काठमाडौंवासीले खाने पानी नै दूषित हुनु रोग लाग्नुको मुख्य कारण

|

काठमाडौं : केही दिनअघि बागबजारमा डेरा गरेर बसेका एकै परिवारका दिदीबहिनीले चटपटे खाए। तर चटपटे खाएको केही घन्टामा नै उनीहरूलाई एकैसाथ पेट दुख्ने, पखाला लाग्ने तथा बान्तासमेत हुने समस्या देखियो। यस्तो समस्या देखिएपछि उनीहरू बागबजारस्थित मोडल अस्पताल पुगे चिकित्सकले उनीहरूलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) रिफर गरिदिए। त्यसपछि उनीहरू टेकु अस्पताल पुगे।

अस्पतालमा पुग्नेबित्तिकै गरिएको र्‍यापिड टेष्टमा उनीहरूमा ‘हैजा’को संक्रमण पुष्टि भयो। यति वेलासम्म उनीहरूको स्वास्थ्य अवस्था यति नाजुक अवस्थामा पुगेको थियो कि उनीहरूलाई आइसियूमा नै राखेर उपचार गरिएको थियो।

र्‍यापिड टेष्टमा हैजा देखिएपछि चिकित्सकले उनीहरूको थप परीक्षण गरे। थप परीक्षण गर्दा पनि उनीहरूमा हैजाकै संक्रमण पुष्टि भयो। हैजा देखिएका एकै घरका (१८ र २३ वर्षीया) दिदीबहिनीको हाल टेकु अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

गत बिहीबार काठमाडौं मोडल अस्पतालबाट रिफर भएर टेकु अस्पताल पुगेका उनीहरूको अवस्था अस्पताल पुग्दा चिन्ताजनक भएर आइसियूमा भर्ना गरी उपचार शुरु गरिएपछि हाल दिदीबहिनी दुवै खतरामुक्त रहेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बताए।

हैजाका शंकास्पद बिरामी जान थाले अस्पताल

अस्पतालका इमर्जेन्सी इन्चार्ज भण्डारीका अनुसार आइतबार फेरि ३ जना हैजाका शंकास्पद बिरामी भर्ना भएका छन्। उनका अनुसार हिजो भर्ना भएका बिरामीमध्ये एकजनाको आइसियू र अन्य दुईजनाको वार्डमा उपचार भइरहेको छ। उनीहरुमा  यापिड टेष्टमा हैजा पोजेटिभ देखिएको छ ।

यस्तै आज पनि  एक जना विरामीको अस्पतालको  बिरामीलाई आईसीयूमा भर्ना गरिएको छ । अस्पतालका अनुसार आज भर्ना भएको बिरामीकालिमाटी फलफुल तथा तरकारी बजारमा काम गर्ने ४० बर्षीया महिला हुन।

हाल अस्पतालमा ललितपुरका ५० वर्षीय पुरुष, बानेश्वरका एक जना र अर्का एक जना हैजाका शंकास्पद बिरामीको अस्पतालमा उपचार भइरहेको छ। ‘हिजो फेरि काठमाडौंकै ३ जना हैजाका शंकास्पद बिरामी अस्पताल भर्ना हुनु भएको छ, उहाँहरूमध्ये एक जनाको आइसियू र अन्यको वार्डमा उपचार भइरहेको छ‚’ भण्डारीले भने।

भण्डारीका अनुसार दुई दिदीबहिनीबाहेक हैजाका अन्य शंकास्पद बिरामी काठमाडौंका विभिन्न ठाउँका हुन्।  

हैजाका शंकास्पद बिरामी मात्रै नभएर पछिल्ला केही दिनयता अस्पतालमा झाडापखालाका बिरामीसमेत आउने क्रम बढेको अस्पतालका इमर्जेन्सी इन्चार्ज भण्डारीले बताए। उनका अनुसार हाल टेकु अस्पतालमा दैनिक १५ देखि १६ जना सम्म झाडापखालाका बिरामी उपचारमा आउने गरेका र उनीहरूमध्ये धेरैलाई भर्ना नै गरेर उपचार गर्नु परेको भण्डारीको भनाइ छ।

फैलिसकेको हुन सक्छ हैजा

हाल अस्पतालमा काठमाडौंका फरक फरक ठाँउबाट हैजाका शंकास्पद बिरामी आएको हुँदा हैजा समुदायमा फैलने उच्च जोखिम रहेको बताउँछन् टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन। ‘हैजाका लक्षण लिएर अस्पतालमा उपचारमा आउने बिरामीको ठेगाना हेर्दा उहाँहरू काठमाडौंकै फरक फरक ठाउँका हुनुहुन्छ‚ यसले गर्दा पनि हैजा समुदायमा फैलने जोखिम धेरै छ‚’ उनले भने।

