|

काठमाडौं : भारतका गल्लीमा होस् या दुबईको रापिलो घाममा सेकिँदै गर्दा प्रशान्त पौडेलले आफूलाई पटक-पटक प्रश्न गरिरहे, 'विदेशी भूमिमा पसिना नै बगाउनु थियो भने मैले जीवनमा गीत र संगीतमा गरेको संघर्ष र गुमाएको समय के का लागि थियो?'

आफ्नो प्रश्नमा आफ्नै नाजवाफ बन्थे उनी। तर, पारिवारिक जिम्मेवारी र आर्थिक मजबुतीको लागि आफ्नो रहर केही समय पर राख्‍नैपर्ने थियो। यो जिम्मेवारीले कहीँ कतै सन्तुष्टि दिए पनि यो नै सन्तुष्टिको सम्पूर्ण आधार भने थिएन।

दुबई बसाईमा उनले निधो गरे, 'अब म देश फर्कन्छु। र आफ्नो सपना पूरा गर्छु।' यस्तो सोच बनाएको करिब वर्ष दिनपछि उनी नेपाल फर्किए। अनि लागे संगीतको कर्मतिर।

यो निर्णय पौडेललाई फुल टाइमर  संगीत क्षेत्रमा लाग्ने एक कोशेढुंगा चाहिँ बन्यो।

तर, उनले विदेशिनु पहिले पनि कैयौँ गीतमा शब्द खिपेका थिए। धुन भरेका थिए। स्वर दिएका थिए।

जुन गीत आम मान्छेले सुन्न त सुने।  ती गीतले उनलाई प्रकाशमा ल्याउन भने नसकेको उनी स्वीकार्छन्।

केही दिनअघि उनले लोक शैलीमा 'सान्नानी जाम पोखरा' बोलको गीत सार्वजनिक गरे। सुरुवातमा आफ्नै स्वरमा सार्वजनिक गरेको उक्त गीत करिब १७ लाख जनाले हेरिसकेका छन्।  त्यसको केहि दिनपछि उक्त गीतलाई सन्दीप न्यौपाने र सरीता कार्कीले स्वर दिएर पुन सार्वजनिक भएको हो।  गीत यति बेला चर्चामा छ। टिकटकदेखि युट्युबसम्म, फेसबुकमा उनका गीतलाई मन पराउने संख्या बढ्दो छ।

जीवनको यात्रा अफ्ठेरा गल्लीमा मात्र सीमित हुँदैन। यात्रा गर्दै जाँदा सजिला बाटाहरू पनि आउँछन्। जसले आफ्ना जटिल समयमा गुज्रिएको जीवनलाई आराम दिने गर्छ। यो गीतको चर्चा उनका लागि भिरमा हिँडिरहँदा आएको समथल भूभाग जस्तो बनेको छ। उनलाई सन्तोषको सास फेर्न आधार बनेको छ।

'जटिल यात्रामा पनि केही समय सहज बाटोमा आइपुगेको अनुभव भएको छ। आफ्नो गीतको चर्चा र दर्शकको मायालाई सहज बाटोको एक अंश हो', उनी सुनाउँछन्।

आफ्नै परीक्षामा पास भएँ

नेपाल फर्किएर उनी पर्वतबाट काठमाडौं बसाइँ सरे। केही गीत एरेन्ज गरे। एकदिन उनले एक गायकलाई आफ्नो गीत गाउन अफर गरे। ती गायक स्टुडियो पनि आए।

तर, गायकले पौडेललाई भने, 'यो त लोकशैलीको गीत भयो। यो गीत चल्दैन।' एरेन्जर रहेका पौडेललाई झोक चल्यो। त्यसपछि उनले त्यो गीत रेकर्ड क्यान्सिल गरे। आफ्नो सिर्जनालाई मान्यता नदिएको झोक लिएर उनी आफ्ना साथीकोमा पुगे। साथीले एक स्टेप अगाडि बढेर सुझाव दिए, 'झोक मात्र उठेर हुँदैन।  तँ पनि गीत र संगीतमा परिपक्व हुनुपर्छ।'

यो उनका लागि अमृतसरह सुझाव थियो। त्यसपछि उनले संगीत क्लास सुरु गरे।  त्यसपछि उनलाई आफ्नै स्वर मन पर्न छोड्यो।

