|

भोजपुर : पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ। शिक्षा क्षेत्रको विकासमा योगदान गरेर दक्ष नागरिक उत्पादन गर्न गाउँपालिकाले यस्तो नीति अघि सारेको हो। त्यसरी पढ्ने विद्यार्थीले शिक्षा पूरा गरिसकेपछि गाउँपालिकामा सेवा गर्ने प्रतिबद्धता जनाउनु पर्नेछ।

‘खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमावासीलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मूल नारासहित शुक्रबार सम्पन्न भएको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनले यस्तो नीति सार्वजनिक गरेको हो। विद्यार्थीलाई उत्प्रेरित गर्ने लक्ष्यले यस्तो व्यवस्था लागू गर्न लागेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

अध्यक्ष राईले भने, ‘गाउँपालिकाले विद्यार्थीहरूमा पढाइप्रति लगाव बढाउन अध्ययन खर्चको व्यवस्थापन गर्ने नीति लिएको छ। एसइईमा उच्च अंक ल्याएर राम्रो विषय पढ्न चाहने विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएका छौँ। तर त्यस्ता विद्यार्थीले केही समय गाउँपालिकाका विद्यालय तथा अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नु पर्नेछ। यसको कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउँछौँ।’

गाउँसभामार्फत खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। 

गाउँसभाले तयार गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी आव ०७९/८० को लागि जम्मा ४१ करोड २ लाख ७६ हजार १० रूपैयाँ  बराबरको अनुमानित बजेट तयार गरेको हो।

चालूतर्फ शिक्षा, स्वास्थ्य‚ कृषिसमेतको २५ करोड ५८ लाख ७६ हजार र पुँजीगततर्फ १५ करोड ४४ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रमको सार्वजनिक गर्दै उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन्। जसमा पुँजीगततर्फ ३७ दशमलव ६४ र चालूतर्फ ६२ दशमलव ३६ प्रतिशत बजेट विनियोजन भएको छ।

बजेटमा खानेपानी पहिलो र सडक विस्तारलाई दोस्रो प्राथमिकतामा राखिएको छ। अध्यक्ष राईले जनताको भावना र चाहना समेट्ने गरी बजेट निर्माण गरिएको बताए।

नीतिमा प्रत्येक घरमा मिटरसहितको एक घर एक धारा जडान गर्ने, तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या सडकलाई अबको २ वर्षभित्र कालोपत्रे गर्ने गरी काम गर्ने, आधारभूत तहमा पौवादुङमाको गौरव, संस्कृति, सभ्यता, मूल्य मान्यता र एकता संवर्द्धन‚ स्वास्थ्य तथा नैतिक जीवनशैली जस्ता विषय समावेश गरी स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने नीति लिएको छ।

एक गाउँ एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिने, सामूहिक खेति गर्ने र बाँझो रहेका जमिनमा ठूला कृषि फर्म सञ्चालन गरी राम्रो गर्ने फर्म वा कृषकलाई प्रोत्साहन गर्ने, जमिनको उत्पादकत्व र भूमिको प्रकारको आधारमा विभिन्न वडामा कृषि पकेट क्षेत्रका कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम समेटिएको छ।

गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरी विकास गर्ने अध्यक्ष राईले जानकारी दिए। राईले भने, ‘समृद्ध पौवादुङमा गाउँपालिका निर्माण गर्ने महान लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार गरेका छौँ। सबै क्षेत्रको समान विकास लागि बजेटबाट समेट्ने प्रयत्न गरेका छौँ। यसले गाउँपालिकाको विकासमा टेवा पुग्ने मैले अपेक्षा लिएको छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.