यी हुन् असार ९ गतेबाट खोप लगाइने जिल्ला

|

काठमाडौं : असार ९ गतेदेखि सरकारले पहिलो र दोस्रो चरण गरी ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको ‘पेडियाट्रिक’ फाइजर खोप लगाउँदै छ।

हाल नेपालमा १२ वर्षमाथिका ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको एक मात्रा र ८६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् तर ५ र ११ वर्षका बालबालिकालाई सरकारले पहिलोपटक खोप लगाउन लागेको हो।

पहिलो पटक यो खोप लगाउन लागिए पनि अभिभावकले यो खोप आफ्ना बालबालिकालाई लगाउन डराउनु नपर्ने बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सहप्रवक्ता डा. समिर अधिकारी। उनका अनुसार यसअघि पनि १२ वर्षमाथिका बालबालिकाले फाइजर खोप लगाइसकिएको र ती बालबालिकामा यो खोपले नराम्रो असर गरेको केही नपाइएको हुँदा अब ‘पेडियाट्रिक’ फाइजर’ खोप लगाउन पनि डराउनु नपर्ने बताउँछन्। ‘यो खोप पनि यसअघि लगाइएको फाइजर खोप जस्तै हो, ढुक्कसँग अभिभावकले आफ्ना बालबालिकालाई लगाउन सक्नु हुन्छ’‚ उनले भने।

यस्तै हाल यो खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरूलाई समेत अभिमुखीकरण गरिएको उनले बताए।

खोपको घोलक आइपुग्यो

यता असार ९ गतेदेखि लगाउनका लागि ‘पेडियाट्रिक’ फाइजर खोपको घोलक आइपुगेको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगेको छ।

यस्तै आगामी आइतबार २२ लाख डोज खोप समेत आउने तालिका रहेको उनले बताए। उनले भने‚ ‘खोपको घोलक आइपुगेको छ‚ अब आइतबार २२ लाख डोज खोप आउने कार्यतालिका छ, खोप आएपछि हामीले वितरण गर्छौँ।’

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई यो खोप लगाउने निर्णय गरेको हो।

जसअनुसार पहिलो चरणमा असार ९ गतेदेखि  २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म खोप लगाइने र यही चरणमा खोप लगाएकालाई दोस्रो डोज खोप साउन २ गतेदेखि ८ लगाउन शुरु गर्ने भएको छ।

यस्तै दोस्रो चरणमा भदौ ५ गतेदेखि ११ गतेसम्म ५० वटा जिल्लाका बालबालिकालाई पहिलो डोज खोप लगाइने र यो चरणमा खोप लगाएकालाई दोस्रो डोज खोप भदौ २७ गतेदेखि असोज १ गतेसम्म खोप लगाउने भएको छ। दुबै चरणको खोप अभियानका लागि भने विद्यालयमा खोपकेन्द्र तोकिएको छ।

यी हुन् असार ९ गतेबाट खोप लगाइने जिल्ला

पहिलो चरणमा खोप झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा जिल्लामा लगाउने तयारी गरिएको छ।    

५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने‘पेडियाट्रिक’ फाइजर खोप कोभ्याक्स सुविधामार्फत आएको हो। कोभ्याक्स सुविधामार्फत ८४ लाख मात्रा खोप आउने भएको हो। यसअघि सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो तर पछि अमेरिका सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानस्वरूप दिने जनाए अनुसार खोप कोभ्याक्समार्फत आएको हो।

५ देखि ११ वर्षका बालबालिकाका लागि ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजर कम्पनीले जनाएको छ। यसअघि १२ वर्षभन्दा माथिका सबै उमेर समूहमा ०.३ एमएलका दरले दुई डोज लगाइएको थियो।

फाइजर खोपको सेल्फ लाइफ पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ तर फाइजर खोपलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.