|

काठमाडौं : शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका व्यक्तिमाथि अख्तियारले आरोप पत्र दायर गरेको छ।

अर्घाखाँचीको ठूला पोखरास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कार्यरत निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुटा प्रमाणपत्र सम्बन्धी आरोप पत्र विशेष अदालत काठमाडौंमा दायर गरेको हो।

शिक्षक पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याई सोही नक्कली प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदा पाउने र ओहदामा बहाल रहने मनसाय राखेको उजुरी अख्तियारमा परेको थियो। उजुरीमाथि छानबिनको क्रममा उनले नियुक्ति हुँदा गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुटो भएको प्रमाणित भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार शिक्षक पौडेलले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२  र दफा २९ को २ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ अनुसार सजाय माग गरिएको छ।

भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ मा राष्ट्रसेवकको ओहदाको निमित्त योग्यता, नाम इत्यादि ढाँट्ने व्यक्तिलाई दण्ड सजायको व्यवस्था गरिएको छ। जस अनुसार त्यस्ता कसूर गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार २ देखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ। कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने उद्देश्यले शिक्षा सम्बन्धी कुनै योग्यता, नाम, तीन पुस्ते, उमेर, जात थर, वतन, नागरिकता वा अयोग्यता ढाँट्न नहुने कानुनी व्यवस्था छ।

सोही ऐनको दफा २९ मा त्यस्ता कसूर गरेको व्यक्तिले त्यसबाट आफू वा अन्य कुनै व्यक्तिलाई गैर कानुनी लाभ वा कुनै व्यक्तिलाई गैर कानुनी हानी पुर्‍याएको अवस्थामा सजायसहित गैर कानुनी लाभ वा हानी गरेको बिगो असुल गरिने व्यवस्था छ।

यसैगरी, प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ अनुसार झुटा विवरण पेस गर्नेलाई कसूरको मात्रा अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँ देखि २० हजार रुपैँयासम्म जरिबाना हुने व्यवस्था छ।

आयोगले शिक्षक पौडेलविरुद्ध पुरानो तथा प्रचलित दुवै ऐन अनुसार कारबाही तथा सजायको माग दाबी लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.