|

बागलुङ : धौलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ। अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ।

बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीले लामो लाइन लाग्नुपर्ने अवस्था रहेको छ। बिरामीको चाप ओपिडीमा मात्रै नभएर इमर्जेन्सी र भर्ना वार्डमासमेत उस्तै चाप रहेको छ।

पछिल्लो समय धौलागिरि अस्पताल निकै सुधारिएको पनि छ। अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा विशेष ध्यान दिइएको छ। तर पर्याप्त संख्यामा चिकित्सक नहुँदा भने बिरामीका समस्या जस्ताको तस्तै छ।

दरबन्दीका डाक्टर नआउँदा करार र छात्रवृत्तिका डाक्टरको भरमा अस्पताल चल्दा बिरामीलाई गुणस्तरीय सेवा दिन असहज भइरहेको छ। जेनतेन अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिएको बताए पनि अस्पतालले दरबन्दीका डाक्टर ल्याउन सकेको छैन।

अस्पतालमा अहिले दैनिक ३०० देखि ४०० बिरामी उपचारका लागि आइरहेका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए। उनले मौसममा आएको परिवर्तनका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै आएको बताए।

उनले छालाको एलर्जी, ज्वरो, झाडापखालालगायत बिरामी थपिएको बताउँदै गत महिनाको तुलनामा बिरामीको सङ्ख्या बढेको पोखरेलले जानकारी दिए। गर्मी याममा भाइरल रोग, सरुवा रोग खानपानबाट पैदा हुने रोग बढी लाग्ने गर्छ।

‘पछिल्लो वर्षमा अस्पतालमा बिरामीको चाप निकै छ, तर अहिले गर्मी लागेपछि बिरामीको सङ्ख्या अझै बढेकाे छ’, डा. पोखरेलले भने, ‘तर अहिले अस्पतालबाट एकै पटक ५ मेडिकल अधिकृतले छोडेर जानुभयो, मेडिकल अधिकृतको निकै महत्त्व छ। विशेषज्ञ डाक्टरहरूले धेरै ओपिडी विभाग हेर्नु हुन्छ, मेडिकल अधिकृत पर्याप्त नहुँदा भर्ना वार्ड, आइसियू र इमर्जेन्सीमा सेवा दिन समस्या भइरहेको छ।’

गर्मी लागेसँगै अस्पतालमा अहिले बिरामीको सङ्ख्या बढेपछि अस्पतालमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी व्यस्त देखिन्छन्। कतिपय विशेषज्ञ डाक्टरहरू बिहानै ७ बजेदेखि बेलुका ४ बजेसम्म उपचारमा खटिएको पाइएको छ।

वर्षाको समयमा दूषित पानीको प्रयोग गर्दा झाडाबान्ता हुने, पखाला लाग्नेलगायत समस्या हुने भएकाले बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ।

एक मेडिकल सुपरिन्टेन्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा दरबन्दीको मेडिकल सुपरिन्टेन्डेन्ट मात्रै छन् भने मेडिकल अधिकृत र विशेषज्ञको सबै दरबन्दी खाली रहेको छ। अस्पतालमा अहिले दरबन्दीका डाक्टर नहुँदा करार र छात्रवृत्तिका डाक्टरले स्वास्थ्य सेवा दिइरहेका छन्।

अस्पतालमा अहिले ५ जना करारका मेडिकल अधिकृत, १० जना करार र छात्रवृत्तिका विशेषज्ञ डाक्टर कार्यरत रहेको भए पनि उनीहरूको समेत करार अवधि र छात्रवृत्तिको सेवा अवधि समाप्त हुने अवस्थामा पुगेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ।

छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ डाक्टरले २ वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियमअनुसार बागलुङमा आउने र २ वर्ष सेवा गरेर जाने गरेका छन्।

अस्पतालमा दरबन्दीअनुसारका डाक्टरहरू नभए पनि विशेषज्ञ सेवामा छात्रवृत्तिका डाक्टरहरूले राम्रो सेवा दिइरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए।

उनले अस्पतालमा बिरामीको सङ्ख्या क्रमशः बढ्दै गएको र चिकित्सकको सङ्ख्या घट्दै जाने अवस्था रहेको बताए।

डा. पोखरेलले आफू अस्पतालमा चिकित्सक ल्याउन प्रदेश र सङ्घीय मन्त्रालय धाइरहेको बताए। अस्पतालले उपकरण, स्वास्थ्यकर्मी व्यवस्थापन र सरसफाइमा विशेष ध्यान दिएको भन्दै अस्पताललाई तत्कालै पाँचजना मेडिकल अधिकृतको आवश्यकता रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.