|

बागलुङ : जिल्लाको बागलुङ नगरपालिकाले स्थानीय रुपमा उत्पादन गरिने मदिरालाई सबै स्वास्थ्यका मापदण्ड पूरा गरी बजारीकरण गर्ने नीति लिएको छ। नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले अहिलेसम्म विदेशी ब्राण्डलाई बढी जोड दिँदा स्थानीय उत्पादन ओझेलमा परेको भन्दै अब स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए।

नगरपालिकाले कृषि गाडीसमेत संचालनमा ल्याउने भएको छ। कृषिबाट समृद्धि हासिल गर्ने भन्दै नगर कृषि गाडी संचालनसँगै दुध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरी रुपमा विकास गर्ने कार्यक्रम अगाडी सार्ने भएको छ।

नगरपालिकाले विशेष गरेर दिगो भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधारको विकास, वातावरण संरक्षण, नगरवासीको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नती, सुशासन र संस्थागत विकासलाई मुख्य प्राथमिकता दिइ कार्यक्रमहरु अगाडि ल्याएको छ।

भौतिक पूर्वाधारतर्फ सबै वडाहरुको सन्तुलित विकास हुने गरी ‘एक वडा एक नमुना पूर्वाधार विकास’ कार्यक्रम संचालन गर्न मूलपानी–ढिकीचौर–तितौर सडकलार्ई भित्री चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुपाटा, अमलाचौर, रायडाडा, सिगाना र खहरेलाई वाह्य चक्रपथको रुपमा विकास गर्ने र पर्यटन प्रवर्धनका लागि भैरवस्थान, मुलावारी, भकुण्डे, रायडाडा, वौडेचौर, गाजादह क्षेत्रमा साईकल मार्गको निर्माण गर्न पहलको काम अगाडि बढाउने कार्यक्रम अगाडि सारेको छ।

नगरपालिकाको कार्यालय व्यवस्थापनका लागि व्यवस्थित एवं सुविधा सम्पन्न कार्यालयको व्यवस्था गर्ने, आफ्नै कार्यालय भवन नभएका सबै वडाहरुको क्रमश कार्यालय भवन निर्माण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।

स्वास्थ्य क्षेत्र तर्फ धौलागिरि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नति र हरि खड्का ट्रमा सेन्टर स्थापनाका लागि पहल गरिने, बागलुङ नगरी, स्वास्थ्य संस्थामा डेलीभरी, ज्येष्ठ नागरिकको सेवा, स्वास्थ्य उपचारमा टेवा, नगर प्रमुख विपन्न नागरिक स्वास्थ्य सहायता कोष लगायतका कार्यक्रम अगाडी सारेको छ।

नगर क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भार र उपकरण व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरि स्वास्थ्यकर्मीहरुको क्षमता विकासका कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

खानेपानी तथा सरसफाइतर्फ नगर क्षेत्रभित्र संचालनमा रहेका खानेपानी आयोजनाहरुलाई छिटो सम्पन्न गर्न  समन्वय, सहजिकरण गर्ने, नगरपालिकाभित्र संचालनमा रहेका खानेपानी आयोजनाहरुको गुणस्तर सुधार लगायतका समग्र खानेपानी व्यवस्थापनमा सहयोग र सहजिकरण गर्ने, खानेपानीको सेवा नपुगेका सबै

वडा र बस्तीहरुमा शुद्ध खानेपानीको सुविधा पुर्‍याउन ‘एक घर एक धारा’को व्यवस्था गरिनेछ  र फोहोर व्यवस्थापनलाई तत्कालिन, मध्यमकालिन र दीर्घकालिन योजना बनाई वैज्ञानिक रुपमा व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा छ।

सामाजिक विकास तथा समावेशिकरण तर्फ २०७९ साललाई बालबालिका वर्ष घोषण गरी सरोकारवाला निकायहरुसंगको सहयोग र समन्वयमा आगामी आर्थिक वर्ष २०७९।८० भित्र बागलुङ नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने, बालमैत्री नगर घोषणाको लागि निर्धारण गरिएका ५१ वटा सूचक पुरा गर्न

