१० वडामा १९ वटा मतदान केन्द्र
१० वडामा १९ वटा मतदान केन्द्र
काठमाडौं : वैशाख ३० गतेको मतदान स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने भएको छ।
नगरपालिकाको १० वटै वडाका १९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले थाहाखबरलाई जानकारी दिए।
वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको आरोप-प्रत्यारोप चलेको थियो। सोही विवादलाई लिएर गठबन्धन दलले पुनः मतदान गर्न र नेकपा एमालेले खसेको मतको गणना गर्न अडान राखेको थियो।
निर्वाचन आयोगले भने छानबिन गरी पालिकाभरिकै मतदान बदर गरेको थियो। साथै आयोगले निष्पक्ष निर्वाचन गराउन असफल भएको भन्दै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूलाई हटाउन सिफारिश गरेको थियो। नयाँ सुरक्षा प्रमुख तथा प्रशासन प्रमुख जिल्लामा पुगेर पटक-पटक सर्वदलीय बैठक राखेर छलफल गरेपछि निर्वाचन आयोगको निर्णयअनुसार मतदान गर्ने सहमति जुटेको हो।
बुढीगंगाका १० मध्ये ६ वटा वडामा अत्यधिक विवाद रहेको थियो। दुई वडामा कांग्रेसले धाँधली गरेको एमालेको आरोप थियो भने चार वटा वडामा एमालेले धाँधली गरेको आरोप कांग्रेसले लगाएको थियो।
बुढीगंगा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रंग खाती मेयर र रिता शाही उपमेयरका उम्मेदवार रहेका छन्। प्रमुख प्रतिपक्षी दल एमालेबाट रामबहादुर बानियाँ मेयर र माया खड्का उपमेयरका उम्मेदवार छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।