|

काठमाडौं : कुवेतमा सम्पन्न एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।

चीनमा आयोजना हुने एशियन कपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरी भने नेपाल फर्किएका छैनन्। ३ महिनाको बिदामा उनी कुवेतमा नै रहेका हुन्।

३ खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन। सन्तोषजनक प्रदर्शन गर्न नसकेको नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको बताए। केही सिनियर खेलाडीबिना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले शुरुआतमा केही डराएर खेलेको तर निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको बताए।

‘टिममा प्रायःजसो नयाँ भाइहरू रहेका छन्। उनीहरूको प्रदर्शन चित्तबुझ्दो छ। विवाद नेपालमा भए पनि भ्रमण गरिसकेपछि बिर्सियौं। केही सिनियर खेलाडीबिना जाँदा शुरुआतमा नयाँ खेलाडीले डराएको जस्तो प्रदर्शन गरे तर निरन्तरको अभ्यासपछि उनीहरूमा पनि आत्मबल बढ्यो।’

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित १० सिनियर खेलाडीबिनै भ्रमणमा निस्किएको नेपाली टोलीमा राम्रो प्रदर्शनका लागि अनुभवी खेलाडीको अभाव महसुस भएको बताए। ‘भइरहेका खेलाडी टिममा नपर्दा केही फरक त परिहाल्छ। नयाँ खेलाडीले राम्रो खेलेर प्रमाणित त गरे तर अनुभवी खेलाडी टोलीमा भएको प्रदर्शन अलि राम्रो हुन्थ्यो। कठिन समूह अटाएका हामीले अनुभवी खेलाडी भएको अवस्थामा नतिजा केही फरक हुने अनुमान गर्न सकिन्छ।’

नेपाली टोलीका सदस्य पुजन उपरकोटीले युवा टोलीसहितको भ्रमण नयाँ अनुभव लिने अवसर भएको बताए। उता ४० वर्षपछि नेपालले कुवेतविरुद्ध गोल गर्दै इतिहास बनाएका दर्शन गुरुङले बलियो टोलीविरुद्ध गोल गर्न पाउँदा खुशी लागेको बताए।

छनोट प्रतियोगिताभर नेपालले कुल १३ गोल खाँदा १ गोल फर्कायो। पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो। फिफा वरीयतामा नेपालभन्दा धेरै माथि रहेको कुवेतविरुद्ध नेपालले ४ गोल खाँदा १ गोल इन्जुरी समयमा फर्काएको थियो। उक्त गोल नेपालले कुवेतविरुद्ध करिब ४ दशकपछि गर्न सफल भएको थियो।

एकमात्र गोल नेपालका युवा खेलाडी दर्शन गुरुङले गरेका थिए। लगातार २ खेलमा पराजयपश्चात एएफसी एशियन कपको सम्भावना टरेको नेपाली टोलीले अन्तिम खेल इन्डोनेसियासँग खेलेको थियो। उक्त खेलमा नियमित कप्तात नवयुग श्रेष्ठको स्थानमा पुजन उपरकोटीले कप्तानको जिम्मेवारी लिएका थिए। सोही खेलमा नेपालले लज्जास्पद हार भोगेको थियो। ७–० को फराकिलो हारसँगै छनोटको भ्रमण नेपालले सकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.