|

दाङ : विद्यार्थीहरूले विभिन्न माग राख्दै नेपाल संस्कृत विश्वविद्यालय र केन्द्रीय आयुर्वेद विद्यापीठ तथा शिक्षण अस्पताल बेलझुण्डी दाङको प्रशासन कक्षमा तालाबन्दी गरेका छन्।

विद्यापीठमा अध्ययन गर्दै आएका बिए/एमएस ८ औँ ब्याचका विद्यार्थीहरूले विभिन्न माग राखेर गत जेठ ३० गतेदेखि प्रशासन कक्षमा तालाबन्दी गरेका हुन्। नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय तुलसीपुर-१७ मा नेपाल विद्यार्थी संघको नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिले गत वैशाख १९ गतेदेखि लगाएको ताला अझै खुलेको छैन।

०७५/७६ मा भर्ना भएका ८ औँ ब्याचका हाल द्वितीय प्रोफेशनलमा अध्ययनरत विद्यार्थीले ५ बुँदे माग  राख्दै  प्रशासनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

उनीहरूले  नियमित रुपमा सम्पूर्ण विषयको पठनपाठनको व्यवस्था गर्न माग गरेका छन् भने प्रयोगात्मक कक्षा सञ्चालन हुनुपर्ने, अस्पतालमा ड्युटीको समय तालिका छिटोभन्दा छिटो प्रकाशन गर्न,  एजुकेशनल भ्रमणका लागि एक हप्ताभित्र सम्पूर्ण प्रक्रियाहरू पूरा गरी सूचना प्रकाशन गर्न र शिक्षण अस्पतालमा ओपिडी सेवा शीघ्र सञ्चालन गर्न माग गर्दै उनीहरूले माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी गरेको पनि बताएका छन्।

विद्यापीठमा दाङका मात्र नभइ देशभरका विद्यार्थी चिकित्सा शास्त्र अध्ययनका लागि पढ्न आउने गर्छन्। तर क्याम्पसमा भनेजस्तो सेवाहरू नहुँदा आफूहरूले धेरै समस्या  भोग्नु परेको बुटवलबाट आएका ७ औँ ब्याचका विद्यार्थीको भनाइ छ ।  उनका अनुसार क्याम्पसमा शैक्षिक क्यालेन्डरअनुसार पढाई नै हुँदैन।

उनले भने, ‘शैक्षिक क्यालेन्डरअनुसार हाम्रो एक कोर्स १८ महिनामा सकिनु पर्छ। हामी पढ्न आएको ५ वर्षभन्दा बढी भयो। हामीलाई पढ्ने भनेको साढे ४ वर्ष मात्र हो। अहिले हामीलाई समयको धेरै महत्व रहेको छ। तर हाम्रो पढाइ समयअनुसार नहुँदा समस्या भएको छ।’

उनले नाममा टिचिङ अस्पताल भए पनि ओपिडीलगायत सेवाहरू नहुँदा आफूजस्तै बाहिरी जिल्लाबाट चिकित्सा शास्त्र अध्ययनका लागि विद्यार्थीलाई समस्या भएको बताए। उनले अस्पतालमा ओपिडी सेवा नहुँदा  कहिले बिजौरी आयुर्वेदिक अस्पताल र कहिँले तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा गएर अभ्यास गर्दा समस्या हुने गरेको पनि बताए।

‘हामी आएको ५ वर्ष भयो। अहिले ८ औँ ब्याचमा अध्ययनरत विद्यार्थीले केही दिनदेखि तालाबन्दी गरेका छन्,‘ उनले भने, ‘यी समस्या मागहरू हामी आएपछि पनि प्रशासनलगायत निकायमा लगेर गएका थियौँ तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।’

क्याम्पसमा शिक्षक अभावका कारण आफूहरूले  समस्या भोग्दै चितवनबाट  पढ्न आएकी ७ औँ ब्याचकी एक विद्यार्थीले बताइन्। उनले शिक्षकहरू कम हुँदा एउटै शिक्षकले सबै ठाउँमा नभ्याउने भएकाले क्याम्पसमा यस्तो समस्या हुँदै आएको पनि बताए।

