|

काठमाडौं : रुपचन्द्र विष्टको विसं २०३८ सालको जुन घोषणापत्र छ, त्यो पत्र आफैंले ठूलो महत्त्व राख्दैन तर पत्र पछाडिको जिन्दगीले सबैभन्दा बढी महत्त्व राख्छ। किनभने यहाँ श्रमिकका पक्षमा लेख्ने धेरै पार्टी भए तर पार्टीहरूको जिन्दगी उनीहरूले लेखेका यस्ता घोषणापत्रभन्दा धेरै पुड्को रहेको छ।

पार्टीहरूले लेख्ने एउटा कुरा, गर्ने अर्को कुरा। विष्टको महानता के हो भने उहाँले लेखेको पर्चाभन्दा उहाँले बाँचेको जिन्दगी धेरै अग्लो थियो। त्यो अग्लो जीवन उहाँले आफ्नो जिन्दगीभरि बाँचेर जानुभयो, त्यही नै उहाँको महानता हो।

उहाँको पत्रमा पनि महत्त्वपूर्ण कुरा छन्। त्यसको पनि म चर्चा गर्दैछु। तर पत्रमा लेखिएको जिन्दगी, लेखिएको बिन्दुबाट जिन्दगीभर त्यस्तै जिन्दगी बाँच्नु भनेको सानो कुरा होइन। धेरै गाह्रो कुरा हो‚ हो उहाँले त्यही जिन्दगी बाँच्नुभयो। 

उहाँले ०३८ सालमा लेखेको त्यो पत्र र अहिले हामीले बाँचिरहेको ०७९ सालको नेपालमा कुनै फरक छैन। नेपाल अहिले पनि ५१ वर्ष पछाडि नै रहेको छ‚ अगाडि बढ्न सकेको छैन। त्यो पत्र लेखेको वेला जहाँ नेपाल थियो, त्यहीँ छ आज पनि। 

त्यो पत्र आज झन बढी सान्दर्भिक रहेको छ। पत्रको त्यतिखेरको पृष्ठभूमि नहेरिकन पत्रमा लेखिएका स-साना कुराले खासै अर्थ राख्दैन।

त्यस वेलाको पृष्ठभूमि, राजाको शासन, चर्को ढंगले चलिरहेको राजनीतिक स्थिति, ओखलढुङ्गा काण्ड भएको स्थिति, धेरै मान्छे मारेको स्थिति, पूर्वमा सुखानीलगायत काण्डमा धेरै मान्छे मरेको स्थिति र ३६ सालको जनआन्दोलन भर्खर सकेर जनमत संग्रह भएको स्थिति थियो- जतिखेर उहाँले यो पत्र लेख्नुभयो। 

त्यस वेला सबै दलले चुनाव बहिष्कार गरेका थिए। उहाँले चुनाव लड्नु भएको थियो। सिंगो नेपालका विद्रोहीहरूको प्रतिनिधित्व गर्ने कोही व्यक्ति थियो भने त्यो रुपचन्द्र विष्ट मात्र हुनुहुन्थ्यो।

त्यो पृष्ठभूमि हेरेर पत्रको व्याख्या विश्लेषण गरियो भने मात्र त्यो पत्र बढी सान्दर्भिक भएर आउँछ। त्यो समयमा उहाँले  पत्रको शुरुवातमा कविता लेख्नुभएको छ: 

'थाहासँग प्रेम गर। 

थाहा तिमीसँग आउँदछ।' 

त्यसलगत्तै पछाडि ‘सर्भे’ भन्ने शीर्षकमा एकदमै दार्शनिक पंक्ति छ। त्यो पंक्ति के छ भने- 

'तिमी र म नमिसिइकन वस्तुलाई जस्तो छ त्यस्तो हेर, त्यो चाहिँ सर्भे हो।' 

यो पंक्ति अहिले हेर्दाखेरि एकदमै साधारण लाग्ला धेरैलाई तर यो ‘सर्भे’ भन्ने शब्द मात्र होइन‚ यो त वास्तवमा एउटा दार्शनिक स्टेटमेन्ट हो। त्यो भनेको के हो भने आफ्नो अंहकार नमिसाइकन वस्तुलाई जस्तो छ, त्यस्तै हेर्नुको नाम सर्भे हो। वास्तवमा यो बुद्ध दर्शनबाट प्रभावित पंक्ति हो।

पत्रमा सर्भेको कुरा रै’छ के होला यस्तो भन्ने पनि धेरैलाई लाग्न सक्छ, तर यो पंक्तिचाहिँ त्यो पत्रको गुदी हो। 

नेपालको जुन यथार्थ छ, त्यो यथार्थलाई जस्ताको तस्तै हेर, त्यो सत्यको दर्शन त्यहाँबाट हुन्छ। परिवर्तन त्यहीँबाट शुरु हुन्छ भन्ने अर्थ त्यस उक्तिको हो। त्यो उक्ति वा पंक्ति भएको त्यो पत्र दार्शनिक उचाइको पत्र हो।

अर्को एउटा यस्तै पंक्ति छ, किताबको पाना नम्बर १५ मा। 

'छ को ज्ञान सर्भे हो।'

त्यो ‘छ’ भन्या के होला भन्ने पनि लाग्न सक्छ। दर्शनमा हाम्रो चेतनाभन्दा पर जे छ‚ त्यसलाई ‘छ’ भनिन्छ। जुन कुरा हाम्रो ज्ञानभन्दा बाहिर छ, हाम्रो चेतनाभन्दा बाहिर जुन कुरा छ- त्यसलाई जस्ताको तस्तै थाहा पाउनु नै ‘सर्भे’ हो।

