|

काठमाडौं : मेरो परिवार ५० सालतिर हेटौंडा बसाइँ सरे पनि म भने ६० सालतिर मात्रै पुगें।

रूपचन्द्र विष्टलाई मैले ढिला गरेर चिनेको भए पनि मेरो उपन्यास उर्गेनको घोडामा एउटा पात्रको रूपमा उहाँलाई राखेको छु। उपन्यासको मूल पात्र म्हेन्दोलाई विकास गर्ने क्रममा रुदानेको एपिसोड आउँछ। उपन्यासमा उहाँका थुप्रै प्रसङ्ग छन्।

मैले अघि भनेँ, ‘म ६० सालमा हेटौडा पुगेको थिएँ। रामनारायण बिडारीजी र म नागरिक सरोकार समितिमा थियौं।’ 

जनयुद्ध चलिरहेको थियो। देशमा संकटकाल थियो। हामी ठाउँठाउँमा गएर संविधानसभाबारे बहस चलाउँथ्यौं। त्यसै क्रममा मैले रुदानेका बारेमा धेरै कुरा सुनेको हुँ। मकवानपुरका जुन ठाउँमा गए पनि अधिकांश मानिससँग रुदानेसँगको संस्मरण रहेछ। हरेकबाट केही न केही उहाँको बारेमा सुन्न पाइने।

त्यसकारण विष्टलाई नभेटे पनि उहाँसँग एकप्रकारको दोस्ती जस्तो भयो।

अब आजको विषयतर्फ लागौं।

नेपालमा विभिन्न कालखण्डमा विभिन्न राजनीतिक एक्सपेरिमेन्ट भएको छ। मार्क्सवादी आन्दोलन, लोकतन्त्रका लागि आन्दोलन, मधेश विद्रोह भए। हामीलाई मधेश विद्रोहको पछिल्ला घटनाक्रमबारे मात्रै थाहा छ तर २००८ सालदेखि नै मधेसी चेतना विकास हुने क्रम चल्दै आएको छ। त्यसमा विभिन्न व्यक्तिले आफ्नो श्रम पसिना लगाएका छन्। किताबदेखि पर्चा लेख्ने, संगठित भएर आन्दोलन गर्न खोजेका छन्।

यस किसिमका विद्रोह धेरै ठाउँमा भएका छन्। ती एक्सपेरिमेन्टका आ-आफ्नै तर्क छन्।

पछिल्लो समयमा सबैभन्दा ठूलो विद्रोह त माओवादीले चलाएको सशस्त्र युद्धलाई मान्न सकिन्छ। माओवादीले चलाएको सशस्त्र युद्ध पृथ्वीनारायण शाहको पालायताकै ठूलो युद्ध थियो। त्यो पनि हामीले देख्यौं‚ भोग्यौं। त्यसको पनि आफ्नै वैचारिक पृष्ठभूमि छ। वैचारिकता हुँदैनथ्यो भने माओवादीमा मान्छेहरू किन संलग्न हुन्थे? माओवादीमा मात्र होइन, अन्य पार्टीको पनि वैचारिक पृष्ठभूमि रहेको छ। त्यसैले नै त्यसमा मान्छेहरू संलग्न छन्। 

राजनीतिक पार्टीमा पहिले पनि वैचारिक पृष्ठभूमि थियो, अहिले पनि छ।

रूपचन्द्र विष्टको पनि एउटा वैचारिक पृष्ठभूमि थियो। त्यो उहाँका घोषणापत्रहरूबाट बुझ्न सकिन्छ। विद्रोहबाट एक्सनमा कसरी जाने भन्ने कुरालाई उहाँले वैचारिक रूपले स्थापित गर्न खोज्नुभएको देखिन्छ। क्रान्तिभन्दा विद्रोहलाई जोड दिन खोजेको उहाँको पोजिसन छ। उहाँको डकुमेन्टहरूमा त्यो देखिन्छ। 

