मोदीको भ्रमणपछि बढे भारतीय पर्यटक

|

पर्वत :  आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र हो लुम्बिनी। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीले नेपाललाई विश्वमाझ चिनाएको मात्रै छैन कि पर्यटन विकासका माध्यमबाट पनि देशलाई समृद्ध बनाउन इँटा थप्ने काम गरिरहेको छ।

बर्खाको मुखैमा यो बेला पर्यटकहरु आउने समय होइन लुम्बिनीमा। ‘अफ सिजन’मा पर्यटकहरु आउनु र त्यसमा पनि धेरै पर्यटकहरु भारतीय हुनुले लुम्बिनी विकास कोष पनि दंग परेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत जेठ दुईमा लुम्बिनी भ्रमणमा आएपछि भारतीय पर्यटकहरूको संख्या बढिरहेको छ।

कोषका सूचना शाखा अधिकृत राजन बस्नेतका अनुसार ‘अफ सिजन’को बेला अघिल्लो महिनामा झन्डै २० हजार भारतीय नागरिकले लुम्बिनीको दर्शन गरेका छन्।

‘उहाँ आइदिए हुन्थ्यो भनेर धेरै प्रयास गरिएको हो। सन २०१८ मा उहाँले ठूलो प्रयास गरेको भए पनि के के मिलेन। १९ मा पनि कुरो सुनिए पनि सफल भएन। अहिले भने उहाँलाई ल्याउन सफल भएका छौँ। अन्तर्राष्ट्रिय छवि भएको व्यक्ति यहाँ आउनु भनेको निकै फलदायी हो’, बस्नेतले भने, ‘बुद्ध भारतमा जन्मेका हुन्, भनेर कतिपय भारतीय नागरिक र मिडियाले कुरा उठाएको हामीले सुन्यौँ होला। अहिले आएको बेलामा ऊ त्यही परको हलमा कार्यक्रम हुँदा मोदी जीले भगवान् बुद्धको जन्मस्थान लुम्बिनीमा आउन पाउँदा खुसीले गद्‍गद् भएको भन्दै नेपाली भाषामै सम्बोधन गर्नुभयो। त्यो भनाई हामीलाई उहाँकै मुखबाट सुन्न मन लागिरहेको थियो। किनभने सन २०१६ मा मोदी स्वयंले नै बुद्ध भारतमा जन्मेको भाषण गर्नुभएको थियो।’

मोदीको भ्रमणका कारण नै भारतीय पर्यटकहरूको संख्यामा उल्लेख बनाएको र त्यसले लुम्बिनीलाई थप उत्साहित बनाएको पनि उनको भनाई छ।

‘आफ्ना देशका लिडरहरू जहाँ–जहाँ गए त्यो देशका नागरिकहरू पनि त्यहीँ–त्यहीँ जान मन पराउने रहेछन्। मोदी जी आउँदा बसेको होटेल त्यहाँ बाटोमा देख्नु भो होला’, राजन भन्छन्, ‘अहिले त्यो होटलमा गएर मोदी जी बसेको सोफामा बसेर फोटा खिच्ने, खाना खाने, त्यही टेबलमा बस्नेहरूको भीड लागेको कुरा होटेलका सञ्चालकले सुनाउनुभएको थियो। त्यही ट्वाइलेट रोजेको पनि त्यहाँका कर्मचारीहरू बताउँछन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.