|

सुर्खेत : नेपाल विद्युत् प्राधिकरणले काम गर्नका लागि ठेक्का लगाएर काम थालेको तीन वर्षपछि निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केबी प्रसारण लाइनका लागि संघीय सरकारले बाटो खोलिदिएको छ।

प्राधिकरणलाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएसँगै काम गर्ने बाटो खुलेको हो। आयोजना निर्माणस्थल निकुञ्ज भएकाले काम गर्न समस्या भएको थियो। राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएपछि अब कामले तिव्रता पाउने अपेक्षा लिइएको छ। २०७९ असार ६ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो।

एक वर्ष देखि ठेक्का लगाएको काम निकुञ्जका कारण प्रभावकारी हुन नसक्दा समस्या भएको थियो। २०७६ भदौ २४ मा कोहलपुर–सुर्खेतका लागि  १३२ केबी प्रशारण लाइन निर्माण गर्न बोलपत्र आह्वान गरिएको थियो।  २४ महिनाभित्र निर्माण कार्य पुरा गर्ने उद्देश्यका साथ निर्माण थालिएको आयोजना अझै सम्मा काम हुन सकेको थिएन। करिब तीन वर्षपछि संघीय सरकारले प्रसारण लाइनको बाटो खोलिदिएको छ।

सुर्खेतमा अहिले सामान्य पोलमार्फत् पुर्‍याइएको विद्युत प्रसारण लाइनका कारण उपभोक्ताले वेलावेला सास्ती खेप्ने गरेका छन्। ठूलो हावा चल्दा, पानी पर्दा विभिन्न समयमा विद्युत अवरूद्ध हुने गरेको छ। ठूला टावरसहित अब बन्ने प्रसारण लाइनले उपभोक्तालाई हुने सास्ती हट्ने विद्युत प्राधिकरणको बुझाइ छ।

२०७६  भदौ २४ आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएपछि क्षमता विस्तार कार्य अघि बढाएको थियो। नेपाल विद्युत् प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले आयोजनाले पार्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो।

सुर्खेतसम्म करिब ५१ किलोमिटर प्रसारण लाइन डबल सर्किटको बन्ने  आयोजनाको कुल लम्बाइ करिब ५१.४६२ किलोमिटर रहेको  छ। प्रसारण लाइनमा एंगल टावरहरू २६ वटा रहनेछन्। जम्मा १४५ टावर रहने छन्। सुर्खेतमा रहने सबस्टेसनको क्षेत्रफल ३.७२४९ हेक्टर रहने जनाइएको छ।  आयोजना क्षेत्रको स्थलगत सर्वेक्षण अनुसार प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा सामुदायिक र सरकारी वन पर्छन्।

आयोजनाबाट बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी नगरपालिका र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख  छ। २०४५ सालमा विस्तार भएको कोहलपुर–सुर्खेत–दैलेख विद्युत प्रसारण लाइन ३३ वर्षपछि पूर्णरूपमा विस्तार बाटो खुलेको थियो। कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनको कुल बजेट एक अर्ब ८० करोड मध्य भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्कामार्फत ७० करोडमा जिम्मा लिएको हो। निर्माण व्यवसायीले सो रकमबाट टावर निर्माण र तार तान्ने कार्यमा मात्रै खर्च गर्नेछ भने मुआब्जाको रकम भने आयोजनाले छुट्टै व्यहोर्नेछ ।

कोहलपुर–सुर्खेत १२३ केभी विद्युत प्रसारण लाइनको विवाद नभएका क्षेत्रमा हालसम्म ४० टावरका लागि फाउण्डेसन निर्माण गरिसकिएको छ। सुर्खेत र बाँके क्षेत्रमा फाउण्डेसन सम्पन्न भएसँगै गाभरमा देखिएको समस्या समाधानमा लागिरहेको आयोजना प्रमुख रवि चौधरी बताउँछन्।

‘वन क्षेत्रको समस्या समाधान नहुँदा अलमल जस्तै भएको थियो', चौधरीले भने, ‘सरकारले वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएसँगै गाभरको समस्या समाधान गरेर प्रसारण लाइन विस्तारलाई तिव्रता दिन्छौँ।’ चौधरीका अनुसार अबको करिब १५ महिना अर्थात् आगामी वर्षको असोजमा सुब्बाकुना सब–स्टेसनमा विद्युत चार्ज गर्ने लक्ष्य लिइएको छ।

‘अन्यत्र विवाद छैन, वनको समस्या समाधान भयो। गाभरको पनि समस्या समाधान गर्छौँ,’ चौधरीले भने, ‘विवाद नभएका क्षेत्रमा काम जारी रहेकाले सप्लाइका सामग्री निर्माण कम्पनीले भारतबाट ल्याउन लागेकाले करिब अर्को असोजसम्म सुर्खेतमा विद्युत् पुर्‍याउछौँ।’ यो प्रसारण लाइन निर्माणसँगै जाजरकोट प्रसारण लाइन लग्न बाटो खुल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.