|

गण्डकी : गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७९\०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको छ।

गण्डकी प्रदेशसभाको बैठकमा बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले स्वास्थ्यसँगै कृषि, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको बताए। 

आगामी आर्थिक वर्षका लागि विनियोजित रकममध्ये चालुतर्फ रु १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार (३६.९५ प्रतिशत) र पूँजीगततर्फ २२ अर्ब १४ करोड एक लाख ४६ हजार (६१.६६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१.३९ प्रतिशत) छ।

अर्थमन्त्री बरालले स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ११ करोड १० लाख (५.८८ प्रतिशत) रहेको जानकारी दिए। आगामी आर्थिक वर्षमा एक करोड ८८ लाख ३८ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको उनको भनाइ छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरेको बजेटको खर्च बेहोर्न स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरणबाट सात अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट प्राप्त नौ अर्ब २३ करोड ९९ लाख, सशर्त: अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदानतर्फ ८३ करोड ७० लाख, विशेष अनुदानतर्फ ८६ करोड प्राप्त हुने अनुमान गरिएको छ।

प्रदेशको आन्तरिक राजस्वबाट पाँच अर्ब नौ करोड १६ लाख र रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ। अर्थमन्त्री बरालले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात् दुई अर्ब ७१ करोड नगद मौज्दात रहने अनुमान गर्दै यसका अतिरिक्त आगामी आर्थिक वर्षका लागि दुई अर्ब रुपैयाँ न्यून हुने अनुमान गरेको बताए। 

न्यून हुनेमध्ये एक अर्ब आन्तरिक ऋणबाट र एक अर्ब रुपैयाँ संघीय सरकारबाट लिने ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.