|

रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नं ८ का वडाध्यक्ष रविन्द्र प्रसाद साहले अदालतको आदेशको अवहेलना गरेको पाइएको छ।

सो वडामा तराई–मधेस समृद्धि परियोजना अन्तर्गत करिब ४ सय ७७ मिटर पक्की ढलान तत्काल नगर्न नगराउन उच्च अदालत जनकपुरको वीरगंज बेन्चले दिएको अन्तरिम आदेशको अवज्ञा गर्दै उनले सो कामलाई निरन्तरता दिएका हुन्।

सो योजना मिति २०७८ माघ २४ मा शिवाजी महतो अध्यक्षताकाे उपभोक्ता समितिले वृन्दावन नगरपालिकासँग सम्झौता गरेर काम सुरु गरेकाे थियाे।

उक्त समितिले याेजनाकाे वेसको माटो तथा ग्राभेलको काम सकिसकेका थियो।

समिति र नगरपालिकाको सम्झौता मिति असार ३० गतेसम्म रहेको तर बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पछि एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएर आएका वडाध्यक्ष साहले पुरानो समितिलाई काम गर्न रोकेर आफ्ना मान्छेलाई काम गर्न दिएपछि आफूहरु न्यायको लागि अदालत गएको समितिका अध्यक्ष शिवाजी महतोले  बताए।

अदालतले समितिको पक्षमा फैसला गर्दै तत्काल ढलानको काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेपनि वडाध्यक्ष साहको इशारामा ढलानको काम जारी राखेको उनको भनाइ छ। वडाध्यक्ष साहले आफू अदालतभन्दा ठूलो हूँ भन्ने, घमण्ड देखाउँदै त्यस्ता अन्तरिम आदेशले केही फरक नपर्ने भन्दै कानुन विपरीत काम गराइरहेकाले आफूहरु फेरि अदालतको अवहेलनाको मुद्दा लिएर अदालत जाने तयारी गरिरहेको पुरानो उपभोक्ता समितिले जनाएको छ।

यता वडाअध्यक्ष रविन्द्र साहले नयाँ उपभोक्ता समितिले नै काम गर्न पाउने बताए। नगरपालिकाले पुरानो समिति रद्द गरी नयाँ समिति गठन गर्न निर्देशन दिएको साहको भनाई रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.