|

काठमाडौं : सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको हो।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी निकायहरुले कुटनैतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय भएको पनि बताए।

त्यस्तै सरकारले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्व सामु नेपाललाई चिनाउन निर्णायक योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णयसमेत गरेको छ।

प्रवक्ता कार्कीले नेपाल प्रशासन सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको जानकारी दिए।

यसैगरी, प्रवक्ता कार्कीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचको कार्य अघि बढाउने र कोहलपुर सुर्खेत १३२ केबी प्रशारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताए।

यस्तै सरकारले राष्ट्रिय समाचार समिति राससको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्ति गर्ने निर्णय गरेको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.