उनले भनिन्, ‘परीक्षा तथा भाइवा भयो भने अरु कक्षा सञ्चालन हुँदैन। शिक्षकहरू थोरै हुँदा उहाँहरू उता जानु हुन्छ‚ अनि पढाइ नियमित  हुँदैन। जसले गर्दा हामीले समस्या भोग्नु परेको छ।’ उनले अस्पतालमा ओपिडी सेवा नहुँदा पनि आफूहरूलाई समस्या हुने गरेको बताइन्। अस्पतालमा ओपिडी नहुँदा बिजौरीको राप्ती आयुर्वेदिक चिकित्सालय र राप्ती प्रादेशिकमा अभ्यास गर्न जाने गरेको उनको पनि भनाइ थियो। आफूहरूले यस्ता समस्याबारे पटक-पटक क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो थियो।

अर्का विद्यार्थीले पनि समस्या उस्तै गुनासो पोख्छन्। उनले क्याम्पसले समयमै अस्पतालमा ड्युटी नगराउने, समय मै शैक्षिक भ्रमण पनि बनाउनेलगायत समस्याका कारण पढाइ प्रभावित भएको गुनासो गरे। उनले भने, ‘हामीहरू डाक्टर बन्न जुन गुणस्तरको शिक्षा लिन आएको थियौँ‚ त्योअनुसारको पाएका छैनौँ। यो बिए/एमएसको पढाइमा अझै गुणस्तर बढाउन जरुरी छ।’

क्याम्पस भन्छ- सबै माथिबाट हुन्छ, हाम्रो केही चल्दैन

तालाबन्दी गर्दा प्रशासनको काममा समस्या भएको छ तर लामो समय तालाबन्दी  हुँदा पनि क्याम्पस प्रशासनले भने विद्यार्थीका केही माग तत्काल पूरा हुनसक्ने भएपनि केही माग माथिबाट नै हुने भनेर जवाफ दिने गर्छ।

निमित्त क्याम्पस प्रमुख डा. लक्ष्मीश्वर मण्डलले क्याम्पसको अधिकारमा कुनै पनि कुरा गर्न नसक्ने भएकाले आफूहरूले केन्द्रीय कार्यालयमा सबै जानकारी पठाएको भए पनि त्यहाँबाट सुनुवाइ नहुँदा समस्या भइरहेको बताए। उनले क्याम्पसमा ५१  जना शिक्षकको दरबन्दी रहेकोमा हाल ७ जनामात्र रहेको भन्दै यसका कारण पनि पढाइमा समस्या हुने गरेको बताए।

उनले भने, ‘अहिले  शिक्षकको विज्ञापन आएको छ तर केन्द्रीय कार्यालयमा नै लामो समयदेखि तालाबन्दी भएको छ। जसले गर्दा पनि परीक्षाको समयसमेत अनिश्चित छ। अहिले क्याम्पसमा ७ जनामात्र शिक्षक छन्। ५२ जनाको दरबन्दीमा ७ जनाले कसरी पढाउन सकिन्छ? अहिले ४ वटा ब्याचमा विद्यार्थी पढ्दै छन्।’

उनले एजुकेशनल भ्रमणका लागि विद्यार्थीलाई एक पटक लैजाने भनेकोमा ढिलाई भएको पनि बताए। ‘केही विद्यार्थी फेल भएका छन्। उनीहरूको परीक्षा असार १५  गते शुरु हुन लागेको छ। जसकारण हामीले सबै विद्यार्थीहरूलाई एकै पटक लैजाने योजना गरेका छौँ‚‘ उनले भने, ’तर विद्यार्थीहरूले अहिले नै लैजाने माग गरेका छन्।’

प्रशासन  कक्षमा तालाबन्दी गरेपछि आफूहरूले विद्यार्थीसँग वार्ता गरेको र क्याम्पस प्रमुख आएपछि मात्र वार्ता गरेर अगाडि बढ्ने भनेपछि आफूहरू अहिले त्यसैको प्रतीक्षामा रहेको पनि उनले बताए।

अस्पतालमा ओपिडी सेवा सञ्चालनका लागि जनशक्ति नहुँदा समस्या भइरहेको भन्दै उनले त्यसका लागि आफूहरूले पहल गर्दै आइरहेको पनि बताए। उनले भने, ‘अहिले भएका ५/७ जना डाक्टरबाट ओपिडी सञ्चालन गरौँ भने पनि हामीसँग फार्मेसी, ल्याब छैन। बिरामी जाँचेर मात्र हुँदैन। उनीहरूलाई औषधि र ल्याब परीक्षणका लागि कहाँ पठाउने? यसका लागि माथिबाट नै सोच्नुपर्ने हुन्छ। यहाँ हामीलाई केही गर्ने अधिकार हुँदैन।’

