|

काठमाडौं : बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन अनुसन्धान र लेखनमा सक्रिय लेखक बसन्त महर्जनको एघारौं बौद्ध पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ।

बुद्ध भनेका गौतम बुद्ध एकजना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका अन्य बुद्ध पनि रहेकोे र ती बुद्धहरूको पनि बौद्ध समाजबाट आदर सत्कार हुने जानकारी पुस्तकमा परेको छ। यसरी नै बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरू मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुुझ्न र बुझाउन ध्यान र साधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानी बुद्ध रहेको पनि पुस्तकमा उल्लेख गरिएको छ।

गौतम बुद्धको दैनिक जीवनचर्या कस्तो थियो‚ उनका गुरु को थिए अथवा थिएनन्‚ कसरी बोधि लाभ गरी बुद्ध बने‚ बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए‚ किन तिनीहरु पहिलो र अन्तिम भएको भन्ने प्रश्नहरूको जवाफ पुस्तकमा विवेचनासहित उल्लेख गरिएको छ।

बुद्धसँग के कस्ता खुबी थिए‚ बुद्ध भनेको के हो भन्नेजस्ता महतत्त्वपूर्ण प्रश्नहरुको जानकारी दिनुका साथै पुस्तकमा गौतम बुद्धको जीवनका विविध पक्षलाई उजागर गर्ने विभिन्न सन्दर्भ र प्रसङ्गलाई पुस्तकमा ठाउँ दिइएको छ। यसरी नै बुद्धसँगको जीवन यात्रामा साथ दिने अग्रणी नेपालीहरुको उल्लेख नेपाली समाजका लागि थप रोचक र छलफलको विषय हुने देखिन्छ।

बुद्धत्व प्राप्तिका लागि गौतम बुद्धले गृह त्याग गरी पत्नी यशोधरालाई बिचल्ली बनाएको भन्ने गैरबौद्ध समाजमा प्रचलित कथनको खण्डन गर्दै पुस्तकमा परिवार तथा नातागोतासँग सरसल्लाहपछि मात्रै गृह त्याग गरेको र बुद्धत्व प्राप्तिपछि परिवारका अन्य सदस्यले जस्तै पछि पत्नीले पनि बुद्धको संघमा प्रवेश गरी भिक्षुुणी जीवन बिताएको जानकारी पनि पुस्तकमा परेको छ।

लेखक बसन्त महर्जनका अनुसार बुुद्ध, शिक्षा र गलत बुुझाई गरी तीन खण्डमा विभाजित यस पुस्तकमा समाविष्ट सामग्रीहरू बुद्ध र बौद्ध धर्म–दर्शन बुुझ्नका लागि आधारभूत ज्ञान हो। पुुस्तक इन्साइट पब्लिकेशन प्रालिबाट प्रकाशन भएको हो। १७६ पृष्ठको यस पुस्तकको मूल्य ३ सय ५० रूपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.