|

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि १ अर्ब ८ करोडको बजेट ल्याएको छ।

थाहा नगरले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको हो। शुक्रबार भएको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित पनि भएको छ।

नगरपालिकाले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालूतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, ३२ करोड १४ लाख ४० हजार रुपैयाँ सशर्ततर्फ र १५ करोड रुपैयाँ सामाजिक सुरक्षातर्फ बजेट विनियोजन गरेको छ। नगरले आन्तरिक कर तथा राजस्वबाट १९ करोड ७१ लाख पाँच हजार, राजस्वबाट बाँडफाँडबाट १९ करोड ६८ लाख ८० हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त पाँच करोड पाँच लाख ८२ हजार रुपैयाँ,  सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख र सामाजिक सुरक्षा भत्ताबापत १५ करोड रुपैयाँ प्राप्त हुने स्रोत अनुमान गरेको छ।

बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ। नगरपालिकाले कृषिमा आत्मनिर्भर बन्न लघु उद्यम कार्यक्रम सञ्चालन गर्न अनुदान दिइने, हाटबजार सञ्चालन गर्न अध्ययन गरिने तथा कोसेली घर यसै वर्षबाट सञ्चालनमा ल्याइने, सबै वडामा कृषि र पशु प्राविधिकको पहुँच विस्तार गरिने, नगरलाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन थप कार्यक्रम सञ्चालन गरिने कुरा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.