सोभियत संघको क्रान्ति वा अर्को त्यस्तै प्रकारको क्रान्तिले पनि अन्तत: जनतामाथि शासन नै गर्ने हो भन्ने बुझाइ उहाँमा थियो कि भन्ने बुझ्छु म। त्यसैले उहाँले ग्रासरुटको विद्रोहलाई महत्त्व दिनुभएको देखिन्छ। त्यो भनेको महिलाले विद्रोहको एउटा मोर्चा सम्हाल्नुपर्‍यो‚ युवाहरूले आफ्नो मोर्चा सम्हाल्नुपर्‍यो वा श्रमिकले आफ्नो मोर्चा सम्हाल्नुपर्‍यो। थाहाको खास कुरा चाहिँ समाजमा जुन असमानता, विभेद वा अन्याय छ, त्योसँग जुध्न आ-आफ्नो ठाउँबाट सबैले पहल लिनुपर्‍यो भन्ने नै हो भन्ने अर्थमा मैले बुझेको छु।

दार्शनिक रूपमा उहाँका कुरा धेरै प्रष्टसँग व्याख्या गरिएको छैन। दार्शनिक चिन्तन इतिहासमा उहाँको पोजिसन कहाँनेर हो भन्ने कुरा छुट्याउन गाह्रो छ। उहाँका विचार भौतिकवादी खेमा वा आदर्शवादी खेमा कहाँनेर पर्छ वा पछिल्लो समय दशथरिका खेमा छन्, उहाँको पोजिसन ठ्याक्कै कहाँनेर पर्छ भनेर निधो गर्नपर्‍यो। के भन्न सकिन्छ भने समाजमा मान्छेले काम गरेर मात्रै परिवर्तन हुन्छ, भगवानले आएर परिवर्तन गरिदिँदैन भन्नेमा उहाँ प्रष्ट हुनुहुन्छ।  थाहा पाऔं, समाजमा भइरहेका अन्याय अत्याचारविरुद्ध एक्लाएक्लै र सामूहिक रूपमा पनि लडौं, थाहाको विस्तार गरौं भन्ने उहाँको कुरा छ।

मान्छेले नै समाज अगाडि लैजाने सूत्रहरू पहिल्याउनुपर्छ भन्ने कुरामा उहाँलाई प्रष्ट देख्छु म। उहाँले त्यसैको अभ्यास गर्नुभयो।

अन्त्यमा एक प्रकारको ट्रयाजिक खालको मृत्युमा उहाँ पुग्नुभयो।  त्यसलाई अर्को प्रकारले हेर्दा महान् थियो भन्न पनि सक्नुहुन्छ। उहाँले विद्रोह गरेको हो भनेर पनि भन्न सकिन्छ। 

के कुरा पक्का हो भने उहाँको राजनीतिक अभियान २०४८ पछि लगभग पराजित भयो। पराजित किन भयो त? केही मान्छेले षड्‌यन्त्र गरेर पराजित गरे भन्ने एउटा थ्योरी हुन सक्छ। केही मान्छेले उहाँको मुद्दा, एजेन्डा, सबै कुरा बिगारिदिए, उहाँको चरित्रहत्या गरे। त्यो पनि एउटा यथार्थ हो। 

त्यतिखेर नेकपा एमालेका सचिव भएर काम गर्नुभएका एकजना हुनुहुन्छ चितवनमा, सूर्य सर। उहाँको किताब विमोचनमा म पनि चितवन गएको थिएँ वक्ताका रूपमा। उहाँको किताबमा विस्तारमा लेखिएको छ। कसरी उहाँ आफैँ पनि रुदानेको चरित्रहत्यामा संलग्न हुनुभयो एउटा पार्टी नेताका रूपमा, त्यो सबै कुरा लेख्नुभएको छ। गलत काम गरियो भनेर किताबमै माफी पनि माग्नुभएको छ।

