|

जनकपुरधाम : रामायण सर्किट जोड्ने ‘भारत गौरव पर्यटक रेल’ बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको छ। रेलमा आएका तीर्थयात्रीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले तीर्थयात्रीलाई जनकपुरमा स्वागत गरेका छन्। साथमा प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, जानकी मन्दिरका सहायक महन्थ रामरोशन दाससहित स्थानीय स्वागतका लागि रेल्वे स्टेशन पुगेका थिए। स्वागत समारोहमा जनकपुरधामवासीको भव्य उपस्थिति थियो।

उक्त रेल मंगलबार साँझ नयाँ दिल्लीबाट जनकपुरधामका लागि छुटेको थियो। भारतका केन्द्रीय पर्यटन, संस्कृति मन्त्री किशन रेड्डी र रेल मन्त्री अश्विनी वैष्णवले हरियो झण्डा देखाएपछि रेल दिल्ली स्टेशनबाट जनकपुरधामका लागि छुटेको थियो। उक्त कार्यक्रममा भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्मा पनि उपस्थित थिए।

१८ दिनको यात्रा अन्तर्गत तेस्रो दिन ‘भारत गौरव पर्यटक रेल’ बिहीवार दिउँसो करिब पौने २ बजे जनकपुरधाम आइपुगेको हो।  ६०० सिट रहेको रेल ४९९ तीर्थयात्री बोकेर  जनकपुरधाम आइपुगेको हो।

रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दीग्राम, सीतामढी, वाराणसी, प्रयागराज, चित्रकुट, पञ्चवटी (नासिक), हम्पी, रामेश्वरम् र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधाममा अवस्थित धार्मिक क्षेत्रलाई जोड्नेछ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो।

अयोध्याका राम स्वयंवरका लागि जनकपुर आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको हो।

तीर्थयात्रीहरू आज साँझ ६ बजे महागंगा आरतिमा सरिक हुने र त्यहाँबाट जानकी मन्दिर पुगेपछि मन्दिरको प्रांगणमा प्रदेश सरकारले आयोजना गर्ने मिथिलाको कला संस्कृति झल्किने रात्रि सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

शुक्रबार बिहान जनकपुरधामको राममन्दिर, जनकमन्दिर लगायतमा दर्शन गरी उनीहरू धनुषाधामस्थित धनुषमन्दिर पुग्नेछन्। त्यहाँबाट फर्केपछि तीर्थयात्री बस चढेर भिठामोड हुँदै सीतामढीका लागि प्रस्थान गर्नेछन्।

जनकपुरधामबाट बस चढेर सीतामढी पुग्ने तीर्थयात्रीलाई लिएर त्यहाँबाट रामायण सर्किट हुँदै दिल्ली फर्किने बताए। रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल शुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्दत पुग्ने व्यवसायीको विश्वास छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.