|

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बिमितहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सेवाप्रदायक स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ। 

केही अस्पतालले आर्थिक वर्षको अन्त्यमा भुक्तानी नहुने आशंकामा धमाधम सेवा स्थगित गरिएको सूचना निकालेपछि बोर्डले सेवा स्थगित नगर्न भनेको हो।

बिमितहरूको स्वास्थ्य परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको भन्दै परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्न लागिपरेको बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलाले बताए। आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने उनको  भनाइ छ। 

आर्थिक वर्ष २०७८।०७९ मा विगत वर्षका र चालू आर्थिक वर्षको गरी ५२ लाख ८४ हजार ८९४ जनाका ८ अर्ब १३ करोड भुक्तानी भइसकेको बोर्डले जनाएको छ। चालू आर्थिक वर्षको जेठ १५ गतेसम्मको १८ लाख ५३ हजार ९५३ बिमितको भुक्तानी दाबीलाई प्राथमिकताका साथ परीक्षण गरिरहेको बसौलाले बताए। स्वास्थ्य सेवाप्रदायकले बिमितलाई सेवा दिएपछि पेश गरेका दाबी बोर्डबाट नियमानुसार परीक्षण गरेपछि मात्रै भुक्तानी गर्ने व्यवस्था छ।

स्वास्थ्य बीमा कार्यक्रममा प्रतिपरिवारले ३५ सय तिरेर एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा लिइरहेका छन्। स्वास्थ्य बीमा लागू भएको ६ वर्षको अवधिमा देशभरका ७४६ स्थानीय तहका ५६ लाख ३९ हजार नागरिक यो कार्यक्रममा आबद्ध भएका छन्।

हाल ४५० वटा सेवाप्रदायक स्वास्थ्य संस्थाहरूबाट दैनिक २५ देखि ३० हजारको संख्यामा भुक्तानी दाबी भइरहेको बोर्डले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.