गाउँले जीवनको मौलिकता र आनन्द दुवै हराए

|

म्याग्दी :  तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिका भित्रका धार्मिक मठमन्दिर,चौतारी पोखरी र ऐतिहासिक स्थलहरूको पुनःनिर्माण तथा संरक्षण अभियान सुरु भएको छ।

म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकामा रहेका धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्वन्धित  वर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मत सम्भारका लागि वडा कार्यालयहरूले  अभियान नै सञ्चालन गरेका छन्।

बेनी नगरपालिका-७ ले वडामा रहेका मठमन्दिर,वर पिपल,चौतारी पोखरीको पुनःनिर्माण तथा संरक्षणका लागि जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा अभियान संचालन गरेको वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

आध्यात्मिक विश्वास,वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्वन्धित यस्ता सम्पदाहरूको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको वडाअध्यक्ष श्रेष्ठले स्पष्ट पारे।

वडाअध्यक्ष श्रेष्ठका अनुसार तत्कालिन पर्वत राज्यको टक्सार (मुद्रा बनाउने ठाउँ) मा रहेको ऐतिहासिक बेनी कोतको पुनः निर्माण भैसकेको छ भने बेनी बजार क्षेत्रमा रहेका धार्मिक मठमन्दिर,सत्तल,चौतारी र वरपीपलको संरक्षणमा वडा कार्यालयले आवश्यक बजेट विनियोजन गरेर पुनःनिर्माण कार्यलाई अघि बढाएको छ।

यसैगरी बेनी नगरपालिका- ६ मा पनि चौतारी पोखरी र मठमन्दिरको पुनःनिर्माण तथा मर्मत सम्हारको काम संचालन भैरहेको बेनी नगरपालिका ६ का वडाअध्यक्ष कृष्ण बानियाँले बताए।

वडाअध्यक्ष बानियाँका अनुसार बेनी–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वर–पिपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब रु पाँच लाख बजेट नै खर्च गरेको छ।

उनका अनुसार १०० वर्षभन्दा पुराना वर–पिपलका रुख रोप्नेहरूको विवरण संकलन गरी परिवारबाट संरक्षणको प्रयास गरिएको छ। गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वर–पिपल संरक्षण तथा रोपणका लागि तीन लाख र चौतारी तथा कुवाका मर्मत सम्भारका लागि रु दुई लाख बजेट खर्च गरिएको उनले बताए।

 उक्त बजेटबाट थानकपोखरी र जरबुटामा वर–पिपल रोपण र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो।

वर–पिपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्यांक राख्ने कामसमेत वडाले गरेको छ। वडामा अहिलेसम्मको तथ्यांकअनुसार ५० भन्दा बढी वर–पिपल र चौतारी छन्।

यसैगरी बेनी नगरपालिका-२ ज्यामरुककोटमा पनि धार्मिक तथा ऐतिहासिक खड्ग भवानी कोत परिसरमा भौतिक पूर्वाधार निर्माण गरेर ज्यामरुककोटलाई उजिल्याउने प्रयास गरिएको छ। वडाअध्यक्ष यामबहादुर कार्कीका अनुसार ऐतिहासिक खड्गभवानी कोत परिसरमा घेराबार लगाइनुका साथै कोतमा पुग्न भकुण्डे र कन्थराजथानबाट पदमार्ग निर्माण गरिएको छ।

ज्यामरुककोट क्षेत्रमा रहेका चैतारी र पोखरीहरूको संरक्षणका लागि स्थानीयहरूसँग वडाले समन्वय गरेर काम अघि बढाइने उनले बताए।

६  वटा स्थानीय तह रहेको म्याग्दीका धवलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मङ्गला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा वर–पिपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ।

बेनीलगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर वर–पिपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगतरूपमा समेत वर–पिपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ।

त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ। स्थानीयवासीको सहयोगमा वर–पिपल मास्न, काट्न, रुखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा, काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ। त्यसैगरी बेनी–५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ वर–पिपलका बिरुवा रोपिएको छ।

सडकका कारण नासिए चौतारी

करिब डेढ दशक अघिसम्म लेक–वेसी,गाउँ–सहर गर्ने बटुवाहरूको थकाइ मेटाउने थलो,गर्मीमा दौतरीहरू बसेर शितल हावा लिदै बागचाल खेल्ने ठाउँ,  चौतारी पछिल्लो समय नासिँदै गएपछि ग्रामिण जीवनको मौलिकता र त्यसबाट प्राप्त आनन्द दुवै हराएका छन्।

भरियाको भारी बिसाउने ठाउँ,बटुवाको थकान विर्साउने ठाउँ,युवा युवतीको माया प्रेम दर्साउने ठाउँ, पाका व्यक्तिहरू सुस्ताउने ठाउँ,गोठाला र फुर्सदिला व्यक्तिहरू भेला भएर बागचाल खेली दिन बिताउने ठाउँ हो चौतारी। आध्यात्मिक दर्शनमा धर्ममार्गको खुड्किलो मानिएका चौतारीहरू मानिसको भौतिक र दैनिक जीवनमा समेत अत्यन्त महत्वपूर्ण थलो हुन्।

तर,विकासका नाममा मोटर बाटो खन्ने होडवाजी शुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नास हुँदै गएका छन्। मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारीहरू बिर्सिँदै जान थालिएको छ।

मान्छेहरू हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो। तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने पं निलकण्ठ शर्मा आचार्यले बताए।

म्याग्दीमा भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीहरूको मर्मत र संरक्षण तथा नयाँ चौतारी निर्माणमा चासो देखाएका छन्। गण्डकी प्रदेश सरकारले पनि पुर्खाले बनाएको चौतारो ब्यूँताउने अभियान चलाएको छ।

गण्डकी प्रदेश सरकार विगत चार वर्षदेखि ऐन नै बनाएर चौतारी संरक्षण अभियानमा लागेको छ।

गण्डकी प्रदेश सभाले वि.सं २०७५ साल माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पुर्‍याउनुलाई कानुनी रुपमा दण्डनीय कार्यको रुपमा परिभाषित गरेको छ। यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पुर्‍याए प्रचलित कानुन बमोजिम दण्ड दिइने व्यवस्था समेत गरिएको छ।

यो ऐनले वर, पिपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ। ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीब्रता दिनको लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ।

सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पिपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरी कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरु काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै गरेको छ।

यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै गण्डकी प्रदेश मातहत गत आर्थिक वर्षमा मात्रै झण्डै २० वटा चौतारो निर्माण भइसकेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणको लागि एक लाख रुपैयाँ विनियोजन गर्ने गरिएको छ।

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.