|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मूल्यवृद्धि, मल अभावलगायतका विषयलाई लिएर आन्दोलित बनेको छ। राप्रपाले  विभिन्न माग राख्दै असार १३ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

उसले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मल उपलब्ध हुन नसकेको भन्दै राप्रपाले तत्काल मलको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। यसैगरी मूल्यवृद्धि, मल अभाव लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बझाएको २२ बुँदे ज्ञापनपत्रका विषय सम्बोधन गर्न राप्रपाले माग गरेको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने कार्यक्रम छ। असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बीमा लगायतका मागसहित श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाइने प्रवक्ता श्रेष्ठले बताए।

भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा असार २४ गते धर्ना दिने र कोणसभा गर्ने राप्रपाले जनाएको छ। यस्तै, असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना दिने कार्यक्रम छ।

प्रवक्ता श्रेष्ठका अनुसार असार ३१ मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने कार्यक्रम  छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.