|

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय चोकमा सवारी आउजाउ गर्दा पर्वत सहित बागलुङ, म्याग्दी र मुस्ताङका यात्रुहरू पनि भेटिन्छन्। बागलुङ, म्याग्दी र मुस्ताङबाटबाट आएका यात्रुहरू अधादेखि तीन घण्टासम्मको यात्रा तय गरेर कुश्मा हुँदै पोखरा र देशका अन्य ठाउँमा बाहिरिन्छन् र भित्रिन्छन्।

बागलुङ, म्याग्दी, पर्वतका विभिन्न ठाउँका लागि छुटेका रात्रि बसहरू बिहान चार बजे नै कुश्माको शिवालय चोकमा आइपुगेका हुन्छन्। तर सार्वजनिक शौचालयको उचित व्यवस्थापन नहुँदा सवारी साधनमा यात्रा गरिरहेकाहरु समस्यामा परिरहेका छन्।

आवास क्षेत्र नभएको ठाउँमा सवारीहरूले ठाउँ हरेर दिशा–पिसाबको लागि सवारी रोकेका मध्य पहाडी लोक मार्गको पोखरा–बागलुङ सडक खण्डको ठाउँ ठाउँमा देख्न सकिन्छ। एकान्त सार्वजनिक स्थल बाहेकका अन्य ठाउँमा सवारीहरू रोकिएको बेलामा होटेलमा खाजा नखाएसम्म शौचालयको प्रयोगमा समस्या हुने गरेको यात्रुहरू बताउँछन्।

बागलुङबाट पोखराको यात्राको लागि निस्किएका दैनिक सयौँ यात्रुहरू कुश माको शिवालय चोकमा आउने भए पनि सार्वजनिक शौचालयको पर्याप्तताको अभावमा यात्रुहरू समस्यामा पर्दै आएका छन्। शिवालय चोकमा वर्षौँदेखि सामान्य खालको शौचालय सञ्चालनमा रहँदै आएको छ। एक पटकमा ७÷८ जना भन्दा बढीले शौच गर्न नमिल्ने शौचालयको व्यवस्थापनको काम सामुदायिक सेवा केन्द्रले गर्दै आइरहेको छ।

‘सरकारले सार्वजनिक शौचालयको निर्माण ध्यान दिनुपर्ने हो। माथिका सरकारले नगरे स्थानीय सरकारले भए पनि यसमा ध्यान दिनुपर्ने छ। दशक पहिलेबाट थोरै जनाको क्षमतामा निर्माण भएको शौचालयले अहिलेको चाप कसरी पो धान्ने?’, सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजन जोशी भन्छन्, ‘शिवालय चोक कुश माको मुटु हो। त्यस्तो ठाउँमा आधुनिक खालको शौचालय नहुनु दुःखद कुरा हो।’

कुश्मामा रहेको शौचालय अहिलेको अवस्थामा जसोतसो सञ्चालनमा रहनु राम्रो पक्ष भएको भएपनि यात्रुहरू भने समस्यामा नै रहने गरेका छन्।

शौच गर्नुपर्ने अवस्थामा आएमा खाजा खाने मन नै नभए पनि होटेलमा छिरेर केही न केही खाएपछि मात्रै शौचालयको प्रयोग गर्न पाइने अवस्था रहेको यात्रुहरू बताउँछन्। ‘चोकको शौचालयमा लङ ट्वाइलेटको लागि दुई ओटा मात्रै शौचालय रहेछ। एउटा गाडी रोकिँदा कम्तीमा १०,१५ जना त शौचालय जान्छन्। त्यो भिडमा कति बेर पर्खिँदा पालो आउने हो?’, यात्राकै क्रममा रहेका बागलुङका हरिबहादुर क्षेत्री भन्छन्, ‘पालोमा पखिँदा गाडी हिँडिहाल्छ। होटेलका ट्वाइलेटमा जान त्यहाँ केही न केही त खाजा खाइदिनैपर्छ। नत्र प्रयोग गर्न पाइँदैन। हामी जस्ता सयौँ यात्रु आउँछन् उहाँहरूले शौचालय प्रयोग गर्न दिएर मात्रै पनि त भएन फेरि।’
आफ्नो पसलमा केही नखाई शौचालयको प्रयोग गर्न मात्र दिने हो भने निजी घरका शौचालय पनि सार्वजनिक शौचालयको भन्दा कमजोर अवस्थामा पुग्ने व्यवसायीको भनाई छ।

सञ्चालनमा रहेको सामान्य खालको शौचालयलाई थप क्षमतामा वृद्धि गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाई छ।


सार्वजनिक शौचालयमा बाल्टीमा पानी ओसारेर सुविधा


शिवालय चोकमा सञ्चालनमा रहेको सार्वजनिक शौचालयको व्यवस्थापन गर्दै आएकी गोरी परियारको योगदानले पनि उक्त शौचालय बन्द अवस्थामा रहेको छैन।

सानै भए पनि उक्त शौचालयमा पहिले पाईमा पानी आउने सुविधा थियो। तर मध्य पहाडी लोक मार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्डको स्तरोन्नति भएपछि शौचालयमा लगेको पानीको पाइप पुरिएको छ। जसका कारण शौचालयमा पानीको असुविधा रहँदै आएको छ।
सामुदायिक सेवा केन्द्रले करिब १० वर्षदेखि व्यवस्थापनको जिम्मा गोरीलाई दिएपछि शौचालय उपभोग गरेवापतको शुल्क उनले नै उठाउँदै आएकी छिन्। केही महिना पहिलेसम्म दिशा र पिसाबको एक जनाको पाँच रुपैयाँ शुल्क लिने गरेको भए पनि अहिले भने त्यो रकम बढाएर १० रुपैयाँ बनाइएको छ।

त्यही उठेको रकमबाट सेफ्टी ट्याङ्की सफा गर्ने, पानीको व्यवस्था गर्ने, मर्मत गर्ने लगायतका कामहरू गर्नुपर्छ। यही काम गरेर नै गोरीको परिवार पनि चलिरहेको छ।

शौचालयमा पानीको आपूर्ति बन्द भएपछि यात्रुहरू पनि खासै आएनन्, जसका कारण शौचालय बन्द हुने अवस्थामा पुग्यो त गोरीको छाक टार्ने बाटो पनि बन्द हुने अवस्थामा जान थाल्यो। तर सामुदायिक सेवा केन्द्रले पानी दिने भए पछि मध्य पहाडीले पुरिएको पाइप नबन्ने बेलासम्मको लागि हरेक दिन बाल्टीमा पानी बोकेर शौचालयमा लैजानुपर्ने बाध्यता रहेको छ।

‘ट्वाइलेटमा पनि आउँदैन, ऊ पर रहेको चौकीबाट बिहानभर नातिनी र म भएर बाल्टीमा पानी ओसारेर ट्वाइलेटका बाल्टीमा भरेर राख्छौँ। यो बाटोमा गाडी पनि बेस्सरी दगुर्छन् कुन दिन किच्नी हुन भन्नी डर भयो पानी बोक्ने बेलामा’, गोरी भन्छिन्, ‘एक दिनमा दुईदेखि पाँच सय रुपैयाँसम्म जम्मा हुन्छ। त्यो पैसा समितिलाई बुझाउनु त पर्दैन तर यसैले सबै कुराको व्यवस्थापन मिलाउन पनि कठिन नै छ।’

एक बाल्टी पानीले कम्तीमा पनि दुई जनालाई पुग्यो भने दिनभरमा करिब २५ बाल्टी पानी बोकेर शौचालयमा लैजानुपर्ने परियार सुनाउँछिन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.