आवश्यक भौतिक पूर्वाधार र कार्यक्रमहरुका लागि आवश्यक श्रोत व्यवस्थापन गर्ने, नगर क्षेत्र भित्रका इच्छुक कर्मचारी, शिक्षक, शिक्षिका, सामाजिक परिचालक, संचारकर्मी लगायतका व्यक्तिहरुलाई बालमैत्री स्थानीय शासनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरी विद्यालय तह एवम् समुदायस्तरमा बालमैत्री स्थानीय शासनका विषयमा अभिमूखीकरण कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

संचार तथा सूचना प्रविधि तर्फ नगरपालिकाका विकास गतिविधि, सेवा प्रवाह र सामाजिक परिचालन लगायतका नगरपालिकाबाट सम्पादन हुने कार्यहरुलाइ कार्यालयको वेबसाईट मार्फत प्रकाशन गरिने। नगरपालिकाको गतिविधि र काम कारवाहीका सम्बन्धमा स्थानीय संचारकर्मीहरुसँग नियमित अन्तरक्रिया गरिने, स्थानीय संचार माध्यम र संचारकर्मीहरुको क्षमता विकासको लागि सहयोग गर्ने पत्रकारिताको माध्यमबाट नगरको विकास र समृद्धिमा उत्कृष्ट योगदान गर्ने संचारगृह र संचारकर्मीलाई सम्मान गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

युवा तथा खेलकुदतर्फ विद्यालय तहबाटै विभिन्न विधाको खेलकुदको अभ्यास र व्यावसायिक खेलाडीहरुको उत्पादन गरिने, एक वडा एक खेल मैदान निर्माणका लागि पहल गरिने, प्रत्येक विद्यालयमा आवश्यकताको आधारमा खेलकुद सामग्रीहरु उपलव्ध गराइने। बागलुङ नगरको खेल क्षेत्रको गौरवको रुपमा खुला नगरस्तरीय बृहत बागलुङ कालिका कप आयोजना गरिने, मेयर कप फुटवल प्रतियोगिता र नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने नीति कार्यक्रममा समावेश छ।

उद्यमशिलता विकास तथा स्वरोजगारी तर्फ स्वदेशमा उद्यम तथा स्वरोजगार गर्न चाहने युवायुवतीहरुले समुह वा सहकारीमा आवद्ध भई उद्यम गर्न चाहेमा त्यस्ता समुह वा सहकारी एवम् अति विपन्न नागरिक तथा लक्षित समुदायका व्यक्तिहरुलाई परियोजना प्रस्तावको आधारमा सीप तथा तालिम, बिउ पूँजी, प्रविधि, सहुलियतपूर्ण कर्जा र बजारिकरणमा सहयोग गरी उद्यमी सिर्जना गर्न नगर प्रमुख युवा उद्यमशिलता विकास कार्यक्रम संचालन गर्ने नीति कार्यक्रममा उल्लेख छ।

स्वेदश तथा विदेशबाट व्यावसाय तथा उद्यममा ज्ञान, सीप र अनुभव हासिल गरेका नगरवासीहरुको तथ्याङ्क संकलन गर्ने र यस्ता व्यक्तिहरुको ज्ञान, सीप, क्षमता स्थानीय समुदायमा हस्तान्तरण गर्न सहजीकरण गर्ने, ‘आफु जन्मेको माटो र आफु हिँडेको बाटो’लाई माया गरी मातृभूमि फर्कि आफ्नै ठाउँथलोमा उद्यम गर्र्न चाहने व्यक्तिहरुलाई उद्यमशिलता विकास कोषबाट आवश्यक सहयोग गर्ने व्यवस्था मिलाइने नीति कार्यक्रममा समावेश गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.