केपी शर्मा ओली‚ प्रचण्ड‚ गगन थापा र डोरमणि पौडेललगायत नेताले भर्नापछि गरेनन् सहयोग

|

काठमाडौं : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली २०७५ वैशाख १ गते मुगुकी ठिल्ले साङमु लामाको अभिभावकत्व ग्रहण गरे। जिल्लाको मुगुम-कार्मारोङ गाउँपालिका-८ स्थित बुद्ध नमुना माध्यमिक विद्यालयमा लामालाई भर्ना गरेपछि ओलीको छोरी भनेर गाउँमा बोलाउन थालियो।

अहिले पनि यदाकदा गाउँमा त्यही साइनोले बोलाउँछन् उनलाई। वैशाख १ गते ‘कर्णाली रारा पर्यटन वर्ष’मा ओलीले अभिभावकत्व ग्रहण गरेर छोरीसरह बनाए। ओलीले ठिल्लेको शैक्षिक अभिभावकत्व लिएपछि बाबा र छोरीको मायालु हेराइले त्यसवेला के स्वदेशी र के विदेशी सबैको नजर रारा तालको किनारतर्फ तानिएका थिए।

अहिले भने ०७५ सालको वैशाख १ गतेको दिनजस्तै गरि ठिल्लेमा खुशी छाउन सकेको छैन। कपी, कलम किन्ने पैसासमेत छैन उनीसँग। तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले उनलाई स्कुल भर्ना गराएपछि कुनै थप सहयोग गरेनन्। न त यसपछि ठिल्लेको दैनिकी नै फेरियो। ठिल्लेलाई ओलीले भर्ना गराउँदा ८ वर्षकी भएकी उनी अहिले १२ वर्षकी भएकी छन्।

त्यस्तै, रारा पुगेकै बेला ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि त्यहाँकै छेरिङ छोन्तोम लामालाई त्यही विद्यालयमा भर्ना गरेर उनको अभिभावकत्व ग्रहण गरेकी थिइन्। तर छेरिङको पनि अहिले  अवस्था ठिल्लेको जस्तै छ।

उच्च शिक्षा पढ्ने इच्छा अधुरै रहने लक्षण 

अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन परिवारले नसक्ने भएपछि प्रधानमन्त्री रहँदा ओलीले भर्ना गराएका थिए उनीहरूलाई। ओलीले नै अभिभावकत्व ग्रहण गरेपछि ठिल्ले र छेरिङका परिवार तथा आफन्तले उनीहरूलाई उच्च शिक्षा अध्ययन गराउने भनेर निकै उत्साहित भएका थिए।

तर अब उनीहरूका परिवारमा त्यो चाहना दिवास्वप्न बन्ने सम्भावनाले निराशमा बदलिँदै गएको छ। बुद्ध नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लग्नसिंह सेजुवालले भर्ना गराएपछि अहिलेसम्म ओलीले केही सहयोग नगरेको जानकारी दिए। उनका अनुसार भर्ना गरेपछि २०७५ भदौमा ठिल्ले र छेरिङका लागि १० हजारका दरले २ जनालाई २० हजार रूपैयाँ उपलब्ध गराएका थिए।

‘त्यसपछि केही सहयोग प्राप्त भएको रेकर्ड छैन,’ उनले भने, ‘एउटा निजी संस्थाले कहिलेकाहीँ सहयोग गर्छ तर त्यो पनि नियमित छैन।’ उनका अनुसार अहिलेसम्म विद्यालयले सकेसम्म निःशुल्क पाठ्यपुस्तक, कपी उपलब्ध गराएको छ। तर दुवैजनाको आर्थिक अवस्था भने दयनीय नै छ।

ठिल्ले कक्षा-५ मा अध्ययन गर्छिन् भने छिरिङ कक्षा ६ मा अध्ययन गरिरहेका छन्। जसरी पहिला अभिभावकत्व प्रदान भएको थियो, त्यसैगरि अहिले पनि सहयोग पाएको भए पढाइ खर्चमा सहज हुने उनले बताए।

प्रचण्डले पनि भर्ना गराए, गरेनन् सहयोग

२०७५ वैशाखमै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पनि पश्चिम चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका ९ वर्षीय अरूण मुसहर र साढे ४ वर्षीय पत्रुस माझीलाई स्थानीय साझापुर माध्यमिक विद्यालयमा भर्ना गराएर अभिभावकत्व प्रदान गरेका थिए।

