|
तुइन चढेर भेरी नदी पार गर्दै बालिका। तुइन विस्थापन गर्ने निर्णयमा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री केपी ‌ओली (इन्सेटमा)

रुकुम (पूर्व) : सरकारले २०७२ सालमा तुइन विस्थापन कार्यक्रम ल्याउँदा रुकुम (पश्चिम)का खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्दैन भन्ने लागेको थियो।

सरकारले तुइन हटाउने घोषणा गरेको सात वर्षसम्म पनि आठबीसकोट नगरपालिका–१४ निवासी नेपालीलाई घर नजिकको तुइनबाट भेरी तर्नैपर्ने बाध्यता छ। अझै विकट बस्तीका स्थानीय जोखिम मोलेर तुइनबाटै नदी वारपार गर्न बाध्य छन् ।

त्यतिखेर जीवन निकै सहज हुने भयो भन्ने उनलाई लागेको थियो। विगतमा आफूले चिनेका व्यक्तिको ज्यान गएको थाहा पाएका उनलाई तुइन विस्थापनले साँच्चिकै अपार आनन्द मिलेको थियो।

जाजरकोटका ज्ञानबहादुर घर्तीलाई पनि त्यो वेला दुई वर्षमै तुइन हटेर झोलुङ्गे पुलबाट आउजाउ गर्ने रहर जागेको थियो। अहिलेसम्म पनि पायक पर्ने ठाउँमा झोलुङ्गे पुल नबन्दा तुइनकै भरमा भेरी तर्नुपरेको छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए। ओलीले देशभर रहेका ३८५ वटा तुइन पुलमा विस्थापित गर्ने निर्णयमा हस्ताक्षर पनि गरेका थिए।

घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन भइसक्नुपर्थ्यो तर व्यवहारमा त्यो दिन अहिलेसम्म आएन। प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा पनि गरेका थिए। पछिसम्म पनि ओलीले देशबाटै आफूले तुइन विस्थापन गरेको भनेर भाषण समेत गर्न भ्याए। वास्तविकता भने फरक थियो।

जाजरकोटको नलगाड नगरपालिका–१ ठूला बगरदेखि रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका–१४ छोटेबगर जोड्न तुइनकै सहारा लिनुपर्ने बाध्यता स्थानीय बासिन्दाको छ। यहाँका करिब तीन सय घरधुरीका जनताको तुइन छाडेर झोलुङ्गे पुल तर्ने रहर अझै पूरा हुनसकेको छैन।

ज्ञानबहादुरले पढ्न जाने आउने विद्यार्थी, किनमेलको लागि आउजाउ गर्ने सर्वसाधारण सबैले यही पुल तर्नैपर्ने बाध्यता रहेको बताए। सरकारले ल्याएको कार्यक्रम सुनेको तर आफूहरूले उपभोग गर्न नपाएको उनको गुनासो छ।

आठबीसकोट नगरपालिका–१४ का वडाध्यक्ष हुकुमबहादुर पुनले तुइनकै सहारामा त्यहाँका स्थानीय बासिन्दा आउजाउ गरिरहेको बताए। १८ वर्ष पहिला स्थानीयले बनाएको तुइनबाटै विद्यार्थी र सर्वसाधारणले आउजाउ गर्नु परिरहेको उनले जानकारी दिए।

डोरी चुँडियो भने सामान डुब्यो मान्छेको ज्यान पनि गयो। फलामे तार खोलावारिपारि लगाइएको हुन्छ। फलामे तारमाथि रस्सी अर्थात् डोरीको प्रयोग गरिएको हुन्छ। कैयौँले यही तुइनमा अड्क्याएको डोरी चुँडिएर ज्यान गुमाउँछन्।

‘बजार आउजाउ गर्ने, विद्यालय पढ्न जाने, उपचारका लागि अस्पताल जाने, मेलापात जाने सबैले तुइनबाटै आउजाउ गर्छन्’, वडाध्यक्ष पुनले भने, ‘१८ वर्ष पुरानो तुइन झन् जोखिमपूर्ण अवस्थामा पुगेको छ।’

सरकारले ‘सार्वजनिक तुइन प्रतिस्थापन कार्यविधि, २०७३’ समेत ल्यायो। तुइन हटाउने काम भने पूरा हुन सकेन।

केपी ओली घोषणा गरेको तुइन विस्थापन कार्यक्रम उनीपछि प्रधानमन्त्री बनेका प्रचण्डले पनि पूरा गरेनन्। प्रचण्डपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पनि यो काम पूरा गर्न सकेनन्। पुनः ओली दोस्रोपटक प्रधानमन्त्री बने र फेरि देउवा प्रधानमन्त्री बने। यी कुनै पनि सरकारले तुइन विस्थापन गर्न सकेनन्। बरु यो बीचमा तुइनकै कारण जयसिंह धामीले महाकालीमा खसेर ज्यान गुमाए।       

जाजरकोटको ठूलाबगर र रुकुम (पश्चिम)को छोटेबगर आउजाउ गर्ने यहाँ करिब तीन सय घरधुरी छन्। दैनिक एक सय जति विद्यार्थी आउजाउ गर्छन्। यो ठाउँभन्दा १ किलोमिटर टाढा झोलुङ्गे पुल रहेको तर अपायक भएको वडाध्यक्ष पुनको भनाइ रहेको छ। स्थानीय सरकार आएपछि तुइनको समस्या समाधान हुने आशा बोकेका स्थानीय बासिन्दा निराश भएका छन्।

झोलुङ्गे पुल अत्यावश्यक छ भनेर स्थानीय सरकारलाई प्रस्ताव पठाउँदा आश्वासन मात्रै पाउने गरेको बताइएको छ। झोलुङ्गे पुलसँगै यस क्षेत्रमा सडक, स्वास्थ्य र विद्यालयको समेत आवश्यकता खड्किएको छ।
 

सार्वजनिक तुइन प्रतिस्थापन कार्यविधि, २०७३’ 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.