मैले अघि पनि भनेँ, ‘नेपालको इतिहासमा विभिन्न राजनीतिक एक्सपेरिमेन्ट भएका छन्। कोसिस भएका छन्। धेरै पर पुग्नैपर्दैन हामी आफैँले त्यस्ता एक्सपेरिमेन्ट देखेका छौं। माओवादीकै जनयुद्ध हेर्नुस् न ! मान्छे ज्यान दिन तयार भएर हाम फालेको छ। विचारले  निर्माण गर्न सक्ने स्पेलले मान्छे कहाँसम्म जान सक्दोरहेछ त ! त्यसको हद भने मान्छेले आफ्नो विचार निम्ति ज्यानै अर्पण गर्नसम्म सक्ने हो। त्यो हदसम्म त भएकै छ। हिजोअस्ति पनि भएको छ, मधेश आन्दोलनमा पनि भएको छ, पञ्चायतकालमा पनि भएकै छ। त्योभन्दा अघि जानुहुन्छ भने पनि भएकै छ।

त्यति धैरै स्पेलहरू हाम्रो समाजमा विचारले निर्माण गरेका छन्, नगरेको होइनन्।

तर, गडबड कहाँ भयो? हामीले चाहेजस्तो समाज किन बनाउन सकेनौँ?  यो प्रश्नको उत्तर खोज्नु आवश्यक छ। कुनै छिटपुट व्यवहारमा यसको उत्तर खोजेर हुँदैन। यो प्रश्न विचारमा खोज्नुपर्छ। हामीले आजसम्म बोकी हिँडेको विचारले हामीलाई ठिक ठाउँमा पुर्‍याउन सकेको छैन। हाम्रो दैनिक व्यवहारको सानोतिनो घटनाका कारणले यो भइरहेको छैन। कुनै न कुनै रूपमा विचारको ठूलो परिघटना हाम्रो दुनियाँमा हुँदै आएको छ र आजसम्म भएका परिघटनामध्ये जेजति हाम्रा सामु उपलब्ध छन्, तिनीहरूले हामीलाई अगाडि बढाउन नसकेको पो हो कि?

यो प्रश्न हामीले रूपचन्द्र विष्ट भएर सोच्दा पनि हुन्छ,कार्ल माक्स भएर सोच्दा पनि हुन्छ, अथवा एउटा आजको अभियन्ताको रूपमा पनि सोच्दा हुन्छ तर सोच्नुपर्ने कुराचाहिँ विचारमा छ भन्ने मलाई लागेको छ। 

विचारको कसमसले मान्छेलाई सक्रिय बनाउने हो।​ विचारले मान्छेलाई एक्टिभिटी दिन्छ। विचारले हामीलाई नयाँ–नयाँ आविष्कार गर्ने माहोल दिन सकेन वा हाम्रो मन र शरीरलाई एक्टिभ गराउन सकेन वा मान्छे–मान्छेबीच सहकार्य गर्ने माहोल दिन सकेन भने मान्छे फेल हुन्छन्। मान्छेहरू इतिहासमा धेरै पटक फेल भएका छन्। फेरि नयाँ काम गरेका छन्। संसार त्यसरी विकसित हुँदै आएको छ। एक्सपेरिमेन्टहरूको बीचबाट आएको छ। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण एक्सपेरिमेन्टचाहिँ विचारको एक्सपेरिमेन्ट हो।

त्यो एक्सपेरिमेन्ट रुदानेले आफ्नो समयमा गर्नुभयो। हामीले रुदानेलाई सम्झने भनेको नयाँ एक्सपेरिमेन्टका लागि तयार हुने हो। सोच्ने हो, विचार गर्ने हो – गडबड भइरहेको छ भने केही त कारण हुन्छ ! ती कारणमध्ये सबैभन्दा खतरनाक कारण के हो जसले स्पेल बनाउन सक्छ? मान्छेलाई मर्नका निम्ति तयार पार्न सक्छ? स्पेल बनाउन सक्ने कुराचाहिँ वैचारिक हुन्छ। सबैभन्दा ठूलो कुरा दार्शनिक खाका हो। हामीसँग भएका दार्शनिक खाकाहरूले हाम्रा गतिविधिलाई सिर्जनात्मक बनाउन सकेका छैनन् भने यसतर्फ सोच्नुपर्ने हुन्छ।

यो नै हामीले रुदानेबाट सिक्नुपर्ने कुरा हो।

(​थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २३ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्येता/लेखक युग पाठकले राखेको विचार)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.