|

सुर्खेत : वर्षौंदेखि खानेपानीको समस्याबाट पीडित जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरवासी लिफ्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन्।

गत वर्षदेखि सञ्चालित लिफ्ट खानेपानी आयोजनाको पानी घरआँगनमै पाउँदा भुरचौरवासी खुसी भएका हुन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आर्थिक सहयोगले उक्त ठाउँमा खानेपानी पुगेको हो। पुस्तौँदेखि भेरी नदीको पानीमा जीवन निर्वाह गरेका स्थानीय बासिन्दा स्वच्छ सफा पानी पाउँदा हर्षित भएका छन्।

पानी लिन डोको नाम्लोको सहारामा घण्टौँ हिँडेर भेरी नदीको धमिलो पानी खाने गरेका बासिन्दा आँगनमै पानी पाउँदा सहज भएको स्थानीय बासिन्दा रामबहादुर चन्दले बताए।

पानी पाएपछि १३५ घरपरिवार बसोवास गर्दै आएको भुरचौरमा पानीको पिरलो हटेको महेन्द्रबहादुर शाहीले बताए। खेतीयोग्य जमिन भए पनि सिँचाइ नहुँदा आकासेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटबाट भुरचौरमा लिफ्ट खानेपानी आयोजनाका लागि ४० लाख, चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख ज्वालाराज शाहीले बताए। उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर शाहीले २५ प्रतिशत काम बाँकी रहेको केही समयमा सबै काम सम्पन्न हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.