|

दाङ : बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका १० स्थानीय तह मध्ये एक जना मात्र दोहोरिएका छन्, अन्य सबै नयाँ अनुहारका रहेका छन्।

दोहोरिनेमा घोराही उपमहानगरका नरुलाल चौधरी हुन्। उनी नेकपा एमालेबाट २०७४ सालमा र अहिले पनि मेयर पदमा निर्वाचित भएका हुन्। त्यस्तै अन्य स्थानीय तहको प्रमुखमा सबै नयाँ अनुसार रहेका छन्, उप्रमुखमा केही दोहोरिएका छन्।त्यस्तै २०७४ सालको निर्वाचनमा पराजित भएकाहरु अहिले निर्वाचित भएका छन्।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी यस पटक पनि निर्वाचित भए। उनले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा ‘डाइमन्ड’लाई हराउँदै निर्वाचित भएका हुन्।

उनले आफ्नो पहिलो कार्यकालको मूल्यांकन र समीक्षा भएका कारण नै यस पटक पनि घोराही उपमहानगरका जनताले आफूलाई जिताएको बताए। उनले आफ्नो पहिलो कार्यकालमा घोराही उपमहानगरमा सुशासन, विकास र समृद्धिको लागि भएको प्रयास घोराही उपमहानगरका जनताको मनमा रहेको भन्दै जनताले नै मूल्यांकन गरेर आफूलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको बताए।

उनले भने, ‘हामीले गर्नुपर्ने भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य सुधार, सामाजिक परिर्वतन, आर्थिक समृद्धिका कुराहरुलाई  पहिलो ५ वर्षीय कार्यकालमा भएका स्रोत र साधनबाट हामीले पूरा गरेका छौँ।’ यस्तै उनले अबको ५ वर्षीय कार्यकालमा अधुरा  रहेका कामहरूलाई पूरा गर्ने बताए।

उनले घोराहीलाई समृद्ध बनाउँदै सुशासनमा अझै पनि सुधार ल्याउने योजना रहेको पनि बताए। उनले  भौतिक सुधारहरु अझै पनि गर्नुपर्ने रहेकाले यी काममा नै आफूहरुको मुख्य आधार रहेको उल्लेख गरे।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का पहिलो पटक जनप्रतिनिधि भएका हुन्। तुलसीपुर उपमहानगरपालिका १८ अक्कासीमा निवासी  मेयर खड्का २०७२ सालमा सुकुम्बासी समस्या समाधान आयोग दाङको अध्यक्ष समेत भएका थिए। तर, उनले ३ महिना मात्रै काम गर्न अवसर पाएका थिए। उनी अहिले पनि सुकुम्बासी नै हुन्।

जसले गर्दा उनले आफू सुकुम्बासी हुँदा धेरै  समस्या भोगेको भन्दै मेरो जस्तो समस्या सबै सुकुम्बासीहरुले भोगेका कारण त्यो समाधान गर्न आफूले पहिलो निर्णय गरेको बताए। उनले आफू र आफ्ना परिवारको नाममा एक कठ्ठा पनि जग्गा नभएको बताउँदै अहिले आफू पर्ती ऐलानी जग्गामा बसेको पनि बताए। उनले अहिले आफू बसेको ठाउँमा विगतमा सुकुम्बासी आयोगले नापेको ५ कठ्ठा ११ धुर जग्गामा बस्दै आएको पनि बताए।

उनले भने, ‘म अरुको घरमा हलो जोतेर भाँडा माझेर राजनीतिक जीवनमा प्रवेश गरेको ब्यक्ति हूँ। म जस्तै उपमहानगरमा रहेका सुकुम्बासी, गरिब दुखीहरुको मनमा खुशी ल्याउने काम गर्नेछु। म अहिले मेयर हुँदा र आगामी ५ वर्षसम्म मेरो ब्यक्तिगत जीवनमा कुनै प्रगति हुने छैन्। म सामाजिक जीवनमा कटिबद्ध भएर काम गर्ने छु।’

उनले यहाँ दुई पैसा कमाउने कुनै सपना नभएर र कमाएर कसैलाई देखाउनु पर्ने पनि नभएको भन्दै समाजमा नमुना काम गर्ने बताए। उनले तुलसीपुरका सबै समस्याहरूमा सहकार्य गरेर जाने बताए।

उनले खानेपानी, स्वास्थ्य, शिक्षामा उपमहानगरमा रहेका गरिब, निमुखाहरुलाई निःशुल्क प्रदान गर्ने र उनीहरुलाई प्राविधिक शिक्षा निःशुल्क प्रदान गर्ने योजना रहेको पनि सुनाए।

उनले उपमहानगरले आफैँ अस्पताल समेत संचालन गरेको बताए। त्यस्तै उनले तुलसीपुरमा खानेपानीको समस्या धेरै रहेको र एयरपोर्ट विस्तार, सडक विस्तार, फोहोर व्यवस्था आवश्यकता रहेकोमा त्यसलाई आफूहरुले परिपूर्ती गर्ने पनि उल्लेख गरे।

