|

काठमाडौं : नेपालसँग मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसियाले इच्छा ब्यक्त गरेको छ ।

रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसँगको भेटमा  रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुबै देशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा इच्छा ब्यक्त गरेकाे मन्त्रालयले जनाएको छ ।

भेटवार्ताका क्रममा नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेलविज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिन पनि रसियन मन्त्री सकारात्मक रहेको जनाइएको छ ।

साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत रसियन मन्त्री भासिलिभिचले बताएका थिए। मन्त्री गहतराजले नेपाल र रसियाबिचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने बताए।

उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरे।

‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३’ फलदायी हुनेमा विश्वास ब्यक्त गर्दै आगामी दिनमा यो कार्ययोजनालाई थप विस्तार गर्दै लग्नुपर्नेमा मन्त्री अथकले जोड दिए।

भेटकै क्रममा मन्त्री गहतराजले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिए।  भेटमा सहभागी युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अब नेपाल रसिया सम्बन्ध खेल पर्यटन र खेल कुटनीतिमा समेत आधारीत हुने बताए।​

यसैबिच नेपाली प्रतिनिधी मण्डलले रसियाका मार्सल आर्टस संघका अध्यक्ष र अन्तराष्ट्रिय बक्सिङ्ग संघका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिए।

रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणकालागि रसिया पुगेका मन्त्री गहतराज असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.