हो‚ उहाँले त्यहाँबाट शुरु गर्नुभएको छ।  म वा हामी नमिसिँदा यो जगत/विश्व जे जस्तो छ, त्यो त्यस्तै जान्नु वा चिन्नु नै ‘सर्भे’ हो।

यो भौतिकवादी चिन्तनको एउटा ज्वलन्त उदाहरण हो। पत्रको ‘कन्टेन्ट’को गहिराइमा जाने हो भने त्यस वेला पञ्चायती व्यवस्था थियो, तानाशाही अवस्था थियो‚ त्यस्तोमा उहाँ के भन्नुहुन्छ भने ‘विद्रोह जगाइ राख्नुपर्दछ।’

यसको अर्थ हो- मानिसको स्वच्छ र सबैभन्दा विकसित रुप भनेको विद्रोही जीवन हो। विद्रोह आफूबाटै र आफैँभित्रबाट थाल्नुपर्दछ। नियतमा विद्रोह, सम्बन्धमा विद्रोह, जीवन जगतमा विद्रोह गर्नुपर्छ भन्ने हो, गरौं। निरंकुश शासनमा यसो भन्नु भनेको गुढ अर्थ राजतन्त्रविरुद्ध पनि विद्रोह गर भनेको हो।

त्यसवेला त्यसो भन्ने साहस कुनै व्यक्तिमा हुनु धेरै नै महत्त्वपूर्ण कुरा हो। साँचो अर्थमा यसलाई नै क्रान्तिकारी कुरा भनिन्छ। 

उहाँले विद्रोह गरौं मात्र भन्नुभएन। आफूले आफ्नो पूरै जीवनलाई विद्रोही जीवन नै बाँचेर जानु भयो। अहिले क्रान्ति गरौं भनेर सबै नेताले भनिरहेका हुन्छन् तर आफूलाई बाहेक वा आफूलाई त्यसबाट अलग गरेर। आफूलाई नबदलिएर‚ आफ्नो परिवारलाई पनि नबदलिएर संसारलाई बदल्ने कुरालाई मात्र अहिलेका नेताले क्रान्ति भनिरहनु भएको छ। अहिलेका क्रान्तिकारी नेता र उहाँमा भिन्नता के हो भने उहाँले क्रान्ति पहिले आफैँले बोक्नु भयो। 

पत्रमा अर्को उक्ति छ- 'सरकारको पनि सरकार भनेको जनता हो।' यो उक्ति अहिले पनि उत्तिकै सान्दर्भिक छ‚ जति यो पत्र लेख्ने वेलामा थियो। यसको अर्थ- श्रमिक जनताको प्रजातन्त्र हुनुपर्‍यो भनेको हो। समाजवाद भनेको त्यही होइन‚ यो कुराको अडानमा उहाँ सधैँ रहिरहनुभयो। 

उहाँका हरेक कुरा दार्शनिक रहेकाले कुन बढी महत्त्वपूर्ण र कुन थोरै भन्ने समस्या उत्पन्न हुन्छ। बालबच्चाबाट विद्रोह थाल्ने किनभने बच्चाहरू स्वभावैले विद्रोही हुन्छन्। श्रमिकबाट क्रान्तिकारी परिवर्तन थाल्ने, बुद्धिजीवीबाट स्वतन्त्रताको परिवर्तन थाल्ने र नारीबाट सामाजिक परिवर्तन थाल्ने भन्नुभएको छ उहाँले। त्यो परिवर्तनबाट आएको शासन व्यवस्था आवश्यक छ भन्ने उहाँको आशय हो। 

त्यस वेला उहाँले सन् १९५० को सन्धि खारेज, गोर्खा भर्ती खारेज, सार्वजनिक शिक्षा हुनुपर्छ भन्नु भएको थियो। उहाँको त्यो पत्र क्रान्तिकारी पत्र हो। एउटा क्रान्तिकारीले कस्तो घोषणापत्र लेख्छ भनेर भन्यो भने यस्तो लेख्नुपर्छ भनेर यो पत्र एउटा उदाहरण हो। उहाँले पत्रको अन्त्यमा लेख्नुभएको छ, 'यो समाजमा जो जति शक्तिमा छ। समाज सप्रनु बिग्रनुमा त्यो त्यति नै धेरै जिम्मेवार छ। यो भनेको अर्थ त्यस वेला देशको दुर्गतिमा सबैभन्दा बढी जिम्मेवार राजा छन्।'

तर यति भनिरहँदा विष्टलाई हामीले भगवान बनाउने होइन‚ उहाँलाई मानव हुन दिनुपर्छ‚ मानवकै रुपमा लिनुपर्छ। उहाँका पनि कमजोरी रहेका छन्।  

एउटा कमजोरी भनि हालौं: क्रान्तिकारी यान्त्रिक हुन्छन्, विद्रोही खुला हुन्छन् भनेर लेख्नुभएको छ- यो मिल्दो कुरा होइन। यस्ता कमजोरी उहाँको घोषणापत्रमा रहेका छन्। यसबारे अरु समयमा पनि बोलौंला।

(​थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको २३ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा विसं २०३८ सालको जनमुखी घोषणापत्रबारे अध्येता/लेखक श्याम श्रेष्ठले राखेको विचार)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.