कहिलेकाहीँ आफ्नै स्वरमा गाउन भने गाइरहन्थे। तर, उनलाई आफ्नो स्वरमा पटक्कै विश्वास थिएन। उनका नजिकका साथीहरू भने उनको स्वर सुन्दर रहेको बताइरहन्थे।  सबैले तैंले गर्न सक्छस् भनिरहँदा उनले आफ्नो स्वरलाई पत्याइरहेका थिएनन्। उनलाई एकपटक आफ्नो स्वर परीक्षा आफैँले लिन मन लाग्यो।

'भागेर कहाँ जाने? एक पटक आफ्नै स्वरको परीक्षा लिन्छु भन्ने लागेर यो गीतमा मिहिनेत गरेको हुँ', उनी अनुहार उज्यालो बनाउँदै बोल्छन्।  'सान्नानी जाम पोखरा' बोलको गीतलाई उनले करिब २ महिना लगाएर बनाएका हुन्। १४ चोटि परिमार्जित गरे। 

'म संगीतको क्षेत्रमा क्षमता देखाउन आएको हुँ'

लेखिएको गीत, गाइएको गीत र बजारमा गइसकेपछिको बज्ने गीत उस्तै रहँदैनन्। यिनका आफ्नै महत्व र दायराहरू रहेका छन्। यसको महत्व व्यक्तिपिच्छे फरक फरक बनिदिन्छ।

पौडेलले यो गीत लेख्दा, रेकर्डिङ गर्दा र बजारमा जाँदा जस्तो अपेक्षा गरेका थिए। त्यहीअनुसार नै दर्शकले मन पराइदिरहेका छन्।

कुनै पनि गीत बजारमा जानुअघि ती गीतका लागि गरिने दु:ख र अनुभव विशुद्ध आफ्ना हुन्। मिहिनेत भनेको दु:ख होइन। यो एउटा मिठो विगत हो। जो वर्तमान सम्झँदा पनि मिठो लाग्छ। कुनै पनि सर्जकले आफ्नो गीतबाट पाउने सफलताका पछाडि उसले गरेको मिहिनेत कम रोचक हुँदैन।

'मलाई लाग्छ, मेरो मिहिनेतले जिन्दगीको कुनै मोडमा मेरा लागि पाठ हुनेछन्। जब आफ्ना गीत कहीँ कतै गुञ्जिनेछ। अथवा म आफैँ पनि यो गीत गुन्गुनाउँदा सम्झनेछु। ओहो! मैले त्यो गीत बनाउन यति मिहिनेत गरेको थिएँ नि', उनी सुनाउँछन्, 'अहिले यो गीत सबैले मन पराउँदा मैले मेरो मिहिनेतलाई सम्झिरहेको छु।'

उनको गीत जस्तै उनी पनि अहिले दर्शकको नजरमा पर्दै गएका छन्। उनले यो चर्चा जोगाउनुपर्ने छ। 'मैले गीत नलेख्दैमा, नगाउँदैमा संगीतको क्षेत्र डुबिहाल्ने होइन। न त उत्रन्छ नै। तर, त्यसबेला ममाथि दर्शकले गर्न थालेको विश्वास र आत्मियता भने कोमामा पुग्न सक्छ', अबको यात्राबारे उनी सुनाउँछन्।

उनी संगीतको क्षेत्रमा ठूलो उलटपुलट गर्छु भनेर आएका होइनन्। यो कुरा उनी स्पष्ट छन्। उनी सुनाउँछन्, म संगीतको दुनियाँमा ठूलो चमत्कारिक काम गर्छु भनेर आएको होइन। मात्र आफ्नो क्षमता देखाउन आएको हुँ।'

उनले आफ्नो क्षमता देखाउन गरेको मिहिनेतको अवधि नै  १४ वर्ष पार गरिसकेको छ।  'मैले कति गीत र संगीतका लागि कति समय बिताएँ भन्ने कुरा खास महत्व छैन। मात्र कुरा के हो भने मेरो क्षमतालाई स्वीकार आम दर्शकले गर्नुभयो। यसको मतलव सांगीतिक क्षेत्रमा मैले चालेका पाइला सही ट्रयाकमा छ', उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.