शान्तिनगर गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसबाट प्रमोद बस्नेत निर्वाचित भएका छन्। उनी व्यवसाय र राजनीति गर्दै आएका ब्यक्ति हुन्। उनी राप्रपा हुँदै कांग्रेसमा आएका ब्यक्ति हुन्। उनी पहिलो पटक जनप्रतिनिधि बनेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले नै जितेको थियो।

पहिलो कार्यकालका जनप्रतिनिधिहरुले जनताको सोच जस्तो काम नगरेको गुनासो भइरहेको अवस्थामा नवनिर्वाचित अध्यक्ष बस्नेतले भने गाउँपालिकाको विकासमा लागि कुनै विभेद नगर्ने बताए। उनले जनताहरूले नै आफूहरूलाई काम गर्नको लागि जिम्मेवारी दिएको भन्दै यो पार्टी वा त्यो पार्टी भन्दा पनि समग्र गाउँपालिकाको विकासमा ध्यान दिने बताए।

उनले अहिले गाउँपालिकाका वडाहरू कांग्रेस, एमाले, माओवादी र स्वतन्त्रबाट जितेको भन्दै ती वडाहरुको विकासमा पनि समान रूपले हेर्ने बताए। उनले भने, ‘हामी विभिन्न पार्टीबाट जितेर आएका छौँ। तर, हामी सबै जनताको जनप्रतिनिधि हौँ। चुनाव लड्दासम्म मात्र हामी फरक दलका उम्मेदवार थियौँ। अब जितेपछि सबै एउटै भएका छौँ। हामी २६ हजार बढी मतदाताको जनप्रतिनिधि हौँ। त्यसैले हामीबाट यो पार्टी वा त्यो पार्टी भनेर विभेद हुँदैन। मेरा लागि ७ वटै वडा समान हुने छन्।’

त्यस्तै अबको केही समयमा गाउँपालिका कार्यालयमा लामो समयदेखि समस्या हुँदै आएको फोन नेटर्वकको समस्या अन्त्य हुने बताए। उनले गाउँपालिकामा अहिले पनि फोनले राम्रोसँग काम नगर्ने भन्दै त्यसको लागि शान्तिनगर ३ को पातेटाकुरामा टावर निर्माणको काम शुरु भएको बताए। उनले भने,‘हाम्रो गाउँपालिकाको कार्यालयमा सबैको एउटै गुनासो रहेको छ। फोनले काम नगर्ने। अब त्यो समस्या पनि चाँडै अन्त्य हुने छ। त्यसको लागि टावर निर्माणको काम शुरु भएको छ। अहिले पनि मेरो फोनमा राम्रोसँग फोन लाग्दैन। यहाँको समस्या यस्तै रहेको छ।’

त्यस्तै उनले मतदाताहरूको धेरै माग रहेको बताए। शान्ति नगरवासीहरूको माग शिक्षा , स्वास्थ्य, विद्युत, सडक लगायत रहेको बताए। उनले आफू उम्मेदवार भएर गाउँगाउँमा भोट माग्न जाँदा अझै पनि गाउँपालिकाका धेरै ठाउँमा विद्युतको पहुँच नपुगेको पाइएकाे भन्दै अहिले निर्वाचित भएर कार्यभार सम्हालेपछि पनि जनताहरूले उही माग गर्दै आएको बताए।

यस्तै उनले आफू निर्वाचित भएपछि पहिलो निर्णय गर्दै गाउँपालिकामा रहेका गर्भवती महिलाहरूलाई निःशुल्क भिडिओ एक्सरे सेवा पनि सञ्चालन गरेको बताए। यसैगरी विगत ५ वर्षमा गाउँपालिकामा जनताको चाहना अनुसार छिट्टो काम नहुँदा पनि मागहरू धेरै भएको उनले उल्लेख गरे।

उनले भने, ‘विगत ५ वर्षमा गाउँपालिकामा पक्कै पनि काम भएका होलान्। तर, जनताको चाहना अलि छिट्टो विकास होस्, भन्ने रहेछ। तर, त्यो अनुसार नभएको पाइएको छ।, 'उनले गाउँपालिकालाई नमुना बनाउनेको लागि आफूले गाउँपालिकाको मात्र बजेट नभइ प्रदेश र संघको बजेट ल्याएर विकास गर्ने योजना रहेको पनि सुनाए।

‘हामी यहाँ गाउँपालिकाको विकास गर्नका लागि आएका हौँ, ‘उनले थपे, ‘हामीले प्रदेश र संघको बजेट ल्याएर यहाँकाे विकास गर्ने छौँ। जनताहरुको चाहना पनि यहाँको विकास र समृद्धि होस्, भन्ने रहेको छ। जनताले हामीलाई त्यो जिम्मेवारी दिएका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.