|

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसहरुमा लगाएको ताला खोल्न पाँच दिनको अल्टिमेटम दिएको छ।

अनेरास्ववियुले बुधबार एक विज्ञप्ति निकालेर सत्तारुढ दल निकट विद्यार्थी संगठन र प्राध्यापकहरूको प्रत्यक्ष सङ्लग्नता र भित्री योजनामा महिनौँदेखि केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसहरुमा लाग्दै आएको तालाबन्दी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अबको ५ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्ने अध्यक्ष सुनिता बरालले बताएकी छन्। त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न अनेरास्ववियु तयार रहेको उनले जनाइन्।

जारी विज्ञप्तीमा भनिएको छ, ‘नैतिक मूल्य र मान्यताको धरातल शून्य बनाएर नेपाल संस्कृत विश्वविद्यालयमा विधि, प्रक्रिया तथा शैक्षिक योग्यता पुगेकाहरूलाई विश्वविद्यालय सेवामा प्रवेश गराउन सेवा आयोगले प्रकाशित गरेको विज्ञापन समेत रोक्न भन्दै नेविसंघले गरेको माग, ढोका हुँदाहुँदै झ्यालबाट छिर्ने कमजोर मानसिकता, विधि र प्रक्रिया छलेर सधैँभरी राज्य सत्ताको दुरुपयोग गर्दै प्रतिस्पर्धा मार्फत श्रेष्ठता हाँसिल गर्नु पर्ने सिद्धान्तलाई समेत गिज्याइरहेको छ।’

यसको उद्देश्य वर्तमान पदाधिकारीलाई हटाउने र आफू अनुकूलका अप्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयको बागडोर जिम्मा लगाउने निकृष्ट कर्ममा नेवि संघ उद्धत रहेको अनेरास्ववियुको आरोप छ। विश्वविद्यालय तालाबन्दी हुँदा पनि आँखामा पट्टी र कानमा तेल हालेर बसिरहनुले सरकार विश्वविद्यालयलाई बन्धक बनाउन आफैँ क्रियाशील रहेको पुष्टि हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.