काठमाडौंको खानेपानी नै दूषित

डा पुन काठमाडौंको खानेपानी नै दूषित भएको हुँदा हैजाको जोखिम बढेको बताउँछन्। ‘यसै त वर्षाको सिजन छ, यसमाथि यो समयमा काठमाडौंको खानेपानी दूषित हुन्छ, अझ पानी नउमालेर खाने बानी धेरै जनाको छ, जसले गर्दा हैजाको जोखिम धेरै भएको हो‚‘ डा पुनले भने। उनका अनुसार जारको पानी पनि यो मौसममा त्यति धेरै सुरक्षित नभएको पाइएको समेत बताए। 

काठमाडौं उपत्यकामा केही समयदेखि असरल्ल थुप्रिएको फोहरले पनि हैजा र झाडापखालाको जोखिम बढाएको डा पुनको भनाइ छ। ‘काठमाडौंमा सडक छेवैमा फोहोर थुप्रिएको हुन्छ, त्यसैको छेवैमा खानेकुरा बेच्न राखिएको हुन्छ, यसरी खाने खाने कुराले हैजा तथा झाडापखाला जस्ता संक्रमण बढ्ने जोखिम हुन्छ‚’ उनले भने।

कसरी लाग्छ हैजा?

हैजा ‘भिब्रिओ कोलेरा’ नामक जीवाणुको सङ्क्रमणका लाग्ने र यो जीवाणु प्रायः दूषित पानीमा हुने डा पुनले बताए। सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने उनको भनाइ छ।

हैजाको जीवाणुको मानव शरीरमा प्रवेश गरेको केही घण्टादेखि ५ दिनभित्र यसका लक्षणहरू देखिने उनले बताए। ‘मानव शरीरमा हैजाको जीवाणु प्रवेश गरेको केही घन्टादेखि ५ दिनसम्ममा लक्षण देखाउने गर्छ, लक्षण देखिएपछि समयमा नै चिकित्सकको निगरानीमा बसिएन भने यसले गम्भीर स्वास्थ्य समस्यासमेत निम्त्याउने गर्छ‚’ डा पुनले भने।

हैजाले एकैपल्ट धेरै अंग बि‍गारेर ज्यान लिन सक्छ

हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसलाई चौलानीजस्तो पातलो पखाला चल्ने, टाउको दुख्ने तथा बान्तासमेत हुने हुँदा शरीरमा पानीको मात्रा अत्यन्त न्यून हुने हुँदा सबैभन्दा पहिले मिर्गौलामा असर गर्ने डा पुनले बताए। ‘हैजा संक्रमण भएपछि धेरै पखाला लाग्ने हुँदा मानव शरीरमा पानीको मात्रा कम हुन्छ जसले गर्दा शरीरका लागि आवश्यक तत्वहरूसमेत कम हुँदै जान्छ र बिस्तारै शरीरको मल्टिअर्गानहरू फेलिएर हुनेतर्फ जान्छ। हैजा संक्रमण देखिएपछि यसको असर छिटो मिर्गौलामा देखिने गर्छ‚’ उनले भने।

हैजा संक्रमण देखिएपछि समयमा नै उपचार नगरे मानिसको ज्यानै जानसक्ने उनको भनाइ छ। हैजाको लक्षण देखिएर अस्पताल आउने बिरामीलाई स्लाइन पानीका साथै बिरामीको अवस्था हेरेर एन्टिबायोटिक प्रयोग गरी उपचार गरेपछि बिस्तारै ठिक हुँदै जानेसमेत उनले बताए। 

हैजा र झाडापखाला कसरी छुट्याउने

उस्तै खालका लक्षणहरू देखिने हुँदा धेरै मानिस हैजा र झाडापखालाबाट झुक्किनेसमेत बताउँछन् डा.पुन। उनका अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा धेरै पातलो हुने गर्छ।

उनका अनुसार दिसाबाट चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्वहरू पनि शरीरबाट बाहिरिन्छन्। शरीरलाई आवश्यक पर्ने तत्वहरू न्यून हुँदै जान्छ। 

पटकपटक बान्ता आउने, पेट वा खुट्टाका मांसपेशी बाउँडिने जस्ता समस्या अधिकांश बिरामीमा देखिने उनले उनको भनाइ छ। तरल पदार्थ धेरै खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा लाग्ने उनले बताए। बिरामी धेरै थाक्ने र धेरै खटपट हुने उनको भनाइ छ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ। अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।

कसरी बच्न सकिन्छ?

डा पुनका अनुसार हैजाबाट जोगिने मुख्य उपाय भनेकै दूषित पानी नखानु हो। फोहोरबाट पनि हैजा फैलने हुँदा सकेसम्म आफू बस्ने ठाउँ वरिपरि र व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्छ।  

पानी उमालेर खान र बासी तथा सडेगलेको खानेकुरा नखान पनि डा पुनको सुझाव छ। पानीपुरी‚ चटपटे, फुल्काजस्ता सडक छेउमा खुल्ला रुपमा राखिएका खानेकुरा तथा नछोपी राखिएका फलफूल र अन्य खानेकुराबाट पनि हैजाको जीवाणु मानव शरीरमा पस्ने हुँदा यसरी खुल्ला रुपमा राखिएका खानेकुरा खान नहुने समेत डा पुनको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.