तर अहिले दुवैलाई पढ्न त परै जाओस् आफ्नो भोको पेट भर्नै हम्मेहम्मे परेको छ। अहिले अरूण १३ र पत्रुस ८ वर्षका भए। साझापुर माविका प्रधानाध्यापक डिल्लीराम सोडारीका अनुसार उनीहरूलाई भर्ना गरेपछि फर्केर केही सोधपुछसमेत गरेका छैनन् प्रचण्डले।

भर्ना गराएपछि प्रचण्डले कुनै आर्थिक सहयोग पनि गरेका छैनन्। अहिले पत्रुस कक्षा ३ मा अध्ययन गरिरहेका छन् भने अरुण कक्षा ५ मा अध्ययन गर्दै आएका छन्। ‘हामीले सक्ने जति सबै निःशुल्क गरेका छौँ तर आर्थिक अवस्थाले पनि होला पढाइमा एकदमै कमजोर छन्,’ सोडारीले थाहाखबरसँग भने।

उनका अनुसार पत्रुससँग जग्गा जमिन छ। उनलाई उनकी हजुरआमाले हेरचाह गरिरहेकी छन्। तर अरुण सुकुम्बासी हुन्। ‘उनीसँग जग्गा जमिन केही छैन, त्यसैले सुकुम्बासी बस्तीमा उनी बस्छन्। सरकारले भर्ना गरेरमात्र नभई आर्थिक सहयोग गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिएको भए यति बिजोक हुँदैनथ्यो,’ प्रधानाध्यापक सोडारी भन्छन्। 

केही समयका लागि चर्चामा आउन नेताहरूले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने तर पछि उनीहरूबारे कुनै चासो नदिने गरेपछि ती बालबालिका बिचल्लीमा पर्ने गरेको उनको भनाइ छ।

त्यस्तै, २०७५ वैशाख ३ गते नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सरकारको भर्ना अभियानलाई साथ दिँदै बूढानीलकण्ठ नगरपालिका–१३ की स्थानीय रशिका श्रेष्ठलाई भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका थिए।

थापाले रशिकालाई बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलस्थित जनउद्धार विद्यालयमा भर्ना गरेका थिए। तर त्यसपछि उनलाई अहिलेसम्म थापाले उनको अवस्थाबारे हेर्न र बुझ्ने काम केही नगरेको विद्यालय प्रशासनले जनाएको छ। 

विद्यालय जान छाडे विद्यार्थी 

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पनि २०७५ साल वैशाख ५ गते मकवानपुरका दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गरे। पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको आर्थिक अवस्था कमजोर रहेका तामाङ र सीमान्तकृत चेपाङका छोराछोरीको अभिभावकत्व ग्रहण गर्दै पौडेलले विद्यालय भर्ना गराएका थिए। 

उनले मनहरी गाउँपालिका–६ का ६ वर्षीय सञ्जित ब्लोन र जेसिका प्रजालाई सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा १ मा भर्ना गराएका थिए। त्यसवेला पौडेलले ती बालबालिका आफ्ना छोराछोरी रहेको भन्दै विद्यालय पोशाक, जुत्ता, स्कुल ब्याग, पुस्तकलगायत स्टेशनरी सामाग्री पनि खरिद गरेर दिएका थिए।

तर विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर मोक्तानका अनुसार पूर्वमुख्यमन्त्री पौडेलले ती बालबालिकालाई विद्यालय भर्ना गराए पश्चात १/२ पटक मात्रै थप अध्ययन सामग्री उपलब्ध गराए। त्यसपछि पौडेलले विद्यार्थी बालबालिकाको बारेमा बुझेका छैनन्। पछिल्लो समय उनीहरू दुवैजना विद्यालय नै आउन छाडेका छन्।

‘प्रचण्डलाई जानकारी गराउँछु’

विद्यार्थीहरूको अभिभावकत्व प्रदान गर्ने तर त्यसपछि विद्यार्थी बालबालिकाहरूको चासो नै राख्दैनन् उच्चपदस्थ व्यक्तिहरू। जसकारण उनीहरूले अभिभावकत्व लिएका बालबालिकाको भविष्य अन्धकारतर्फ धकेलिएको छ।

यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले चितवनको मेघौलीका अरूण र पत्रुसको विषयमा प्रचण्डलाई जानकारी गराउने बताए।

मल्लले उनीहरूको समस्या र नाम टिप्दै भने, ‘मैले सबै विवरण लिएको छु, उहाँलाई म जानकारी गराउँछु।’ चुनिखेलस्थित जनउद्धार विद्यालयमा भर्ना गराएका रशिकाको बारेमा पटक-पटक बुझ्न खोज्दा कांग्रेसका महामन्त्री थापासँग फोन सम्पर्क हुन सकेन। 

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.