीय सरकारले सहयोग नगर्दा फोहोरको समस्या ज्यूँका त्यूँ भएकाे उपत्यकावासीकाे गुनासाे छ। भलै, काठमाडौंमा फोहोरको समस्या नौलो विषय हाेइन। तर मेयर शाहलाई फाेहाेर व्यवस्थापनको पहाड अगाडि थुप्रिँदा अन्य जनप्रतिनिधि भने जिम्मेवारीबाट भागेकाले काठमाडौंवासी रुष्ट बनेका छन्।  

प्रतिनिधिसभाको बैठकमा कतिपय सांसदले काठमाडौंको फाेहोर व्यवस्थापनको विषय उठाए पनि प्रभावकारी हुन सकेको छैन। नेपाली कांग्रेस काठमाडौं क्षेत्र ४ का सांसद गगनकुमार थापाले उपत्यकाको फोहोर व्यवस्थापन संघीय सरकार अर्थात प्रधानमन्त्री स्तरबाटै समाधान गर्नुपर्ने बताएका थिए।

‘काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य हो। तर कतिपय कुरा गर्न दुई निकायले मात्रै सम्भव छैन। त्यसलै स्रोतसाधन र कानुनी प्रक्रियाको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै पहल गर्नुपर्नेछ। त्यसका लागि पहलकदमी लिन प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु‚’ सांसद थापाले संसद बैठकमा भनेका थिए।

तर उनीबाहेक काठमाडौंका अरु कुनै पनि सांसदले फोहोर व्यवस्थापनबारे न संसदमा न त अन्यत्र नै आवाज उठाएका छन्।

सहमतिकाे प्रयास असफल

उपत्यकाको मुख्य समस्या रहेको फोहोर व्यवस्थापन यतिवेला जटिल बन्दै गएको छ। ल्यान्डफिल साइटका स्थानीयले फोहोरका कारण धेरै समस्या भोग्नु परेकाले जग्गा अधिग्रहणको माग राख्दै आन्दोलनमा उत्रिएसँगै अर्को समस्या थपिएको छ।

प्रभावित क्षेत्रका स्थानीयलाई जानकारी नदिई सहमति गरेको भन्दै मंगलबार बिहानैदेखि उनीहरू आन्दोलनमा उत्रिए। प्रहरी परिचालन गरी फोहोर व्यवस्थापन गर्नु परेको थियो। 

बुधबार पनि प्रहरी परिचालन गरी फोहोरका गाडी सो क्षेत्रमा गएका थिए। स्थानीयले ढुंगामुढा गरेसँगै फोहोर बोकेका गाडी फेरि काठमाडौ नै फर्किए। लामो समयदेखि थुप्रिएको उपत्यकाको फोहोर उठाउन सोमबार काठमाडौं महानगरपालिका, शहरी विकास मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सहमति भएको थियो। तर सहमति कार्यान्वयन हुन सकेकाे छैन। 

यस्ता छन् स्थानीयका माग 

१. नुवाकोट र धादिङका प्रभावित स्थलका लगभग ४ सय स्थानीयलाई रोजगारी दिनुपर्ने।
२. प्रभावित क्षेत्रमा भएको गुठीसम्बन्धी समस्या समाधान गर्नुपर्ने।
३. बञ्चरेडाँडाको वरिपरि ३ हजार मिटर दायाँबायाँका जग्गा अधिग्रहण गर्नुपर्ने।
४. सरकारले अधिग्रहण गर्न सक्दैन भने प्रतिस्थापनका लागि जमीन उपलब्ध गराउनुपर्ने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.