|

बागलुङ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षाका लागि कम्युनिस्टहरूसँग एकता गरेको बताएका छन्। नेपाली कांग्रेस बागलुङले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले प्रतिगमनविरुद्ध र कम्युनिस्ट पार्टीलाई एकै ठाउँमा हुन नदिन अहिलेको गठबन्धन गरिएको बताए।

कम्युनिस्ट पार्टीसँग गठबन्धन नगरे उनीहरू एक हुँदा एमाले हाबी हुने र संविधान नै धरापमा पर्ने भएकाले माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग सहकार्य गरिएको खड्काले बताए। कम्युनिस्टहरूबीच द्वन्द्व बढ्दा कांग्रेसलाई नै फाइदा पुग्ने भन्दै उनले स्थानीय तह निर्वाचनको परिणाम अनुकूल नै आएको बताए।

‘कम्युनिस्ट मिले भने कांग्रेस सक्ने खेल खेल्छन्, उनीहरूबीच द्वन्द्व भयो कांग्रेसलाई पनि फाइदा भएको छ। हेर्नुस् त स्थानीय तहको निर्वाचनले नै देखायो नि,’ खड्काले भने, ‘भर्खर सम्पन्न निर्वाचनमा गठबन्धन गर्‍यौं, हामीलाई नै फाइदा भयो, कहिल्यै नजित्ने वडा र पालिकामा पनि अहिले कांग्रेसका जनप्रतिनिधि छन्, यो फाइदा त कांग्रेसले लियो नि होइन? गठबन्धनको मर्म सबै नेता–कार्यकर्ताले बुझ्नुपर्छ।’

गठबन्धन गरेकै कारण कांग्रेस अहिले ०४९ सालपछि पहिलो पटक स्थानीय तहमा पहिलो भएको खड्काले बताए। उनले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्ति प्रक्रिया खलबल्याउने, संविधान ध्वस्त पार्ने, प्रतिगमन निम्त्याउने गतिविधि गरेका कारण पनि पाँचदलीय गठबन्धन गर्न सघाउ पुगेको जिकिर गरे।

पूर्वगृहमन्त्री समेत रहेका खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलगायतका दलहरूसँग गठबन्धन कायम रहने दाबी गर्दै पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाले वाचा गरेको संविधान संशोधनको प्रस्तावलाई बहुमतले पारित गरिने बताए।

‘गठबन्धनको बाध्यता लोकतन्त्रविरोधी अहमताको प्रवृत्ति अन्त्यका लागि हो। हिजो कांग्रेसलगायत केही दलले संविधान संशोधनको प्रस्ताव ल्याएका थिए। नेकपा एमालेले हुन दिएन,’ खड्काले भने, ‘पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाले देखेको सपना आमनेपाली जनताको सपना हो, त्यो पूरा गर्नका निम्ति पनि गठबन्धनलाई कायम गरी बहुमतमा संविधान संशोधन गरी कांग्रेसले जिम्मेवारी पूरा गर्नुपर्नेछ। संशोधनका माध्यमबाट सबैको साझा संविधान निर्माण हुनेछ।’

संविधानमा प्रत्यक्ष निर्वाचन प्रणाली नभएसम्म कुनै पनि दलको एकल बहुमत नआउने उनले जिकिर गरे। स्थानीय तह निर्वाचनमा घातलाई पार्टीले कारबाही गरेको र आउँदा दिनमा पनि गर्ने बताउँदै खड्काले नेता–कार्यकर्तालाई विधि–विधान र अनुशासनमा बस्न आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.