सञ्चालनमा ल्याउन के छ मेयर साहको योजना?

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यकाबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो। योजनाले निकै चर्चा पनि पायो। जनताले २२ घन्टा लोडसेडिङको मार खेपेका वेला फोहोरबाट बिजुली निकाल्ने कुरा निकै चासोको विषय बन्यो।

बिजुली निकाल्ने मेसिन अर्थात् (बायोमिथानेशन)ले लोडसेडिङको समस्या समाधान हुने र उपत्यकाको फोहोर पनि व्यवस्थापन हुने दाबी महानगरको थियो। उपत्यकामा निस्कने फोहोर संकलन गरी महानगरपालिका अन्तर्गत वातावरण व्यवस्थापन विभाग टेकुमा राख्ने र त्यही फोहोरबाट बिजुली निकाल्ने भन्दै उक्त मेसिन ०७३ सालमा सञ्चालनमा ल्याइयो। 

दैनिक ३ मेट्रिक टन जैविक फोहोरलाई मिथानेशन गर्न सक्ने भनिएको मेसिनले दैनिक १४ किलोवाट बिजुली, ३ सय केजी कम्पोष्ट मल, ९६ केजी ग्यास, १३ हजार लिटर प्रशोधित पानी उत्पादन गर्ने दाबी महानगरले गरेको थियो। उत्पादन हुने १४ किलोवाट बिजुली महानगरको कार्यालय प्रयोजन र स्थानीय बासिन्दालाई दिने र टेकुका सडकमा बाल्ने योजनासमेत महानगरले दाबी गरेको थियो।

काठमाडौंमा दैनिक निस्कने फोहोरबाट बिजुली निकालेर बाँड्ने योजना सुनाएको ६ वर्ष  बित्यो। न त उपत्यकाको फोहोरको समस्या समाधान भयो न त फोहोरबाट बिजुली नै बल्यो।


प्रयोगविहीन महँगो मेसिन

काठमाडौँ महानगरपालिकाको २० प्रतिशत लगानी र युरोपेली युनियनको ८० प्रतिशत साझेदारीमा १ करोड ८६ लाख रुपैयाँ उक्त मेसिन खरिदमा खर्च गरेको थियो। काठमाडौंबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गर्न ‘एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवर्द्धन’ परियोजनाअन्तर्गत महानगर अघि बढेको थियो। सो मेसिनले केही समय काम गरेको थियो तर पछि त्यसले काम गर्न छोडेको  महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राईले बताइन्। 
उक्त मेसिनले हालसम्म काम गर्न नसकेको काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले बताइन्। 

टेकुमा राखिएको मिथानेशन मेसिनबाट दैनिक १४ किलोवाट बिजुली उत्पादन गरेपछि अन्य शहरले पनि यसको सिको गर्ने ‘गफ’ महानगरले त्यसवेला ठोकेको थियो। तर काम नहुँदा लामो समयदेखि मेसिन थन्किएको महानगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरमा दैनिक ५ सय टन फोहोरमैला उत्पादन हुने गर्छ। तीमध्ये ३ सय टन फोहोरबाट बिजुली निकालिने महानगरको लक्ष्य थियो तर सो मेसिनले काम गर्न नपाउँदै त्यसको पार्टपुर्जा बिग्रिसकेको छ। विभागका अनुसार पार्टपुर्जा बिग्रिरहने र भारतबाटै मगाइरहनु पर्ने अवस्था रहेको छ। 

योजना बन्यो काम भएन

हाल उक्त मेसिन अहिले पनि टेकुको फोहोर संकलन गर्ने स्थानको एक कुनामा थन्किएको छ। मेसिन खरिद गरेको एक वर्षपछि अर्थात् २०७४ मा काठमाडौँ महानगरपालिकाका नगर प्रमुखमा  विद्यासुन्दर शाक्य आइपुगे। शाक्यको कार्यकालमा पनि उपत्यकामा फोहोरको समस्या नभएको होइन। 

फोहोरले आक्रान्त बनेका महानगरवासीले ‘फोहोर यहाँ विद्यासुन्दर शाक्य अर्थात् मेयरकहाँ’ भनेर फोटो समेत टाँसे। उनको आफ्नो ५ वर्षे कार्यकालमा उपत्यकाको फाहोर व्यवस्थापन गर्ने भन्दै मीठा मीठा भाषणमै बिताए। मेयरको ५ वर्ष कार्यकालमा पनि त्यसले पूर्णता पाउन सकेन। उल्टै फोहोरको समस्या बल्झियो। 

बिजुली निकाल्ने मेसिन चलाउन सकिन्छ :  मेयर साह 

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्। गत बुधबार एक कार्यक्रममा उक्त कुरा बताएका थिए। 

साह निर्वाचनको मत परिणाम आउनु अगाडिदेखि नै उपत्यकाको फोहोर व्यवस्थापनका लागि फोहोरको अन्तिम विसर्जन केन्द्र सिसडोलमा पुगेका थिए। उपत्यकाको फोहोर व्यवस्थापन गर्नका लागि  विभिन्न चरणमा काम गर्दै आएका छन्। उपत्यकाको फोहोरलाई दीर्घकालीन व्यवस्थापनका लागि काम गर्ने बताएका थिए।

टेकुमा रहेको विद्युत् उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई–तीन लाख खर्चिएर विद्युत् उत्पादन गर्न सकिने उनले बताएका थिए।

मेयर साहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन्। कुहिने फोहोर छुट्याएर मल बनाउनलाई सहुलियत दिने उल्लेख गरिएको छ। प्रविधिमा आधारित फोहोर मैला व्यवस्थापन प्रणालीको प्रयोग गरी दिगो व्यवस्थापन गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। जसका लागि आवश्यक अध्ययन अनुसन्धान गरी प्रविधिको पहिचान  गरी सञ्चालन गर्ने  उल्लेख गरिएको छ।

हाल उक्त मेसिन मर्मत गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान गरेको छ। केन्द्रले अध्ययन गरी तयार पारेको प्रतिवेदनको आधारमा  महानगरले सञ्चालन गर्ने या नयाँ खरिद गर्ने भन्ने निर्णय हुने राईको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.