|

सल्यान : जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण बर्खेबाली सुक्न थालेको छ। खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित छन्।

कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी पनि खडेरीका कारण बारीमै सुक्न थालेको छ। पानी नपरेका कारण खोलानाला सुक्न थालेका  छन्। धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताए। कुपिण्डे नगरपालिकाका नवीन पुनले मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घट्ने चिन्ता हुन थालेको बनगाडले बताए। ‘ गोडमेल गर्ने वेलामा पानी नपर्दा मकैको बोट सुक्न थालेको छ’, उनले भने।

छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउँछन्। ‘रोपाइँ गर्ने वेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको, पानी पर्ने छाँटकाँट छैन’, उनले भने। खोलाका मुहानतिर खेत भएका केहीले रोपाइँ गरे पनि अन्यले आकाशे पानी पर्खेर बसेको उनले बताए। 

जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.