|

रौतहट : पछिल्लो समय रौतहटमा पनि पर्यटकीय विकासकाे गति बढेकाे छ। रौतहटको चन्द्रपुरमा रहेको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण थालिएको हो।

नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण थालिएकाे छ। चन्द्रपुर नगरपालिका वडा नं–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले जानकारी दिए।

धामीले करिब ७ करोडको लागतमा सो स्थानमा नमूना पर्यटकीय स्थल बन्ने बताए।

वन विभाग र वन उपभोक्ता समूहको आर्थिक सहयोगमा बाल उद्यान निर्माणको काम भइरहेको छ। बालबालिकाका लागि बाल उद्यान, फूलबारी लगायत संरचना निर्माण गरिएका छन्। चालू आर्थिक वर्षभित्र सो पार्क तथा पर्यटकीय स्थलको काम सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीको भनाइ छ।

स्वीमिङ पुल, तिलेश्वर मन्दिर, पिकनिक स्पट, बाटो, बगैँचा, फूलबारी, भ्यूटावर, नजिक रहेको चाँदी खोलामा झोलुङ्गे पुलका साथै सङ्ग्रहालयको संरचना समेत निर्माण गरिने धामीले बताए।

चिडियाखाना बनाउने योजना पनि रहेको उनले जानकारी दिए। घुम्न आउने पर्यटकका लागि सुविधायुक्त खाजा घर, खानेपानी, बिजुली बत्ती र सडक बनाइने उनको भनाइ छ। मधेश प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समितिले राखेको छ।

समितिका कोषाध्यक्ष भुनेश्वर गुरोका अनुसार धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सो क्षेत्र महत्त्वपूर्ण रहेको छ। अहिले निर्माणको क्रममा रहेकै बेला यहाँ घुम्न तथा वनभोजका लागि आउनेहरू बढेको उनले बताए। यस्तै जिल्लाको अन्य पालिकाले पनि पर्यटकीय विकास गर्ने प्रतिवद्धता जनाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.