कक्षाकोठा अभाव, भर्ना घटाइयो

|

काठमाडौं : चारैतिर हरियो झार जंगल,प्राङ्‍गणमा पानी जमेर बनेको छ पोखरी। कहीँ चर्किएका छन्। कहीँ संरचना नै भत्किएका छन्। रङरोगन खुइलिसकेको छ।

यो कुरुप दृश्य नेपालकै पहिलो उच्च शिक्षा दिने त्रिचन्द्र कलेजकाे हो। २०७२ को भूकम्पपश्चात् कलेजको अवस्था झनै दयनीय बनेको छ।

यही कलेजबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतले उच्चशिक्षा हासिल गरेका हुन्। यही कलेजमा अध्ययन गरी सत्तामा पुगेका यी नेताको ध्यान कहिल्यै पुगेन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुनःस्थापना नीतिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्षतिग्रस्त केन्द्रीय प्रशासनिक भवन र केन्द्रीय पुस्तकालय भवनको विस्तृत प्राविधिक परीक्षणपछि पुनर्निर्माण तथा मर्मत सम्भार गर्ने उल्लेख छ।

तर, प्राधिकरणको म्याद सकिँदा पनि ऐतिहासिक कलेजको पुनर्निर्माणले पूर्णता पाएन। प्राधिकरणको ६ वर्षमा कलेजको नापजाँच बाहेक केही भएन।

सरकारी आश्वासनमै बित्यो

अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष भदौमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किनेगरी पुरानै ढाँचामा पुनर्निर्माण गर्न प्रबन्ध गर्ने बताएका थिए।

घोषणा भएको १० महिनामा केही काम भएको छैन। गत मंसिर महिनामा त्रिचन्द्र कलेज र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले पुनर्निर्माणको प्रक्रिया अघि बढिसकेको र पुनर्निर्माणको 'कन्सलटेन्ट हायर' गर्न सूचना प्रकाशन भइसकेको जनाएको थियो। तर,ठोसरूपमा काम भएको छैन।

कक्षाकोठा अभाव

नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका नेता गोविन्द कोइराला कलेज पुनर्निर्माण नहुँदा अध्ययन\अध्यापन गर्न सकस भएको बताउँछन्। ‘अहिले जीर्ण बनेको भवनमा पाँच विभागको पढाइ हुन्छ', उनी भन्छन्,'करिब चार हजार विद्यार्थी पढ्ने ठाउँ हो। तर,०७२ को भूकम्पपछि रेड स्टिकर लाग्यो।’

उनका अनुसार रातो स्टिकर लागे पनि ठाउँ अभावले जोखिम मोलेर पठनपाठन भइरहेको थियो। ‘तर, यो पटकबाट कलेज प्रशासनले धेरै जोखिम बढेकाले छत वा ढुंगा खस्न सक्छ भनेपछि पढाइ बन्द भयो', उनले भने, 'अहिले त्यहाँका सबै विद्यार्थी सरस्वती सदन साइटमा सारिएको छ।' 

कलेजमा अध्ययनरत प्रज्वल थापाले पनि कलेज पुनर्निर्माणका लागि धेरै आवाज उठाए पनि सरकारले ध्यान नदिएको बताए। ‘चार वर्षदेखि ज्यान जोखिम मोलेर नै यहाँ पढ्न बाध्य भयौँ’,अर्का विद्यार्थी विकास भण्डारीले भने, ‘बनाउन न कलेज प्रशासन लाग्यो न सरकार नै।

शिक्षामन्त्रीले बुझ्न मानेनन् मागपत्र

नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका नेता कोइरालाले कलेज बनाउन शिक्षामन्त्री देवेन्द्र पौडेललाई मागपत्र बुझाउन खोज्दा पनि उनले बुझ्न नमानेको बताए। उनले भने,‘हामीले शिक्षामन्त्रीलाई भेट्ने प्रयास गर्‍याैँ। कलेज बन्नुपर्छ भन्ने मागपत्र बुझाउन खोजेका थियौँ,तर समय दिनुभएन।’ 

त्यसपछि सडकमै आएर आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ। उनीहरुले गत जेठ ३१ गते कलेज अगाडि सडकमै पढाइ गरेर विरोध प्रदर्शन गरेका थिए। ‘गगन थापा,प्रधानमन्त्री शेरबहादुर, प्रकाशमान सिंह र सुरेन्द्र पाण्डे लगायत उच्चपदस्थ नेता यही पढेका हुन्।  देशमा भ्युटावर बन्यो। रानीपोखरी र धरहरा बने। राम्रो हो। तर यो ऐतिहासिक कलेज सात वर्षसम्म नबन्नु दुःखद हो’, उनले भने।​

​कलेज पुनर्निर्माणको काम नथालिएसम्म आन्दोलनलाई निरन्तर जारी राख्ने उनको अडान छ। उनले भने,‘अब हामी रोकिँदैनौँ,ठोस परिमाण नआएसम्म आन्दोलन जारी रहन्छ, शिक्षालाई सरकारले कसरी हेरिरहेको छ भन्ने यहीबाट थाहा हुन्छ।’ 

मर्मतमा किन ढिलाइ ?

त्रिचन्द्र कलेजका सहायक क्याम्पस प्रमुख तथा सूचना अधिकारी बालकृष्ण पौडेलले कलेज बनाउने बजेटसम्बन्धी प्रक्रिया ढिला हुँदा समयमा कलेज बन्न नसकेको बताउँछन्।

उनका अनुसार उक्त कलेज पुनर्निर्माण एक्जिम बैंक (भारत)को सहयोगले बनाउने भनिएको थियो। ‘एक्जिम बैंकको प्रकृया नै लामो रहेछ, डीपीआर स्वीकृतिका लागि पनि पठाउनुपर्ने रहेछ, त्यही भएर ढिला भएको हो,’उनले भने।

उनले शहरी विकास मन्त्रालयको टोली शुक्रबार आएर निरीक्षण गरेको र डीपीआर तयार हुँदै गरेको बताए। राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा वि.सं १९७५ मा त्रिचन्द्र कलेज स्थापना भएपछि नै नेपालमा विधिवत् उच्च शिक्षा आरम्भ भएको थियो।

१९७६ भदौ ५ मा विधिवत् रूपमा त्रिचन्द्रमा आईए र आईएस्सीको तथा १९८१ देखि बीए र २००४ सालदेखि बीएस्सीको पठनपाठन शुरु भएको हो। तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुलेसम्म त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग थियो। परीक्षा लगायत शैक्षिक मान्यता सोही विश्वविद्यालयअन्तर्गत हुन्थ्यो।

हाम्रै बजेटलै नै कलेज बनाउँछौँ : शिक्षामन्त्री

शिक्षामन्त्री पौडेलले यही आर्थिक वर्षमा त्रिचन्द्र कलेज लगायत त्रिविको अन्य आंगिक क्याम्पसको पुनर्निर्माण थाल्ने बताएका छन्।

गत जेठ ३१ गते आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने,‘त्रिचन्द्र कलेजलगायत आंगिक क्याम्पस यसै आर्थिक वर्षबाट बनाउन प्रक्रिया शुरु गर्नेछौँ। एक्जिम बैंकको सहयोग प्रक्रिया ढिला भएकाले स्वदेशी बजेटले कलेज पुनर्निर्माण गर्ने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.