|

काठमाडाैं : अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव–२०२२ यही जुन महिनाको २३ देखि २६ सम्म आयाेजना हुने भएको छ।

भौतिक र अनलाइनमार्फत हुने महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ।

जुन २३ तारिखमा पुरानो ग्रीन्बेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्करा’को प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ। चलचित्र महोत्सवको समापन जुन २६ तारिखको साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ पनि भौतिक रुपमै सोही थियटरमा प्रदर्शन हुनेछ।

भौतिक प्रदर्शनीबाहेक महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत् चलचित्रहरू हेर्न सकिनेछ। विगतका वर्षजस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा २ वटा चलचित्र प्रदर्शन हुनेछन् भने स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्याण्ड र भर्जिनिया) क्लोजअप प्रदर्शन गरिने छ।

प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ। महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिभलमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिने भएको छ। प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिने जनाइएको छ।

चलचित्र महोत्सव २०२२ का लागि ७ जनाको निर्णायक मण्डल घोषाणा गरिएको छ। निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरूको पुरस्कार घोषणा गर्नेछन्। नेपालबाट अनुप सुवेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब निर्णायकका रुपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।

सन् २०१७ देखि गैर–नाफामूलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले निरन्तर यो चलचित्र महोत्सव आयोजना गर्दै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.