|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)को विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।

शनिबार काठमाडौंको माईतीघर मण्डलामा युवा संघको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी युवाहरुले एसपिपीको विरोधमा चर्को नाराबाजीसमेत गरेका छन्। एसपिपीको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग राखेर विभागले प्रदर्शन गरेको हो।

एसपिपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा सबैले स्पष्ट पार्नुपर्ने माग समेत युवा नेताहरुको छ। विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य एवं युवा संघका इन्चार्ज दिलु पन्तले एसपिपी राष्ट्रको हितविपरीत रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरेकी छन्।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं युवा संघका अध्यक्ष नरेश शाहीले एसपीपी सम्झौता प्रक्रिया अगाडि बढाउनेलाई चारपाटा कसेर थानकोट नभई नेपाल नै कटाउनुपर्ने आवश्यकता रहेको भन्दै आक्रोश व्यक्त गरे। उनले एसपिपी मार्फत राष्ट्रलाई गुलाम बनाउने देशद्रोहीलाई कारवाही गर्नुपर्ने मागसमेत गरेका संघका उपमहासचिव एवं प्रवक्ता संजिव राईले बताए।

विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘एसपिपी चाहिँदैन देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। एसपिपी सम्झौता अगाडि बढाउने तत्कालीन सरकारका प्रमुख एवं नेताहरुका विरुद्धमा समेत उनीहरुले चर्को नाराबाजी गरेका छन्।

 

 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.