|

हेटौंडा : ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेका छन्।

मेयर बालेनले सामाजिक सञ्जालमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै स्टाटस लेखेपछि विभिन्न टिप्पणी भइरहेको छ। बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका ११९ वटै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि हेटौंडामा दुईदिने अभिमुखीकरण कार्यक्रम राखेको थियो।

सोही कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरका मेयर बालेन र उपमेयर सुनिता डंगोल पनि आइतबार साँझ हेटौंडा आइपुगेका थिए। सोमबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रम मंगलबार सकिने भए पनि मेयर बालेन र उपमेयर डंगोल भने सोमबार कार्यक्रमको उद्घाटनलगत्तै काठमाडौं फर्किए।

हेटौंडामा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम छोडेर काठमाडौं फर्किएका शाहले सामाजिक सञ्जालमा प्रदेश सरकारले काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम राखेको भन्दै असन्तुष्टि पोखेपछि हेटौंडामा जारी कार्यक्रम तरंगित बनेको छ। मंगलबारसम्म चलेको कार्यक्रममा उपस्थित अन्य स्थानीय तहका जनप्रतिनिधिहरूबीच पनि मेयर बालेनको अभिव्यक्तिलाई लिएर चर्चा चलेको थियो।

मेयर बालेन प्रदेश सरकारले दुई दिनका लागि आयोजना गरेको कार्यक्रममा असन्तुष्टि जनाएर बीचमै छोडेर जानुमा प्रदेश सरकारका मन्त्रीको अभिव्यक्ति रहेको छ। प्रदेश सरकारको अधिकांश मन्त्रीहरूको उपस्थिति रहेको कार्यक्रममा केही मन्त्रीहरूले मन्तव्य समेत व्यक्त गरेका थिए।

उक्त क्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोटका जनतालाई असर परेको बताएका थिए।

धादिङबाट निर्वाचित भएका मन्त्री जम्मकट्टेलले काठमाडौंवासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने? भन्दै प्रश्न गरेका थिए। उनले कुनै पनि हालतमा काठमाडौंको फोहोरको असर धादिङ र नुवाकोटको जनताले नसहने अभिव्यक्ति दिए।

काठमाडौंको फोहोरको विषयमा आफू २०६३ सालको अन्तरिम व्यवस्थापिकामा चुनिएदेखि लागिपरिरहेको भन्दै मन्त्री जम्मकट्टेलले काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान नपाउने बताएका थिए।

एक पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नमिल्ने भएकाले काठमाडौंले बञ्चरेडाँडामा फोहोर फाल्न नपाउने भन्दै मन्त्री जम्मकट्टेलले मन्तव्य दिएपछि मेयर बालेन असन्तुष्ट बनेका हुन्। मन्त्री जम्मकट्टेलले बोल्दाबोल्दै कार्यक्रम स्थलबाट उनी बाहिरिएका थिए। मेयर बालेन बाहिरिएको केही बेरपछि उपमेयर डंगोल पनि बाहिरिएकी थिइन्। त्यसपछि दुवैजना कार्यक्रमबीचमै छोडेर काठमाडौं फर्किएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.