डेढ महिनादेखि नेपाल संस्कृत विश्वविद्यालयमा पनि ताला

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय तुलसीपुर-१७ मा नेपाल विद्यार्थी संघले करिब डेढ महिनाअघि गत वैशाख १९ गते तालाबन्दी गरेको हो। विश्वविद्यालयमा भएका विभिन्न समस्या समाधानका लागि १४ बुँदे माग राख्दै उपकुलपतिसमक्ष आग्रह गरे पनि पूरा नभएको भन्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दीले विश्वविद्यालयका सम्पूर्ण गतिविधि  डेढ महिनादेखि बन्द छन्।

१४ मागमध्ये ११ वटामा सहमति हुँदा पनि खुलेन ताला

विश्वविद्यालयले केही माग पूरा हुन सक्ने बताए पनि विद्यार्थी संघर्ष समितिले राखेका सबै मागलाई विश्वविद्यालय स्वयमले चाहेर पनि पूरा गर्न नसक्ने विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए।

नेपाल विद्यार्थी संघले राखेका माग सम्बोधन गर्न विश्वविद्यालयका तर्फबाट कुलसचिवको संयोजकमा ५ सदस्यीय वार्ता कमिटी बनाएर काठमाडौँमा सबै विद्यार्थी संगठनसँग पटक-पटक वार्ता गर्दै आएको पनि उनले बताए। उनले केही दिनअगाडि पनि आफू काठमाडौँ गएर वार्ता गरेको र संघले उठाएका १४ बुँदे मागमध्ये ११ वटामा सहमति भएको बताए।

उनले भने, ‘हामीले तालाबन्दी गरेको नेपाल विद्यार्थी संघसँग ४/५ पटक वार्तामा बसेका थियौँ। संघले प्रस्तुत गरेका १४ वटा बुँदामध्ये ११ वटा बुँदामा हामीले सहमति गरेर तालाबन्दी खोलेर विश्वविद्यालय सञ्चालन गर्ने र आगामी दिनमा थप छलफल गर्ने भनेर हामी दाङ आएका थियौँ। तर दाङ आएको ४ दिन हुँदा पनि ताला खुलेको छैन।’

उनले आफूले विद्यार्थी संघले दाङमा पुग्दासम्म ताला खुलिसक्ने भनेर आश्वासन दिएको भए पनि अझै नखुलेको भन्दै ताला खुल्ने अपेक्षामा आफूहरू बसेको पनि बताए। उनले विद्यार्थीसँग अहिले पनि वार्ता निरन्तर चलिरहेको बताए।

१४ बुँदामध्ये अझै ३ वटा बुँदामा सहमति नजुटेको पनि उनको भनाइ थियो। उनका अनुसार विश्वविद्यालयभन्दा माथिल्लो निकायबाट ति ३ वटा मागहरू रहेका कारण सम्बोधन गर्न समस्या रहेको हो। उनले भने, ‘विद्यार्थीले छात्रवृत्ति २०० प्रतिशतले वृद्धि गर्न माग गरेका छन्। त्यो विश्वविद्यालयबाट सम्बोधन गर्न सम्भव छैन। अर्को विश्वविद्यालयका पदाधिकारीको आर्थिक अनियमितताको छानबिन गर्न पदाधिकारी स्वयमको समितिले छानबिन गर्ने समिति बनाउने भन्ने माग छ। तर हामीले त्यस्तो अनियमितता छानबिन माथिल्लो निकायबाट हुनुपर्छ भनेको हुँदा सहमति भएको छैन।’

उनले अर्को मुख्य सहमति हुन नसेकेको बुँदा आंशिक  शिक्षकलाई करार गर्ने भन्ने रहेको बताए। विश्वविद्यालयका तर्फबाट सेवा आयोगलाई आंशिक शिक्षक रहेका विश्वविद्यालयलाई आवश्यक पर्ने शिक्षक कर्मचारी विषयमा अध्ययन गरेर सेवा आयोगमा विज्ञापन गर्न पठाएको हुँदा आंशिक र करारमा शिक्षक नियुक्त गर्न नसकिने भएकाले सहमति नभएको पनि उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.